पोखरा- पोखरामा आजदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरू भएको छ। बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराहीघाट मैदानमा फागुन १८ सम्म चल्नेछ।
‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गरेका छन्।
संवाद सत्र सुरू हुनुअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचन रहेको थियो।
लामा इन्दिरा गान्धी ओपेन यूनिभर्सिटीका प्राध्यापक, उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन्। उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए। उद्घाटन समारोहमा अनिल शाही र समूहको विशेष सांगीतिक प्रस्तुति पनि हुनेछ।
उद्घाटन समारोहपछि भूपी कक्षमा अध्यात्म र संघर्षमाथि ‘अलि अलि हार हो, अलि अलि जित जित !’ सत्रमा अभिनेत्री मनिषा कोइराला र लेखक एवम् पत्रकार विजय कुमारको संवाद भयो।
त्यसपछि दिउँसो २ बजेदेखि ३ बजेसम्म ‘स्मृतिमा भूमि’ सत्रमा कान्ति शेरचन र कविता शेरचनसँग वसन्त थापाले संवाद गरेका थिए। अलिमियाँ कक्षमा दिउँसो २ बजेदेखि ३ बजेसम्म सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङसँग विजय तिमल्सिनाले सञ्चार क्षेत्रमाथि केन्द्रित संवाद भएको थियो।


