२०८३ कार्तिक १२ गते बुधबार

सबैका प्रिय थिए पीएल

 |  अनूपराज शर्मा
Sanket

अनूपराज शर्मा

काठमाडौँ, फाल्गुण १७
pl singh (1)
पीएल सिंह। २०८१ पुस १ गते उनको निधन भएको हो।

प्रेमलाल सिंह अर्थात् पीएल सिंह काङ्ग्रेसीहरूमा ‘पीएल दाइ’का नामले प्रसिद्ध थिए। जनसम्पर्क व्यापक भएको पीएल, म र युवराज घिमिरे काठमाडौँका गल्ली, कुनाकाप्चा खुब घुम्यौँ। पीएलमा एक किसिमको आकर्षण थियो। महिलाहरू उसको वरिपरि खुबै झुम्मिन्थे। सबैलाई समभावले व्यवहार गर्दथ्यो ऊ। खानाको अत्यन्तै सौखिन। काठमाडौँँ नगरपालिकाको मेयर भयो। यो मेयर भन्ने शब्द चलाएको पनि पीएलले हो। नारा दिनमा उस्ताद थियो। ‘हराभरा काठमाडौँँ’ उसैको नारा हो।

वामपन्थीहरूको दरिलो प्रभाव र पकड भएको काठमाडौँँबाट पीएलले अत्यधिक मत ल्याएर मेयरमा जिते। पालिकामा निकै प्रसिद्ध भए। पीएल नहुँदो हो त न चाक्सी बारी रहन्थ्यो, न त धनुषातिरका जग्गा नै रहन्थे। गणेशमान तथा मंगला भाउजूको वारेस भई पीएलले धेरै तारेख धाए। उनको पेसीका दिन बहस गर्न म जान्थेँ। मेरो हैसियत वकिल। कतिपय अवस्थामा मैले नै अदालत (कोर्ट)सँग सम्बन्धित शुल्कहरू तिरिदिएँ। तर मैले कुनै शुल्क (फी) लिइनँ।

त्यतिखेर काठमाडौँ नगरपालिका बडो गुल्जार थियो। प्रधानमन्त्रीदेखि विदेशी राजदूतसमेत प्रेमलाललाई भेट्न नगरपालिका नै आइरहन्थे। त्यतिखेर प्रेमलालको धेरै वर्चश्व थियो काठमाडौँको जनतामा। तत्कालीन नगरपालिकाको ऐनमा एउटा शक्तिशाली सल्लाहकार समिति गठन गर्ने व्यवस्था थियो। त्यसअनुसार शंकरनाथ रिमाल, डा. मृगेन्द्रराज पाण्डेजस्ता हस्ती त्यस समितिमा थिए। साथै अरू व्यक्ति पनि त्यसमा थिए। त्यस्तै म पनि त्यस समितिमा थिएँ।

नगरपालिकामा सुरुमा जुन उत्साहसाथ काम गरिन्थ्यो, पछि त्यो उत्साह सबै मरेर गयो। पछि पछि त बैठकमा कोही पनि नआउने केवल म र पीएलमात्र हुने नौवत आयो। पीएल राजनीतिमा २०१५ भन्दा अघिदेखि नै सक्रिय थिए। त्यस हिसाबले राजनीतिमा उनी देउवाभन्दा जेठा हुन्।

पीएललाई पैसाको साह्रै खाँचो पर्दथ्यो। वि.सं. २०३६ सालतिर विद्यार्थी आन्दोलनबाट सुरु भएको जुलुसले उग्र रूप लियो। राजा वीरेन्द्रले एक दिन एकाबिहानै घोषणा गरे कि- नेपालमा जनमत सङ्ग्रह हुनेछ। त्यसमा सुधारिएको पञ्चायत कि बहुदलीय व्यवस्था भन्ने थियो। यी दुईमध्ये एउटालाई चुन्नुपर्ने थियो। पछि जनमत सङ्ग्रहको लागि मतदानको मिति तय भयो र जनमत सङ्ग्रह सम्पन्न नभएसम्म राजनीतिक दलको प्रतिबन्ध फुकुवा भयो। निर्वाचन प्रयोजनका लागि एउटा शक्तिशाली निर्वाचन आयोग गठन भयो। त्यसको सदस्यसचिव कृष्णप्रसाद घिमिरे हुनुभयो। यसको कार्यालय शंकरदेव क्याम्पसनिर पुतलीसडकको एउटा ठूलो घरमा राखियो।

नेपाली काङ्ग्रेसले आफ्नो कार्यालय असन कमलाक्षीमा राखेको थियो। प्रेमलाललगायत हामीहरू बहुदलको पक्षमा जुलुसहरू निकालिरहन्थ्यौँ। नयाँ पुस्ताको जुलुस हो भन्थे मानिसहरू। हामीहरूको नारा हुन्थ्यो- हामी प्रजातन्त्र चाहन्छौँ (We want Democracy)। खुलामञ्च सधैँ बहुदलीय पक्षकै कब्जामा रहन्थ्यो।

सुरु–सुरुमा पञ्चहरू सब डराएका थिए। पञ्चहरूका जुलुस डराइडराई सहरतिर पस्दथे। पञ्चहरूले कुनै राजनीतिक छलफल र बहस नगरी बहुदलीय नेताहरूको चरित्रमाथि आक्षेप लगाउँदै सहरहरूका भित्तामा ‘भाञ्जीको पोइ हो’ भन्ने जस्ता फोहोरी र निकृष्ट शब्दहरू लेखी पञ्चायतको प्रचार गर्दथे। यसैबाट थाहा हुन्छ कि- पञ्चेहरू कुन धरातलमा थिए, कुन स्तरका हुन् भन्ने कुरा ! धेरै भनिरहनु नै पर्दैन।

काठमाडौँ पूरा बहुदलीय पथमा देखिन्थ्यो। जनमत सङ्ग्रहको लागि मत हाल्दा सुधारिएको पञ्चायतलाई पहेँलो र बहुदलीय व्यवस्था रोज्नेलाई नीलो मतपत्र छुट्याइएको थियो। ठगी, तस्करी इत्यादि गर्ने पञ्चलाई पूरा छुट दिई महापञ्च सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाइयो। २०१७ साल पुस १ गतेको शाही घोषणाका रचयिता सूर्यबहादुर थापाले पछि सम्पन्न जनमत सङ्ग्रहमा धाँधलीका कीर्तिमानहरू कायम गरेका थिए।

सूर्यबहादुर थापा कलिलो उमेरमै राष्ट्रिय पञ्चायतका सदस्य नियुक्त भएका थिए र निर्दलीय व्यवस्थामा सहायक मन्त्री भई उनी राजा महेन्द्रको कुटिल चालले प्रधानमन्त्री भएका थिए। पछि राजा वीरेन्द्रका पालामा पञ्चायत व्यवस्था अलि खुकुलो भयो। थापाले जसरी हुन्छ पञ्चायतलाई जिताउने उनको कोसिस गरेका थिए। नभन्दै पञ्चायतले जित्यो पनि।

सूर्यबहादुर थापाले नेपालबाट सर्पको छाला निकासी गर्ने इजाजत लिए। नेपालमा उत्पादन हुने दालको परिमाणभन्दा बढी दाल विदेश निकासी भएको देखिन्छ।

काङ्ग्रेस र हामीजस्ता नेपालमा लोकतन्त्र अर्थात् बहुदल चाहिन्छ भन्ने जमातलाई पूरा विश्वास थियो कि बहुदल फर्किन्छ। तर म भन्ने गर्दथेँ— सूर्यबहादुरजस्ताको हातमा यो शासनको बागडोर दिएपछि कुनै न कुनै दिन अवश्य धोका हुन्छ। नभन्दै बहुदल हारेको थिएन तर हारेको घोषणा भयो। बहुदल समर्थकहरू सबै यसबाट आश्चर्यचकित भए।

बीपी (कोइराला)ले बहुदल हारेको परिणाम स्वीकार गर्नुभयो। काङ्ग्रेसीहरूमा यसको सुषुप्त विरोध रह्यो। हामीजस्ता जनता र लोकतन्त्रवादीले त यो परिणामलाई पचाउनै सकेनौँ। निकै गाह्रो भयो। जे होस्, त्यसपछि भएका राष्ट्रिय पञ्चायतका निर्वाचनमा केही सुधार आयो। सूर्यबहादुर थापामाथि १६ जना पञ्चले नै ‘अविश्वास छ’ भनी राष्ट्रिय पञ्चायतमा प्रस्ताव पेस गरे। राजदरबारको नियत नै खोटो थियो। चारित्रिक स्खलन भएका राजा र यस्तो षडयन्त्रपूर्ण अवस्थाबाट देशको शासन–व्यवस्था निर्दलीय ढङ्गले नचल्ने हामीहरूको ठम्याइ थियो। पीएल सिंह यस कुरामा सधैँ अडिग देखिन्थे।

२०८१ पुसमा उनको देहावसान भयो। पीएल अर्थात् मेरो साथीलाई अब कहाँ खोज्ने? उनलाई हार्दिक श्रद्धाञ्जलि दिनुबाहेक के नै रह्यो र?

(पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष अनूपराज शर्माको संस्मरणात्मक कृति को अनूप ? को एक अंश। पैरवी बुक हाउसबाट प्रकाशन भएको यो कृर्तिको शनिबार (आज) विमोचन हुँदैछ।)

प्रकाशित: २०८१ फाल्गुण १७ गते शनिवार ११:२१
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना