काठमाडौँ- होलीदेखि प्रदर्शनमा आउन लागेको सिनेमा एञ्जिलाको प्रमियर प्रदर्शन गरिएको छ। मंगलबार ललितपुरको लाबिम मलमा भव्य प्रिमियर भएको छ।
प्रिमियरमा महिला फुटबल नेसनल टिमबाट प्रीति राई, सविता राना मगर, गीता राना, अनिता बस्नेत, निशा ठोकर, हीरा भुजेल, सरु लिम्बू, कुसुम खतिवडा, अनु लामा लगायतको उपस्थिति थियो।
सिने क्षेत्रबाट पनि विभिन्न व्यक्तित्व हरूको उपस्थिति थियो भने विशेष अतिथिमा एपिएफ चिफ राजु अर्यालको उपस्थिति रहेको थियो।
प्रिमियरअघि उपस्थित महिला फुटबल नेसनल टिमका खेलाडी हरूलाई खँदा लगाएर सम्मान गरिएको थियो।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्रको हङकङ, कोरिया ,बेलायत र धरानमा सफलतापूर्वक प्रिमियर भैसकेको छ। प्रिमियममा निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, दयाहाङ राई, सहनिर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्सको उपस्थिति थियो।
चलचित्रकी मुख्य अभिनेत्री एञ्जिला र अन्य प्रमुख कलाकारहरू भने कार्य व्यस्तताका कारण समारोहमा उपस्थित भएनन्।
चलचित्रमा एञ्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङको प्रमुख अभिनय छ। चाम्सको यो तेस्रो बायोपिक हो। उनले यसअघि बायोपिकहरू ‘ब्लाइन्ड रक्स’ र ‘बोबी’ निर्देशन गरेका थिए।
चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको थियो। चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका हुन्। सम्पादन मिलन श्रेष्ठले गरेका छन्। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन्।















तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


