काठमाडौँ- बुधबारदेखि काठमाडौँमा जारी तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (नेटफिस्ट)को समानान्तर महोत्सव आजदेखि पोखरामा सुरु हुँदैछ। निटफेस्टको पहलमा पोखराको गन्धर्व थिएटर गैह्रापाटनमा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय नाट्य महोत्सव १३ गतेसम्म चल्नेछ।
महोत्सव आज १ बजेबाट पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतीथ्यमा औचारिक रुपमा सुरु हुनेछ। पोखरा थिएटर आयोजक रहेको महोत्सवमा ५ देशका ६ नाटक मञ्चन हुँदैछन्।
नेपाललगायत चीन, जापान, ट्युनिसिया र नर्वे नेपालको संयुक्त प्रस्तुतिमा तयार नाटकहरु देखाइने महोत्सवमा सांस्कृतिक झाँकी, सांस्कृतिक परेड, कार्यशाला र अन्तक्रियात्मक गतिविधिसमेत समेटिने पोखरा अन्तर्राष्ट्रिय नाट्य महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए। निटफेस्ट र पोखरा थिएटरबीच पहिलो संस्करणदेखि नै सहकार्य सुरु भएको हो।
महोत्सवमा निटफेस्ट काठमाडौंमा प्रदर्शन हुने केही विदेशी नाटकहरु पोखरा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि मञ्चन हुनेछन्। निर्देशक परिवर्तनले भने, यो महोत्सव निटफेस्टकै प्रस्ताव आएपछि पोखरामा महोत्सव आयोजना गर्ने पहल गरेका हौं। काठमाडौंबाट निटफेस्ट आयोजकले विदेशी नाटकहरु पोखरा ल्याउने संयोजन गरिदिनुभएको छ। त्यसमा हामीले आफ्नै पहलमा यताका केही नेपाली नाटकहरु थपेका छौं।
शनिबारदेखि पोखरामा सुरु हुने समानान्तर नाट्य महोत्सवबारे निटफेस्ट महोत्सव संयोजक केदार श्रेष्ठले भने, निटफेस्टले काठमाडौंबाहिरका रंगकर्मीहरुसँग सहकार्य गरी समानान्तर महोत्सव गर्ने अभ्यास निटफेस्टको पहिलो संस्करणदेखि नै सुरु गरेको थियो। त्यसलाई दोस्रो संस्करणमा निरन्तरता दिन नसकिए पनि तेस्रो संस्करणमा फेरि काठमाडौंबाहिर समानान्तर रुपमा महोत्सवलाई अघि बढाएका हौं।
यस पटक निटफेस्टले पोखरासँगै चितवन र बेलबारीका स्थानीय आयोजहरुसँग सहकार्य गरी तीन सहरमा समानान्तर निटफेस्ट गर्न लागेको उनले बताए।
काठमाडौंमा जारी निटफेस्टको आज चौथो दिन हो। मण्डला थिएटरमा जारी महोत्सवमा आज दिउँसो १२ बजे इरानको एन्टिगोनी, १ बजे लुथियाना र स्पेनको अराइभ्ड र चीनको चार्मिङ जिन्जु अपेरा मञ्चन हुँदैछ।
नाटक मञ्चनबाहेक, दिउँसो ३ः३० बजे ‘नेपाली मिडियाको आँगनमा रंगमञ्च’ शीर्षकमा छलफल पनि हुनेछ। कान्तिपुर अनलाइनका सम्पादक जनकराज सापकोटा र हिमालखबरका सम्पादक सन्त गाहामगर वक्ता रहेको अन्तक्रिया कान्तिपुर टेलिभिजनकी पत्रकार पुष्पा केसीले सञ्चालन गर्नेछिन्।
महोत्सवको हरेक दिनको समापन सन्ध्याकालीन संगीत, नृत्य वा कविताबाट हुँदै आएको छ। आजको साँझको समापन ‘सुकर्म’को सांगीतिक प्रस्तुतिबाट हुनेछ।
मण्डला थिएटरको आयोजनामा बुधबारदेखि राजधानीमा जारी भएको निटफेस्ट चैत १२ सम्म चल्नेछ।


