भक्तपुर- भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा शुरु भएको छ। स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ।
भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु भएको हो। यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ।
नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का जात्रा ८ रात ९ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ।
जात्राको पहिलो दिन दिउँसो भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्का जात्रा सुरु भएको छ। विक्रम संवत्अनुसार सौर्यमासको आधारमा चल्ने बिस्का लिच्छविकालदेखि मनाउन थालिएको विश्वास गरिन्छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


