काठमाडौँ- २०८१ अब केही दिनमा नै समापन हुँदै छ। यो वर्ष देशमा धेरै कुरा भए। फिल्म उद्योगमा पनि अनेक भए। विशेष गरेर इतिहासमा नभएका तथ्य र तथ्यांक देखियो। अर्थात् यो वर्ष नेपालको फिल्म उद्योगका लागि निकै महत्त्वपूर्ण सावित भयो। नेपाली फिल्मका दर्शक, नेपाली फिल्मले नेपालमै कतिसम्म व्यापार गर्न सक्छ भन्ने रेकर्ड पनि यसै वर्षले कायम गर्यो। यो आँकडाले नेपाली फिल्ममा कतिसम्म लगानी गर्न सम्भव छ, दर्शकले खास कस्ता खालका फिल्मलाई स्वीकार्छन् भन्ने नयाँ रहस्य पनि पदार्पण गरेको छ।
सरसर्ती नेपालमा भएको फिल्मको आम्दानी हेर्दा यो वर्ष नेपालमा हिन्दी र नेपाली फिल्म हेर्न नेपाली हलमा २ अर्ब खर्चिए। वर्षभरमा नेपालभित्र स्वदेशी र विदेशी फिल्म हर्न जानेले यो रकम खर्चिएका हुन्। सम्भवतः नेपालको फिल्म इतिहासमा यति ठूलो आर्थिक चलायमान भएको वर्ष यो नै हो।
वैशाखदेखि चैत तेस्रो सातासम्म डेढ अर्बभन्दा बढीको व्यापार नेपाली फिल्मले मात्रै गरेका छन्। चैत २९ गते लाग्न थालेका २ ठूला चलचित्रको हिसाब आउन बाँकी रहेकै अवस्थामा यो तथ्यांक आएको हो।
अहिलेसम्मको हिसाबकिताब हेर्दा सबैभन्दा धेरै ‘पूर्णबहादुरको सारङ्गी’ले व्यापार गरेको छ। यो फिल्मले नेपालमा ४६ करोड ८० लाख ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ। तर, निर्माता र विभिन्न मिडियामा चलेका खबरअनुसार यो तथ्यांक अझ बढ्न सक्छ। तर, एउटा कुरा के पनि हो भने विदेशमा बेचिएका प्रदर्शन राइट्सलाई आधार मान्दा यो चलचित्रले ५० करोड हाराहारी कमाएको अनुमान छ।
‘पूर्णबहादुरको सारङ्गी’ले कमाइमा कीर्तिमान बनाउँदा यस वर्ष दोस्रो धेरै कमाउने नेपाली फिल्म विराज भट्ट निर्देशित ‘१२ गाउँ’ बन्यो। यसको कमाइ झन्डै २० करोड हाराहारी छ। सदाबहार हिट चलचित्र छक्कापन्जा सिरिज छक्कापन्जा-५ सँग जुधेको यो फिल्मप्रति दर्शकले सहानुभूति मात्रै देखाएनन्, नयाँ स्टार समीर भट्टलाई १२ गाउँ मार्फत नेपाली फिल्ममा भव्य स्वागत पनि गरे। त्यस्तै दिपक राज गिरीको चलचित्र छक्कापन्जा-५ ले १५ करोड २० लाख ग्रस गरेको छ। विगतमा दिपकराज गिरीका चलचित्रले अन्य चलचित्रका व्यापारलाई सधैँ पछि पारेको देखिन्थ्यो। तर, यो वर्ष दिपकराज गिरी तेस्रो नम्बरमा परे।
यो वर्ष अर्को अचम्म पनि भयो। खासै आशा नराखिएको, त्यस्तो चर्चा र प्रर्चा नबाँडिएको चलचित्र बोक्सीको घरले राम्रो व्यापार गर्यो। यो चलचित्रले १० करोड हाराहारीको व्यापार गरेको तथ्यांक छ। त्यस्तै मिलन चाम्स निर्देशित चलचित्र अञ्जिलाले पनि राम्रो व्यापार गरेको बुझिएको छ। अहिलेसम्मको हिसाब हेर्दा ५ करोड हाराहारी व्यापार गरेको निर्माण टिमको धारणा छ। तर, पूर्ण हिसाबकिताब आउन केही समय लाग्ने निर्माण टिमले जानकारी दियो।
गत जेठमा प्रदर्शन भएको पूजार सार्की पनि हिट चलचित्रमा पर्छ। प्रदीप खड्का, आर्यन सिग्देल, पल शाहलगायतका स्टारको अभिनय रहेको चलचित्रले ७ करोड ३७ लाख ग्रस कलेकसन गरेको तथ्यांक सार्वजनिक भएको छ। जे पर्ला पर्ला भनेर १२गाउँ, छक्कापन्जा-५ सँग जुधाइएको चलचित्र घर ज्वाइँले समेत ५ करोडमाथि कमायो। जितु नेपालको मुख्य अभिनय रहेको यो फिल्मले औषतको समीक्षा पाएको थियो। तथापि फिल्म हेर्ने माहोल यसरी बन्यो कि त्यो बेलामा कुनै पनि चलचित्र लागेको खण्डमा त्यसले पनि २ करोडको व्यापार त गर्दथ्यो।
चलचित्र मनसरा, लाज शरणम्, ह्रस्व दीर्घ, गाउँ आएको बाटो, होस्टेल-३, फर्की फर्कीलगायतका चलचित्रले पनि ४–४ करोडको व्यापार गरेका छन्। निश्चल बस्नेतले निर्माण गरेको ‘बेहुली फ्रम मेघौली’ र अशोक थापामगरले निर्देशन गरेको ‘खुस्मा’ले समेत ३ करोड हाराहारी आम्दानी गरेका छन्।
नेपालमा साउथको जगजगी कायमै
यस वर्ष पनि भारतीय सिनेमाको जगजगी नेपालमा कायमै रह्यो। नेपालबाट सबैभन्दा धेरै कमाउने चलचित्रमा पुष्पा-२ निकै अगाडि छ। यस चलचित्रले नेपालबाट मात्रै २६ करोड ४४ लाख ग्रस व्यापार गरेको बोर्डको तथ्यांकमा छ। यो हेर्दा पूर्णबहादुरको सारंगीपछि सबैभन्दा धेरै यही चलचित्रले कमाएको छ। अझ अर्को कुरा त के छ भने, नेपालमा आजको मितिसम्म विदेशी फिल्मले कमाएको सबैभन्दा धेरै आम्दानीको रेकर्ड समेत हा।
साउथकै कल्कीले पनि नेपालमा निकै राम्रो कमाइ गरेको छ। हिन्दी सिनेमा कल्कीको व्यापारिक आँकडा हेर्दा १२ करोड ५७ लाख आम्दानी गरेको छ। त्यस्तै स्त्री-२ ले ८ करोड ११ लाख ग्रस गरेको छ। सिंघम अगेन र भूलभूलैयाँ-३ ले चार करोडमाथि कमाइ गरेका छन्।


