काठमाडौँ- पछिल्लो पुस्ताका लोकप्रिय हास्य कलाकार उमेश राई अर्थात् फुलन्देकी आमा अब ठूलो पर्दामा फड्को मार्दैछन्।
साना पर्दामा दर्शकको मन जितिसकेका उनी अब आफ्नो पहिलो चलचित्र ‘हेल्लो काँशीराम’मार्फत आगामी जेठ २ गते देशभरका हलहरूमा देखिँदैछन्।
चलचित्रको छायांकन अनुभव बाँड्दै उमेशले काम गर्दा रमाइलो अनुभव रहेको बताए। ‘सुटिङ कहिले सकियो पत्तो भएन। तर, डेब्यु चलचित्र भएकाले छायांकनका क्षण मेरा लागि सधैभर महत्त्वपूर्ण र यादगार हुनेछन्,’ उनी भन्छन्।
उनले यस चलचित्रमा आफूलाई दर्शकले भिन्न अवतारमा, भिन्न कथामा देख्न सक्ने बताए। उमेशले अभिनेता दिलीप रायमाझीसँगको सहकार्यलाई अविस्मरणीय अनुभवको रुपमा सधै सम्झिने प्रतिक्रिया दिए।
‘दिलिप दाइ सोचेभन्दा रमाइलो हुनुहुँदो रहेछ। सफल कलाकार हुन सजिलो रहेनछ भन्ने कुरा उहाँलाई नियाल्दा महसुस भयो,’ उनले भने, ‘ठूलो पर्दामा पहिलो पाइला चाल्दा लागेको रोमाञ्च अनुभव, आफ्नो जिम्मेवारी, डर सानो पर्दाको भन्दा निकै माथिको हुनेरहेछ। नाम नै ठूलो पर्दाको भनेपछि अलिकति डर पनि लाग्दोरहेछ, तर म एक्साइटेड छु,’ उनले थपे।
साना पर्दाको तुलनामा धेरै मिहिनेत, गहिरो अभिनय र ठूलो जिम्मेवारीका साथ काम गर्नुपर्ने कुरा यस फिल्मबाट सिकेको उनको अनुभव छ। राईले छिट्टै अर्को चलचित्रमा काम गर्न लागेको बताएका छन्। तर, कुन फिल्म भन्ने कुरा खुलाएनन्। यद्यपि उक्त चलचित्रमा विशेष रोलका लागि साइन गरिसकेको उनले बताए।
प्रदर्शन हुन लागेको चलचित्र ‘हेल्लो काँशीराम’का निर्देशक रिम विश्वकर्माबारे उमेशले भने, ‘देख्दा सामान्य लाग्ने। तर क्षमतावान् निर्देशक।’
चलचित्रको सेटमा बिताएको समय र सिकाइले आफूलाई अझ बलियो बनाएको बताउने उमेशले दर्शकलाई आश्वस्त पार्दै भने, ‘पेट मिचेर हाँस्ने के हो भन्ने कुरा हेल्लो काँशीराम हेरेपछि थाहा हुन्छ। म यो चलचित्रमा पूर्ण कमेडी भूमिकामा छु, व्यंग्यात्मक शैलीमा प्रस्तुत हुँदैछु।’
केही हप्ताअघि केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरी रिलिजका लागि तयारी अवस्थामा छ ‘हेल्लो काँशीराम’। चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकको उत्साह बढेको प्रतिक्रिया राईले दिए।
रेडलाइन फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा हास्यव्यंग्यको मिश्रण प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ।
रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् भने पीबी थापाले लगानी गरेका हुन्। यम आलेले खिचेको चलचित्रको लगानी डेढ करोड हाराहारी पुगेको निर्माण टिमले जनाएको छ। चलचत्रिलाई मित्र डी गुरुङले सम्पादन तथा रंग संयोजन गरेका हुन्।
यस चलचित्रमा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल देखिने छन्। त्यस्तै, हालका चर्चित हास्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरीलगायतका कलाकारहरू पनि फिल्ममा देख्न पाइनेछ। प्रियंका कार्कीको समेत विशेष भूमिका रहेको निर्माण टिमले जनाएको छ।
चलचित्रको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन्। द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने संगीत संयोजन नरेन्द्र वियोगी र विपीन आचार्यले गरेका छन्।
चलचित्रका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ।
