रौतहट – देवाही गोनाही नगरपालिका–१ करुनियामा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या भएको छ।
पछाडिबाट गोली हानेपछि ७० वर्षीय शेख तैयबको हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको हो।
बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयब कसरी बाहिर गएको वा कसले उनलाई गोली हानेर हत्या गरेको भन्नेबारे यकिन हुन सकेको छैन। तैयबको शव घरबाट करिब एक किलोमिटर टाढा भेटिएको प्रहरीले जनाएको छ।
उनको शव प्रादेशिक अस्पताल गौरमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको तथा यस घटनाबारे अनुसन्धान सुरु गरिएको र परीक्षणको रिर्पोट आएपछि यसबारे थप जानकारी प्राप्त हुने प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए।



