नयाँदिल्ली- भारतको जम्मु काश्मीरमा एक जना नेपालीसहित २६ जनाको ज्यान लिने गरी गरिएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई भारत छाड्न निर्देशन दिएको छ। ४८ घण्टाभित्र आफ्नो देशमा रहेका सबै पाकिस्तानी नागरिकलाई स्वदेश फर्कन भारतले निर्देशन दिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) बैठक बैठकले पहलगाम हमलापछि गरेका ५ निर्णयमा यो पनि एक हो।
भारत सरकारले यो आक्रमणलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै सिन्धु जल सम्झौतालाई रद्द गर्ने निर्णय पनि गरेको छ भने अटारी-वाघा सीमामा आवतजावत बन्द गरिएको छ। पाकिस्तानी उच्चायुक्तलाई दिल्लीबाट फिर्ता पठाउने निर्णय पनि भारतले लिइसकेको छ। भारतले पाकिस्तानबाट आफ्नो दूतावासका कर्मचारीलाई पनि फिर्ता बोलाउने निर्णय लिएको छ।
बैठकका निर्णयबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विक्रम मिस्रीले भने, ‘हमलमा सीमापार आतंककारी गतिविधिको सम्बन्ध पाइएको छ। यसको इशारा पाकिस्तानले गर्दै आएको देखिएको छ।’
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आक्रमणसँग आफ्नो देशको कुनै पनि सम्बन्ध नभएको दाबी गरेका छन्। पाकिस्तानले आतंकवादको निन्दा गर्ने उल्लेख गर्दै उनले काश्मीरलाई पाकिस्तानको ‘जीवन रेखा’ भनेर वर्णन गरेका छन्। यसले भारतीय शंकालाई गहिरो बनाएको छ। भारतीय गुप्तचर एजेन्सीहरूले यो बयानलाई आतंककारीहरूको बाहनाको रूपमा लिएका छन्।
यसैबीच जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको भिडियो सार्वजनिक सामाजिक सञ्जालमा भाइरल भएको छ। यसले भारतमा आक्रोश फैलिएको छ। भिडियोमा केही आतंककारीहरू पहलगामको एक पर्यटकीय स्थलमा पुगेर पर्यटकहरूमाथि आक्रमण गरेको देख्न सकिन्छ। पर्यटकहरूले चिच्याहट भिडियोमा सुन्न सकिन्छ।
हालैका वर्षहरूमा पहलगामको पर्यटनमा उल्लेख्य वृद्धि भएको थियो। यसले त्यहाँको जनजीवनलाई सामान्ततर्फ लगिरहेकव थियो। जम्मू कश्मीरका लेफ्टिनेन्ट जनरल मनोज सिन्हाले भनेका थिए, ‘बढ्दो पर्यटन उपत्यकाको सामान्य अवस्थाको प्रमुख सूचक हो।’
पहलगाम घटनालाई भारतीय संविधानको धारा ३७० हटाइएपछि काश्मीरी प्रतिक्रियाका रूपमा पनि लिने गरिएको छ। केन्द्र सरकारले धारा ३७० हटाइएपछि जम्मु काश्मिरको अवस्था ‘सामान्य’ भएको दाबी गरिँदै आएको थियो। धारा ३७० मा जम्मु काश्मिरलाई स्वायत्तता दिने व्यवस्था भारतीय संविधानमा छ। पहलगाम घटनापछि पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुने भएको छ।
मुख्यमन्त्री उमर अब्दुल्लाहले गत महिना विधानसभामा सन् २०२४ मा राज्यमा लगभग २३ लाख पर्यटक आएको बताएका थिए। यसैबीच, राज्यको पर्यटन विभागका अनुसार, धारा ३७० हटाइनुभन्दा अघिल्लो वर्ष २०१८ मा लगभग १ करोड ६० लाख पर्यटक राज्यमा आएका थिए। जसमध्ये ८ लाख ३० हजार पर्यटक कश्मीर गएका थिए।
इन्डियन एक्सप्रेसका अनुसार सन् २०१९ मा ५ लाख ६५ हजारमा झरेको थियो। सन् २०२० मा केवल ४१ हजार मात्र पर्यटक पुगे। उक्त वर्ष लकडाउनको भएको थियो। २०२३ मा, यो संख्या तीव्र गतिमा बढेर २ करोडभन्दा बढी भएको थियो। जसमध्ये २७ लाखले पहलगाम उपत्यका घुमेका थिए।
पाकिस्तानका लागि सिन्धु जल सन्धि खारेज गर्ने निर्णय सबैभन्दा ठूलो हो। पाकिस्तानी विदेशमन्त्री तथा उपप्रधानमन्त्री इसहाक डारले पाकिस्तानी मिडियासँगको कुराकानीमा भारतले यसरी एकतर्फी निर्णय लिन नसक्ने बताएका छन्।
‘यस समयमा हामीले सोचेका थियौं कि भारतले यो गर्नेछ। म टर्कीमा छु। सिन्धु जल सन्धिबाहेक भारतले गरेका अन्य चार निर्णयहरूको जवाफ सजिलै दिइनेछ,’ इसहाक दरले पाकिस्तानी समाचार च्यानल सामा टिभीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘यो विषयमा भारतले एकतर्फी निर्णय लिन सक्दैन। यस्तो हुँदै गए दुनियाँभर मनोमानी सुरु हुन्छ। जसका छोरा उसको वन, जसका भैँसी उसको धन’ वाला मामला चल्न सक्दैन। भारतसँग यो विषयमा कुनै कानुनी जवाफ छैन। पाकिस्तानी कानुन मन्त्रालयले यो विषयमा जवाफ दिनेछ।’
विश्व बैंकको मध्यस्थतामा भारत र पाकिस्तानबीच सन् १९६० सेप्टेम्बर १९ मा सिन्धु जल सम्झौता भएको थियो। सिन्धु नदी प्रणालीका इन्द्रावती, झेलम र चिनाब नदीहरुको पानी बाँडफाँट सम्बन्धी यो ऐतिहासिक सम्झौता हो। जवाहरलाल नेहरुको पालामा भएको यो सम्झौता दुई देशका जलस्रोत व्यवस्थापनलाई लिएर विश्वकै सफल द्विपक्षीय सम्झौतामध्ये एक मानिन्छ।
यो सम्झौता अनुसार पाकिस्तानले ८० प्रतिशत पानी प्रयोग गर्दछ। यो सम्झौता रद्द हुँदा भारतले पानी आपूर्ति रोक्ने, बाँध बाँध्ने वा अन्त कतै मोड्न सक्छ, जसले पाकिस्तानको कृषि, पिउने पानी र उद्योग कलकारखानामा असर पुग्न सक्छ।
भारतको यो निर्णयलाई पाकिस्तानले आपत्ति जनाएको छ। दुई देशबीचको शक्ति सन्तुलन, जल नीति र सुरक्षा नीतिमा गहिरो असर पार्न सक्ने सम्भावना छ।
भारतीय गुप्तचरी निकायका अनुसार आक्रमणमा लस्कर ए तोयबाको प्रोक्सी विङ्ग द रजिस्टेन्स फ्रन्ट (टीआरएफ)को हात छ। पहलगाम आक्रमणमा संलग्न आतंकवादी भनेर भारतले तीन जनाको स्केच जारी गरेको छ। उनीहरुको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भनिएको छ।
घटनाको अनुसन्धानका लागि भारत सरकारको राष्ट्रिय अनुसन्धान एजेन्सीको टोली पहलगाम पुगेको छ। सोधपुछका लागि दर्जनौं व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ। सो घटनाका कारण जम्मुकश्मीर बन्द पनि छ। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको भर्त्सना गर्दै आतंकवादीहरुलाई नछाड्ने चेतावनी दिएका छन्।
-समाचार एजेन्सीहरूको सहयोगमा


