कास्की- घान्द्रुक कास्की जिल्लाको सुन्दर पर्यटकीय गाउँ हो।
नेपालको पर्यटन राजधानीको रूपमा रहेको पोखराबाट छोटो समयमै पुग्न सकिने घान्द्रुक अन्नपूर्ण गाउँपालिकामा पर्ने र पदयात्रा पर्यटनका लागि विश्व सामु प्रसिद्ध छ।
अन्नपूर्ण चक्रीय क्षेत्रमा रहेका यो गाउँ समुद्री सतहदेखि १ हजार ९४० मिटर उचाइमा रहेको छ।
अन्नपूर्ण चक्रीय क्षेत्रको प्रसिद्ध गन्तव्य माछापुच्र्छे, अन्नपूर्ण आधारशिवीर यसै गाउँ हुँदै जान सकिन्छ। घान्द्रुक—घोरेपानी पदयात्रा पनि विश्व पर्यटनमा लोकप्रिय पदयात्रा मार्ग हो।
घान्द्रुक गाउँ गुरुङ संस्कृति, कलाकालागि पनि प्रख्यात छ। यहाँका पुरानो शैलीका ढुङ्गाले छाएका घरहरु पनि उतिकै आकर्षक छन्। मौलिक घरमा सञ्चालन गरिएको होमस्टे यहाँको आकर्षणको केन्द्र हो।
यस्तैगरी, पछिल्लो समयमा यस पदयात्रा क्षेत्रमा सडक खनिएपछि पदयात्रा छोटीएको छ। लमजुङको बेसीसहर, मनाङको ताल, चामे, मनाङ थोरङला भन्ज्याङ्ग पास गरेर मुत्तीनाथ, जोमसोम तातोपानी, घोरेपानी, घान्द्रुक हुँदै २१ दिनमा मात्र पर्यटक पोखरा आइपुग्थे।
सडकको कारण २१ दिनको चक्रिय पदयात्रा छोटीएर अहिले ५ देखि ६ दिनमा झरेको छ। घान्द्रुक गाउँसम्मै अहिले मोटरमै पुग्न सकिन्छ। हिँडेर जान चाहनेलाई भने छुट्टै पदयात्रा मार्ग पनि छ। अहिले घान्द्रुकमा पर्यटक केन्द्रित भएका छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


