झापा- डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि बनेको नेपाली चलचित्र झिल्कोले विद्यार्थीहरूलाई आकर्षित गरेको छ ।
सोमबार झापाको भद्रपुर नगरपालिकाका चार विद्यालयका विद्यार्थीहरूले हलमा पुगेर फिल्म हेरेका हुन् । दर्शक, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको मन छोइरहेको झिल्कोलाई विद्यार्थीहरूले रुचाएका छन् ।
नगरपालिकाअन्तर्गत एमरेल्ड एकेडमी , नेसनल मेरिगोल्ड स्कुल, विभूति विद्या मन्दिर, प्रज्ञा एकेडेमी, सिद्धार्थ शिक्षा सदनका जम्मा ३०० बढी विद्यार्थीले फिल्म हेरेका हुन् । विद्यार्थी र शिक्षकहरूले फिल्म उत्कृष्ट र एकपटक सबैले हेर्नुपर्ने बनेको प्रतिक्रिया दिए ।
नगरपालिका भित्रका धेरै विद्यार्थीहरूलाई फिल्म देखाउने कार्यक्रमको आयोजना गोर्खा डिपार्टमेन्ट स्टोरका सञ्चालक समाजसेवी चण्डीप्रसाद अधिकारीले गरेका हुन् । आफूले हेरेपछि एकपटक विद्यार्थीलाई देखाउनै पर्ने चलचित्र बनेकाले छोराछोरीसहित विद्यार्थीहरूलाई चलचित्र देखाउन लगेको प्रतिक्रिया उनले दिए ।
‘मद्यपान ध्रुमपान जस्ता धेरै किसिमको नशा हुन्छ । त्योभन्दा बढी बुझी/नबुझीकन मोबाइलको नशाले हामीलाई सकिसकेको रहेछ । ड्रग्सभन्दा खतरनाक भैसकेको रहेछ मोबाइलको दुर्व्यसनी, त्यसले चेतना र मनस्थितिमा के विकार गर्दो रहेछ भन्ने कुरा फिल्मले प्रस्ट्याएको रहेछ र त्यसको समाधान पनि दिएको रहेछ,’ उबले भने, ‘यो त विद्यार्थीलाई देखाउनै पर्छ सोचेर विद्यार्थीलाई फिल्म देखाएको हुँ । विद्यार्थी मात्र हैन वर्तमान समयमा यो कुलतबाट मुक्त हुन सबैले एकपटक हेर्नैपर्ने फिल्म बनेको छ ।’ आजको यथार्थ र संवेदनशील विषय फिल्मले उठाएको उनले बताए ।
झापाको आजको माहोलले आफूहरु उत्साही भएको प्रतिक्रिया निर्देशक भट्टराईले दिएका छन् । ‘आजको माहोलले हामीलाई उत्साही बनाएको छ,’ उनले भने, ‘यसले झिल्को पूर्वबाट चम्किसकेको सन्देश दिएको छ ।’
चलचित्रमा मुख्य भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छन् भने उनीसँगै सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय रहेको छ ।
‘झोला’ निर्देशन गरेर ख्याति कमाएका यादवकुमार भट्टराईद्वारा निर्देशित यस चलचित्रलाई मिडिया फर कल्चर प्रा.लि.ले निर्माण गरेको हो । चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्यमा तयार भएको हो ।
चलचित्रका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । चलचित्र जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।


