नयाँ दिल्ली- भारतीय रक्षा मन्त्रालयले बुधवार बिहान पाकिस्तान र पाकिस्तान-अधिकृत कश्मीर (पीओके) मा ‘आतंकवादी संरचना’ विरुद्ध सैन्य हमलाको घोषणा गर्दै ९ ठाउँहरूलाई निशाना बनाइएको बताएको छ। यद्यपि, कुन ठाउँहरूमा आक्रमण गरियो भन्ने बारेमा विस्तृत विवरण दिइएको छैन।
भारतीय स्रोतहरूको दाबी अनुसार लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मदसँग सम्बन्धित उच्च-स्तरीय स्थानहरूमा आक्रमण गरिएको छ। भारतीय सेनाले ‘अपरेसन सिंदूर’ नाम दिएर पहलगामलगायत भारतमा भएका विभिन्न आतंकवादी हमलाहरूमा संलग्न भएको हुन सक्ने आशंका भएका शिविरहरूलाई पनि निशाना बनाएको हो।
पाकिस्तानका मुख्य सैन्य प्रवक्ताले भारतले आफ्नो देशमा आक्रमण गरेका ६ वटा स्थानको नाम बताएका थिए। यीमध्ये चार पश्चिमी पञ्जाबमा थिए। बहावलपुर, मुरीदके, सियालकोटका दुई गाउँहरु लोहारा गाउँ र शकरगढ थिए। बाँकी दुई पीओके, अर्थात् मुजफ्फराबाद र कोटलीमा थिए। यी स्थानमा ‘२४ पटक हमला’ भएको पाकिस्तानी सेनाको भनाइ थियो।
बुधवार बिहान पत्रकारहरूलाई सेनाद्वारा छनोट गरिएका ९ लक्षित स्थानहरू रहेको बताइएको थियो। ती स्थानलाई छनोट गर्नुको कारण पनि संकेत भारतीय संस्थापनले गरेको थियो दिए। बहावलपुर र मुरीदकेको विषय सार्वजनिक भइसकेको भएको छ।
भारतीय समाचार स्रोतहरूका अनुसार भारतीय सेनाले निशाना बनाएका ९ ठाउँहरूको सूची यस्तो छ।
१. बहावलपुर, पञ्जाब:
पाकिस्तानभित्र लगभग १०० किलोमिटरको दूरीमा रहेको यो ठूलो शसर आतंकवादीहरूको आश्रयस्थलका रूपमा चिनिन्छ। सहरको अहमदपुर इलाकामा जैश-ए-मोहम्मदको मुख्यालय छ। जैश-ए-मोहम्मद विगत दुई दशकमा भारतमा भएका धेरै आतंकवादी घटनाहरूमा संलग्न रहेको छ।
२. मुरीदके, पञ्जाब:
अन्तर्राष्ट्रिय सीमाबाट ३० किलोमिटर टाढाको यो सहरमा लस्कर-ए-तैयबाको लामो समयदेखि मुख्यालय रहेको छ। भारतलाई निशाना बनाउने सक्रिय र सबैभन्दा घातक आतंकवादी समूहहरूमध्ये यो एक हो। हाफिज सईदले २००८ को मुम्बईमा भएको २६/११ आतंकवादी हमलाको योजना यहीँ बनाएका थिए। हाफिज सईद मुरीदके छोडेर गइसकेका छन् र अहिले लाहौरमा रहेको विश्वास गरिन्छ।
३. सरजल क्याम्प, शकरगढ जिल्ला, पञ्जाब:
यो सहरमा जैश-ए-मोहम्मदको क्याम्प थियो। जुन अन्तर्राष्ट्रिय सीमाबाट लगभग ८ किलोमिटर टाढा साम्बा-कठुआको सामुन्ने स्थित थियो।
४. महमूना क्याम्प, सियालकोट जिल्ला, पञ्जाब:
यो स्थानमा हिजबुल मुजाहिदीनद्वारा प्रयोग गरिने तालिम शिविर थियो र सीमाबाट १५ किलोमिटर टाढा छ।
५. गुलपुर, पीओके:
यो ठाउँ नियन्त्रण रेखा (एलओसी) बाट लगभग ३५ किलोमिटर टाढा छ। २० अप्रिल २०२३ मा पुंछमा भएका ‘हमला’ र जुन २०२४ मा बसमा यात्रा गरिरहेका निर्दोष तीर्थयात्रीहरूमाथि भएका ‘हमलाहरूको मुख्य कारक’ यहीँका आतंकवादीहरूसँग जोडिएको भारतीयको दाबी छ।
६. लश्कर कोटली क्याम्प, पीओके:
एलओसीबाट लगभग १५ किलोमिटर टाढाको यो क्याम्पलाई ‘लश्कर बम्बर क्याम्प’ भनिएको छ। यसको क्षमता ‘लगभग ५० आतंकवादीहरू’को छ। एलओसीबाट नजिक भएको र भारतीय सैन्य हमलाको बेला ५० मध्ये कति जना क्याम्पमा थिए भन्ने स्पष्ट छैन।
७. लश्कर सवाई क्याम्प, तंगधार, पीओके:
पहलगाममा भएको आतंकवादी हमला र अक्टोबर २०२४ मा सोनमर्ग र गुलमर्गमा भएका आतंकवादी हमलाहरूको जड एलओसीको ३० किलोमिटरमा पर्ने यो ठाउँसँग जोडिएको भारतीयको भनाइ छ।
८. बिलाल क्याम्प
यसलाई केवल ‘जैश-ए-मोहम्मदको लन्चप्याड’ भनिएको छ। यो विषयमा धेरै जानकारी खुलाइएको पाइँदैन।
९. बरनाला क्याम्प, पीओके:
राजौरीको सामुन्ने एलओसीबाट केवल १० किलोमिटर टाढा स्थानको रूपमा उल्लेख गरिएको छ।
भारत र पाकिस्तानबीचको तनाव उच्च बिन्दुमा पुगेको बेला चीनले पहिलो पटक मुख खोलेको छ। चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतीय सैन्य कारबाहीलाई खेदजनक भनेको छ।
दक्षिण एसियाका दुई ठूला मुलुकबीच बढेको तनावबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन्, ‘हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ । आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ । दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेका छौँ। थप नराम्रो घटनातर्फ नजान भनिरहेका छौँ।’
उता बेलायतले आफूहरूले दुई देशबीचको द्वन्द्व अन्त्य गर्न सहयोग गर्ने बताएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत(पाकिस्तानबीच जारी आक्रमण चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका थिए। ‘मैले आक्रमणबारे भर्खरै सुनेँ। दुई मुलुकबीच दशकौंदेखि द्वन्द्व छ। मेरो आशा छ अहिलेको आक्रमण चाँडै सकिने छ,’ पत्रकारहरूले भारत–पाकिस्तानबीच सुरू भएको आक्रमणबारे ट्रम्पले उत्तर दिँदै भनेका थिए।
आक्रमणमा उग्रवादी समूह जैस-ए-मोहम्मदका संस्थापक तथा कमाण्डर मसूद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएको उल्लेख गरिएको छ।
जैस ए मोहम्मदको तर्फबाट बुधवार जारी गरिएको बयानमा अजहरकी दिदी र भिनाजुसाहित सो परिवारका ५ सालका बच्चासहित मारिएका छन्। यसक्रममा उनीहरुका तीन सहयोगी पनि मारिएको संगठनले जनाएको छ।
पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा मसूद अजहरका नातेदारहरु मारिएका हुन्। सो संगठनले सन् २०१९ मा गरेको आत्घाती बम विष्फोटमा ४० सैनिकको मृत्यु भएको थियो।
जैस-ए-मोहम्मदको तर्फबाट बुधबार जारी विज्ञप्तीमा अजहरकी दिदी र भिनाजु, उनका भतिजा र उनकी श्रीमती, एक भतिजी र उनको परिवारका पाँच बच्चाहरूको ज्यान गएको जनाइएको छ। आक्रमणमा उनीहरूका तीन सहयोगी र एक सहयोगीकी आमाको पनि ज्यान गएको संगठनले जनाएको छ।
जैस-ए-मोहम्मदले फेब्रुअरी २०१९ मा भारत प्रशासित कश्मीरमा गरेको आत्घाती बम विष्फोटमा ४० सैनिकको ज्यान गएको थियो।


