काठमाडौँ- आगामी जेठ २ गतेदेखि देशभरका हलमा लाग्ने तयारीमा रहेको चलचित्र ‘हेल्लो काँशीराम’ टिमले दोस्रो गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरेको छ।
लोकभाकामा आधारित यो गीतमा चर्चित गायक राजु परियारको आवाज सुन्न सकिन्छ। बुढासुब्बा डिजिटल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक २ मिनेट ५२ सेकेन्डको गीतमा संगीत सम्योजन विपिन आचार्यले गरेका छन्।
आरआर फिल्म्सले वितरणमा ल्याउन लागेको यस चलचित्रमा चर्चित अभिनेता दिलिप रायमाझी, प्रियंका कार्की, नवज्योती रसाइली, उमेश राई, अर्जुन गुरुङ, लक्ष्मी भुसाल, लगायतका कलाकारको अभिनय देख्न सकिनेछ।
चलचित्रको छायांकन यम आले मगरले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन मित्र डी. गुरुङले गरेका छन्। चलचित्रमा समावेश विभिन्न गीतमा नृत्य निर्देशन चर्चित कोरियोग्राफर कविराज गहतराजको रहेको छ भने द्वन्द निर्देशन शंकर महर्जनले गरेका छन्। पीबी थापाको लगानीमा तथा रिम विश्वकर्माको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रका सह–निर्माता शान्ता ढकाल हुन्।
सहायक निर्देशकको भूमिकामा जीवन गौतम, सावन शर्मा र सुमन खाँण रहेका छन्। पार्श्व संगीत साश्वत श्रेष्ठले तयार पारेका छन्। श्रृंगारमा दीपेन्द्र हमाल र भेषभुषामा करण बस्नेतले काम गरेका छन्।
रेडलाइन्स फिल्म प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्रको मिडिया तथा सोसल मिडिया व्यवस्थापन सेलिब्रेटी टाइम्स प्रालिले गरेको हो।
दर्शकलाई फरक स्वाद दिने दाबी निर्देशक तथा लेखक रिम विश्वकर्माको छ। ‘चलचित्र हेर्नेले पूर्ण रमाइलो लिनुहुनेछ। त्यो हाम्रो ग्यारेन्टी हो,’ रिमको जिकिर छ।
भिडियो


