सुकुटे- गर्मी याम सुरु भएसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका छन्। काठमाडौं उपत्यकाबाट र्याफ्टिङका लागि सुकुटे पुग्नेहरूको संख्या बढेको हो।
सुकुटेमा राफ्टिङ व्यवसायमा जोडिएका रिसोर्टको संख्या दुई दर्जन छ। ती रिसोर्टहरूमा उपत्यकाबाट हरेक शुक्रबार ३ देखि ४ हजारसम्म आन्तरिक पर्यटक राफ्टिङको लागि आउने गरेको राफ्टिङ स्टारका सञ्चालक दीपककुमार राईले जानकारी दिए।
पर्यटकहरूले प्रतिव्यक्ति सरदर ४ देखि ५ हजार रुपैयाँ खर्च गर्ने गरेका छन्। यसै आधारमा, हरेक साता सुकुटे क्षेत्रमा करिब १ करोड रुपैयाँ बराबरको आन्तरिक व्यापार हुने गरेको व्यवसायीहरूको भनाइ छ।
राफ्टिङसँगै सुकुटे क्षेत्र नाइट पार्टी, जंगलको बीचमा अवस्थित रिसोर्ट, खोलाको किनार, तथा विविध साहसिक गतिविधिका लागि समेत लोकप्रिय बन्दै गएको छ। यहाँ वृद्ध, युवा, परिवार सबैका लागि आकर्षण बढ्दो छ।
स्थानीय सरकार तथा व्यवसायीको सक्रियतामा सुकुटे क्षेत्रलाई औपचारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा गरिएको छ। चौतारा साँगाचोकगढी नगरपालिकाले १५ बुँदे गुरुयोजना सार्वजनिक गर्दै पूर्वाधार निर्माण, स्थानीय उत्पादनको खपत, जैविक विविधता संरक्षण, र पर्यटन प्रवर्द्धनमा प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।
सुकुटे क्षेत्रको पर्यटन विकाससँगै स्थानीय रोजगारी, उत्पादनको खपत र आन्तरिक पर्यटनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


