काठमाडौँ- सुनचाँदी पसल बन्द गरेर व्यवसायी तथा कालीगढ आन्दोलनमा उत्रिएका छन्।
सोमबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घ तथा देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर र्याली निकालेका हुन्। व्यवसायीसँगै कालीगढ पनि आन्दोलनमा उत्रिएका छन्।
सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले पसल बनद गरेर सोमबार काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने आफूहरुको माग रहेको नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिका संयोजक विपेन्द्र रामुदामुले बताए।
नगदसरह सम्पत्तिको मान्यता भएको वस्तुलाई बिलाशिताका रूपमा व्याख्या गरिनु संविधान विपरित रहेको व्यवसायीहरुको भनाइ छ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


