काठमाडौँ– धेरैलाई थाहा नहुन सक्छ, नेपालको पहिलो निजी लगानीमा बनेको चलचित्र ‘माइतीघर’ हो, जसले नेपाली चलचित्र उद्योगको जग हाल्ने काम गर्यो। माला सिन्हा र सीपी लोहनीलगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले सामान्य प्रविधि र सिंगल थियटरको युगमा पनि दर्शकको ध्यान तानेर उद्योगमा नयाँ आशा देखाउन सफल भएको थियो।
सन् १९६६ मा बनेको चलचित्र ‘माइतीघर’ले निर्माण, लगानी र दर्शकको सोचमा परिवर्तन ल्याएको मानिन्छ। त्यसयता सयौं चलचित्र बने, लगानीकर्ताको चासो बढ्यो। यद्यपि अपेक्षाकृत ठूलो परिवर्तन आएको छैन।
अब दसैँको छेको पारेर ‘माइतीघर’ नाममै नयाँ चलचित्र रिलिज हुने भएक छ। मिलन तामाङको निर्देशनमा तयार भएको यस चलचित्रमा केदार घिमिरे, युवराज लामा, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङलगायत चर्चित कलाकारको अभिनय रहनेछ। रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानीमा निर्माण भएको यो चलचित्र दशैंको फूलपातीमा प्रदर्शनमा आउने तय भइसकेको छ।
यसैगरी, अर्को ऐतिहासिक चलचित्र ‘बलिदान’को नाम पनि पुनः प्रयोगमा आएको छ। सन् १९९७ मा तुलसी घिमिरेको निर्देशनमा बनेको मूल फिल्म ‘बलिदान’ नेपाली चलचित्र इतिहासको एक माइलस्टोन हो, जसले पञ्चायतकालीन राजनीतिक परिवेशमा आधारित कथालाई कलात्मक ढंगले प्रस्तुत गरेको थियो। हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अञ्जली लामा, नीर शाहलगायतको अभिनय रहेको चलचित्रले आलोचनात्मक तथा व्यावसायिक रूपमा अपार सफलता पाएको थियो।
यस दसैँमा प्रदर्शनमा आउने दुवै चलचित्र पुराना सुपरहिट चलचित्रको नाम सापटी लिएर बनेका छन्।
नयाँ ‘बलिदान’लाई सन्तोष सेनले निर्देशन गरेका छन् भने पवन विष्ट र प्रेम पुरीको लगानी रहेको छ। चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मालगायतका पछिल्लो पुस्ताका चर्चित कलाकारको अभिनय रहनेछ। दक्षिण भारतीय टेक्निसियन, मुम्बईका उच्चस्तरीय पोस्ट प्रोडक्सन हाउस को संलग्नता र औसतभन्दा धेरै बजेटले यो चलचित्र निर्माण भइरहेको छ, जसले दर्शकको अपेक्षालाई झनै बढाएको छ।
दशैंको वातावरणमा प्रायः दर्शक चलचित्र हेर्न उत्साहित हुने भएकाले धेरै निर्माता यो समयमा चलचित्र रिलिज गर्न चाहन्छन्। तर, यसपालि एक विशेष संयोग परेको छ- यस दसैँमा प्रदर्शनमा आउने दुवै चलचित्र पुराना सुपरहिट चलचित्रको नाम सापटी लिएर बनेका छन्।
यो अचम्मको संयोग मात्र नभई नेपाली चलचित्र उद्योगमा नाम र इतिहासको पुनः प्रयोगले दर्शकको भावनालाई कसरी छोइरहेको छ भन्ने उदाहरण पनि हो। दुवै मेकर्सले राम्रैसँग आ–आफ्ना प्रोजेक्टको हल्ला गरेका छन् । पुराना नामले बोकिएको सन्देश र नयाँ पुस्ताको प्रस्तुतिमा कति नयाँ चमक देखिन्छ र तिनीहरूले कति मन जित्न सक्छन् त्यो भने अब हेर्न पाइने भएको छ।


