काठमाडौँ- संयुक्त राज्य अमेरकाले इरानमाथि बमवर्षा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार राति सामाजिक सञ्जालमार्फत अमेरिकाले इरानमाथि बमवर्षा गरेको जानकारी दिएका हुन्।
ट्रम्पका अनुसार इरानका तीन प्रमुख आणविक साइटहरू फोर्डो, नातान्ज र इस्फहानमा हवाई हमला गरी वमवर्षा गरेको हो।
‘हामीले इरानका तीन आणविक साइटहरू– फोर्डो, नातान्ज र इस्फहानमा सफल हमला सम्पन्न गरेका छौँ,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले सबै विमानहरू इरानी आकाशबाट बाहिर छन्। फोर्डो साइटमा पूर्ण क्षमताको बम खसालिएको छ।’
इरानमाथि बमवर्षा गराउन सफल भएको भन्दै उनले अमेरिकी सेनालाई बधाई दिएका छन्। यो कार्य विश्वकै कुनै पनि सेनाले गर्न नसक्ने ट्रम्पको दाबी छ।
इरानमा बमबारी गरेपछि ह्वाइटहाउसमा ट्रम्पले शनिवार राति १० बजे (अमेरिकी समयअनुसार) राष्ट्रलाई सम्बोधन गरेका छन्।
ट्रम्पले शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै इरानमा स्थल सेना पठाउने कुनै योजना नभएको बताएका थिए। उनले यो निर्णय दुई साताभित्र लिने बताएका थिए, तर स्थिति तीव्र रूपमा विकसित हुँदै गएको छ।
इजरायलले यो हमला तेहरानलाई परमाणु हतियार विकासको सम्भावनाबाट रोक्ने उद्देश्यले गरेको जनाएको छ।
इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले बुधबार अमेरिकाले आफूहरूमाथि हमला गरे ‘अपूरणीय क्षति’ निम्त्याउने चेतावनी दिएका थिए। त्यसको केही दिनमा नै ट्रम्पले इरानमा बमवर्षा गराए।
शनिवार राति ट्रम्पले गरेको सम्बोधन
केही समयअघि अमेरिकाको सेनाले इरानी शासनका तीनवटा मुख्य आणविक केन्द्रहरू फोर्डो, नतान्ज र इस्फहानमा आक्रमण गरेको छ। यी स्थानहरूको नाम हामीले वर्षौँदेखि सुन्दै आएका थियौँ। यी स्थानमा उनीहरूले विनाशकारी आणविक कार्यक्रम निर्माण गरिरहेका थिए। इरानको आणविक संवर्धन क्षमतालाई पूर्ण रूपमा ध्वस्त पारी विश्वको नम्बर १ आतंकवादको संरक्षक मुलुकबाट हुन सक्ने आणविक खतरा अन्त्य गर्नु हाम्रो उद्देश्य हो।
आज राति म विश्वलाई यो जानकारी दिन चाहन्छु कि हाम्रो सैन्य आक्रमण अत्यन्त सफल रह्यो। इरानका मुख्य आणविक संवर्धन केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको छ। अब मध्यपूर्वको आतङ्क फैलाउने देश इरानले शान्ति रोज्नुपर्छ। यदि उनीहरूले त्यसो गरेनन् भने आगामी आक्रमणहरू अझ धेरै भीषण हुनेछन्।
४० वर्षदेखि इरान “अमेरिका र इजरायलका नागरिकलाई मार्दै आएको थियो। उनीहरूले हाम्रो जनतालाई मारे। हात खुट्टा उडाइदिए, र सडकछेउ बमहरू मार्फत नरसंहार गरे। हामीले हजारभन्दा बढी नागरिक गुमायौं, र मध्यपूर्व तथा विश्वभरि हजारौँ मानिसहरू उनीहरूका कारण मारिए।
मैले धेरै अघिदेखि निर्णय गरिसकेको थिएँ — यो अवस्था सधैँ जारी हुन दिने छैन। अब यो बन्द हुनेछ।
म इजरायली प्रधानमन्त्री नेतन्याहूलाई धन्यवाद दिन चाहन्छु। हामीले एक टिमको रूपमा काम गर्यौं, जुन सम्भवतः इतिहासकै उत्कृष्ट समन्वय थियो। यसले इजरायलमाथिको भयानक खतरा हटाउन ठूलो योगदान पुर्यायो।
म इजरायली सेनालाई पनि धन्यवाद दिन चाहन्छु। अमेरिकी देशभक्तहरूलाई र सम्पूर्ण अमेरिकी सेनालाई बधाई दिन चाहन्छु। आज रातिको अपरेशन दशकौँदेखि संसारले देखेको कुनै पनि कारवाहीभन्दा पृथक् र महान् थियो। मलाई आशा छ — अब हामीले यस्तो किसिमको सैन्य शक्तिको प्रयोग फेरि गर्नु नपरोस्।
म संयुक्त सेनाका अध्यक्ष जनरल ड्यान राइजन केनलाई बधाई दिन चाहन्छु। उहाँ एक शानदार जनरल हुनुहुन्छ। आजको कारवाही सफल बनाउने उहाँसहितका सबै सैन्य रणनीतिज्ञहरूलाई धन्यवाद।
तर यति भनेर सकिँदैन। अब या त शान्ति हुनेछ, वा इरानका लागि यस्तो दुःखद घटना आउनेछ जुन पछिल्ला आठ दिनका घटनाभन्दा कैयौँ गुणा भयानक हुनेछ। अझै धेरै लक्ष्यहरू बाँकी छन्। आज रातिको लक्ष्य सबैभन्दा जटिल र सबैभन्दा खतरनाक थियो।
तर यदि चाँडै शान्ति आएन भने इरानका आणविक केन्द्रहरू नष्ट गरिनेछन्। तीमध्ये अधिकांशलाई केही मिनेटमै नष्ट गर्न सकिन्छ। आज राति हामीले जे गर्यौं, त्यो संसारको कुनै पनि सेनाले गर्न सक्ने कुरा थिएन- नजिक पुग्न पनि सक्दैन। इतिहासमै यस्तो सैन्य शक्ति आजसम्म देखिएको थिएन।
यो विषयमा भोलि बिहान बिहान ८ बजे पेन्टागनमा जनरल केन र रक्षामन्त्री पीट हग्स्थ प्रेस सम्मेलन गर्नेछन्।
म सबैलाई धन्यवाद दिन चाहन्छु। विशेष गरी, भगवानलाई पनि धन्यवाद म भन्न चाहन्छु, हामी तिमीलाई माया गर्छौं। हामी हाम्रो महान सेनालाई माया गर्छौं। उहाँहरूलाई जोगाइदिनू। भगवान मध्यपूर्वलाई आशिर्वाद देऊ, इजरायललाई आशिर्वाद देऊ र अमेरिकालाई आशिर्वाद देऊ।
भिडियो
