काठमाडौं– कलाकार प्रभात लामाले टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विद च्याम्पियन्स’ को पछिल्लो श्रृंखलामा प्रसारित सामग्रीलाई लिएर आफूलाई राजावादीहरुबाट धम्की आएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, नेतृ खुश्बु ओली र राजावादी आन्दोलनका सक्रिय सदस्य तथा अधिवक्ता स्वागत नेपाल पाहुना रहेको सो एपिसोडमा कलाकार लामाले पूर्वराजा ज्ञानेनद्र शाहको क्यारिकेचर गरेका थिए।
अहिले उक्त प्रस्तुति दिने कलाकार लामालाई भने केही राजावादीहरुले धाक–धम्कीसहितका फोन कल तथा एसएमएस पठाएर दुःख दिन थालेको पाइएको छ । स्वयं कलाकार लामाले सामाजिक सञ्जालमा एउटा पोस्टमार्फत आफूलाई त्यसरी नधम्क्याउन आग्रह नै गरेका छन्। सञ्चारकर्मीसमेत रहेका कलाकार लामाले ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को पछिल्लो अंकमा आफूले पूर्व राजा ज्ञानेन्द्रको क्यारिकेचर गरेपछि केही साथीहरु रिसाएर म्यासेज तथा फोन गरिरहेको उल्लेख गरेका छन्।
‘म हालको गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीज्यूको पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भने पूर्वराजाको क्यारिकेचर गर्दा गलत के भयो? कलाकार लामाले सोधेका छन्– ‘तपाईँको राजा नआउँदै यस्तो रवाफ देखाउनु हुन्छ भने साँच्चै राजा आएको दिन के गर्नु हुन्छ रु मलाई मेरो काम गर्न दिनुस् तपाईँ तपाईँको राजा ल्याउँदै गर्नुस्।’
कलाकार लामाले जनजातिले राजाको क्यारिकेचर गरेकोमा असन्तुष्टि व्यक्त गरिएकोेप्रति पनि आफ्नो धारणा व्यक्त गरेका छन्। ‘क्षमता र ल्याकत राख्नु हुन्छ भने तपाईँहरु पनि गर्नुहोस्, कलाकारितामा आउनुहोस्, जात–भातको कुरै नगर्नु होस्, यो शोभनीय कुरा पनि होईन, उनले भनेका छन्– ‘अर्को बुझ्नु पर्ने कुरा हास्य व्यङ्ग्य कलाकारले जसको क्यारिकेचर गर्दैमा उहाँको मान–मर्दन गरिने भन्ने होईन। बरु त्यो पात्रमार्फत धेरै कुरा र विचार ठट्यौली शैलीमा धेरै कुरा व्यक्त गर्न खोजिएको हुन्छ।’
कलाकार लामाले व्यक्तिगत रुपमा उमेरको हिसाबले हेर्ने हो भने पनि पूर्व राजा हजुरबुवा समान भएको उल्लेख गर्दै भनेका छन्– ‘उहाँलाई गर्नुपर्ने सम्मान र आदर सधैँ उस्तै छ। मलाई राम्ररी थाहा छ– उहाँलाई कुन सम्मान दिनु पर्ने हो भनेर। त्यो तपाईँहरुले सिकाई राख्न परेन। व्यक्तिगत रुपमा उहाँलाई उत्तिकै आदरभाव व्यक्त गर्न सक्छु, जति उहाँ सम्मानित र आदरणीय हुनुहुन्छ। त्यसैले मलाई कुनै पनि शैलीको धाक–धम्कीको भाषा प्रयोग नगरी दिनुहोला। कार्यक्रम केवल मनोरञ्जनका लागि तयार पारिएको हो। राजनीतिक अभिष्ट पुरा गर्न, कसैलाई सकाउन वा बनाउन तयार पारिएको कार्यक्रम होईन। हेरेर मज्जाले हाँस्नु होला। सुझाव चाहिँ दिँदै गर्नु होला।’
कार्यक्रमका निर्देशक विशाल भण्डारीले कलाकार लामाको यो नोटलाई शेयर गर्दै भनेका छन्– ‘राजा नआउँदै जातिय विभेदको कुरा गर्ने कस्ता राजावादी रु पूर्व राजालाई यस्ता गएगुज्रेका राजावादीबाट जोगाउनुस है अभियन्ताहरु। राष्ट्र प्रमुखले (चाहे त्यो राष्ट्रपति रप्रधानमन्त्री या पूर्व राजा जो हुन) कहिल्यै वर्ग, जात, धर्म र क्षेत्र हेरेर जनतामा विभेद गर्दैन । यदि गर्छ भने त्यो व्यक्ति त्यो सम्मानित पदको लायक छैन भनेर बुझौँ।


