काठमाडौं – सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालय तर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेट चालु आवको भन्दा २१ अर्ब रुपैयाँले कम हो।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्पन्न हुने खालका रणनीतिक आयोजनालाई मात्रै बजेट व्यवस्थापन गरेपछि भौतिक पूर्वाधार र ऊर्जा जस्ता विकासे मन्त्रालयको बजेट कटौती भएको हो।
चालु आवका लागि ऊर्जातर्फ ७५ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यस्तै जलस्रोत तथा सिचाइ तर्फ ३३ अर्ब ५० करोड रुपैयाँ विनयोजन गरिएको थियो।
यता आगामी दुई वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायुजस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिन अर्थमन्त्री महतले बताएका छन्। उनले एक वर्षभित्र ९ सय मेघावाट विद्युत् राष्ट्रिय प्रसारणमा थप गरिने उनले बताएका छन्।
आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रति व्यक्ति विद्युत खपत वृद्धि गरी ४५० किलोवाट घण्टा पुर्याइने उनले बताए।


