काठमाडौँ- पुरानो बसपार्कस्थित काठमाडौँ टावरको निर्माण कार्य नरोक्न उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाश खरेलको एकल इजलासले बुधबार काम नरोक्न अन्तरिम आदेश दिएको हो।
उच्च अदालतको आदेशसँगै ठेकेदार कम्पनीलाई निर्माण जारी अघि बढाउने बाटो खुलेको छ। उच्च अदालतले निर्माण कम्पनीले तला थप्न महानगरबाट अनुमति लिएको, नक्सा स्वीकृत भइसकेको र नक्सा स्वीकृति लिँदाको दस्तुर समेत तिरिसकेको देखिएको भन्दै निर्माण कार्य रोक्न नपर्ने आदेश दिएको हो।
भवन निर्माणलाई निरन्तरता दिनु उचित हुने र त्यसमा ठेकेदारको वैध अपेक्षा पनि रहने आदेशमा उल्लेख छ।
१२ तलाको निर्माण अनुमति रहेको टावरलाई १९ तलाको अनुमति दिएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईँमाथि छानबिन गर्न समिति बनाएका थिए।
बालेनको उक्त निर्णयले कामपा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको दूरी टाढिएको छ भने बोलचाल पनि बन्द छ। यी दुईबीचको विवादका कारण काठमाडौं महानगरपालिकाले अहिलेसम्म बजेट ल्याउन समेत सकेको छैन।
एकपक्षको सुनुवाईका आधारमा एक न्यायाधीशको इजलासले अन्तरिम आदेश दिएकाले काठमाडौं महानगरपालिकाले अन्तरिम आदेश खारेजको मागसहित अर्को निवेदन दिन पाउँछ।
टावरको निर्माण रोक्ने काठमाडौं महानगरपालिकाको निर्णय विरुद्ध स्वच्छन्द बिकोई बिल्डर्स अदालत गएको थियो। २०८१ माघ ९ मा काठमाडौं महानगरपालिकाले पत्र पठाई काठमाडौँ टावरको निर्माण कार्य रोक्न निर्देशन दिएको थियो।


