काठमाडौँ– नेपाली युवा पुस्तालाई नजिकबाट ‘टच’ गरेको सफल चलचित्र शृङ्खला ‘होस्टेल’मा थप एक इँटा थपिने भएको छ। सोमबार निर्माण टिमले होस्टेल शृंखलाको चौथो चलचित्र ‘होस्टेल अगेन’को निर्माण गर्ने औपचारिक घोषणा गरेको हो।
सशान कँडेलको निर्देशनमा बन्न लागेको चलचित्रमा नयाँ कलाकारहरूलाई शीर्ष भूमिकामा प्रस्तुत गर्ने तयारी गरिएको छ।
‘होस्टेल’ सिरिजले डेब्यु प्लेटफर्मको रूपमा नयाँ कलाकारहरूलाई स्थापित गर्दै आएको छ। अघिल्ला शृङ्खलामा अनमोल केसी, स्वस्तिमा खड्का, नाजिर हुसेनजस्ता चर्चित अनुहारहरू उदाएका थिए।
पहिलो शृंखला सुनिल रावलले निर्माण गरेका थिए, दोस्रो पनि उनैले बनाए। त्यसपछि उनी अमेरिका गए। उतैबाट ससान कंडेललाई तेस्रो शृंखला निर्माणका लागि अनुमति दिएका थिए।
यसपटक सार्वजनिक गरिएको टाइटल घोषणासहितको थिम पोस्टर आकर्षक छ- रगत टल्किएको चक्कुले थिचिएको गुलाबको फूल देखाएर, यो शृङ्खलाले अघिल्ला टिनेज ड्रामाभन्दा गम्भीर र गहिरो विषयवस्तु समेट्न खोजेको संकेत दिएको छ।
यो शृंखलाको पहिलो चलचित्र ‘होस्टेल’ २०७० सालमा हेमराज बिसीको निर्देशनमा आएको थियो। दोस्रो २०७२ मा आएको ‘होस्टेल रिटर्न्स’ सुरज भुसालले निर्देशन गरेका थिए।
२०८१ सालमा आएको ‘होस्टेल ३’लाई सशान कँडेलले निर्देशन गरेका थिए—र अब उनी पुनः ‘होस्टेल अगेन’ मार्फत फर्किंदैछन्। यो शृंखलाको पटकथामा माधव शर्मा, कार्यकारी निर्माणमा शङ्कर कोइराला, र निर्माण पक्षमा सम्मान इन्टरटेन्मेन्ट र आरोन कन चलचित्र्स रहनेछन्।
निर्देशक कँडेलले ‘बाउ भर्सेज छोरा’ नामक अर्को चलचित्र पनि घोषणा गरेका थिए, तर कलाकारहरूको व्यस्तताका कारण त्यो परियोजना अर्को वर्षका लागि सारिएको छ। ‘होस्टेल अगेन’ केवल चलचित्र होइन, नयाँ पुस्ताको कथा र भावनाको दस्तावेज बन्ने दाबी निर्माण पक्षको छ।


