कला समाजको दर्पण हो। मानवीय भावना, सोच, र संस्कृतिलाई कलाकारले अभिव्यक्त गर्छन्। भावनाहरूलाई रंग, शब्द, धुन, वा अभिनयमार्फत जनमानसमा उतार्ने संवेदनशील प्रक्रिया हो, कलाकारिता।
समाजको दर्पण हुने भएकाले कलाकारले समाज नबुझे त्यसलाई ऐनाका रूपमा उतार्न सक्दैन। ऐना नै प्रस्ट नभए त्यसमा प्रतिम्बित हुने आकृति पनि स्पष्ट हुँदैन। समाजको अवस्था नजिकबाट नियाल्न कलाकारले लगानी गर्नुपर्छ। ठ्याक्कै भन्नुपर्दा, कलाकारले समाजका सयौं पात्रको चरित्र बाँच्नुपर्छ। यो रिल लाइफको कुरा भयो, रियल लाइफमा परिस्थिति अर्कै छ।
सामाजिक सञ्जालमा सयौँ कमेन्ट, सेयर, लाइक। कुनै औपचारिक कार्यक्रम तथा अनौपचारिक कार्यक्रममा फ्यानहरूबाट घेरिने कलाकार बाह्य रूपमा चमकधमक पनि देखिन्छन्। तर बाहिर देखिएजस्तो मात्र सधैँ कलाकारका लागि हुँदैन। वास्तविकता फरक पनि हुन्छ। कला उद्योगभित्र अनेक दुःख, संघर्ष र नदेखिने पीडाहरू पनि छन्। कलाकारहरूको योगदानलाई पूर्णरूपमा मूल्यांकन नगरिने, तिनको परिश्रमप्रति सम्मानको अभाव रहने र आर्थिक सुरक्षाको सुनिश्चितता नहुनुजस्ता कारणले कलाकारहरुमा छटपटी छ।
केही शीर्ष कलाकारबाहेक अधिकांश कलाकारहरुको लागि नियमित आयको स्रोत बनेको छैन। फिल्म, स्टेज सो, प्रदर्शनी, एल्बम वा सिरियल, सर्ट फिल्ममा अवसर सधैं आउँदैनन्। अधिकांश कलाकारलाई सुरुवाती दिनमा जीवनयापन गर्नै मुस्किल छ। कला मन पर्ने भए पनि आर्थिक दबाबले अन्य काम रोज्नुपर्ने अवस्थामा पुगेका कलाकारहरु धेरै छन्।
धेरैलाई थाहा छ, नेपालका चर्चित कलाकारहरु विदेश पलायन भइरहेका छन्। र, तत्काल तिलस्मी नभए यो क्रम अझै केही समय जारी रहने पक्का छ। तर, कलाकारिताको भोकले यसबाट टाढिन कोही सक्दैनन्। उनीहरु कँही न कँही र कुनै पनि माध्यमबाट कलाकारिता उद्योगमा टिकिरहन खोजिरहेका हुन्छन्। ‘कलाकार’ पहिचानबाहेक अन्य पहिचानबाट उनीहरु चिनिन चाहँदैनन्।
धेरैलाई थाहा छ, नेपालका चर्चित कलाकारहरु विदेश पलायन भइरहेका छन्। र, तत्काल तिलस्मी नभए यो क्रम अझै केही समय जारी रहने पक्का छ।
अर्को कुरा, कलाकार बन्ने चाहना धेरैसँग हुन सक्छ। तर, त्यो चाहनालाई समाजले सहजै स्वीकार्छ भन्ने ग्यारेन्टी छैन। कलाकार भएर मात्रै भएन, आफ्नो कामबाट आमदर्शकहरुमा चिनिनुपर्यो। तर कहिले? भन्ने भावना धेरैको मनमा हुन्छ। पहिचान बनाउन धेरै संघर्ष गर्नुपर्छ। कहिलेकाहीँ त जीवनभर पनि लाग्न सक्छ। त्यसैले निरन्तर संघर्ष गर्न तयार व्यक्ति मात्रै यो उद्योगमा टिक्न सक्छ।
हाम्रो समाजमा कलाकारितालाई सुरक्षित पेसा कहिल्यै मानिएन। नेपाली कलाकार धेरैले साइड बिजनेस गरिरहेका छन्। ‘कलामा भविष्य छैन’ भन्ने धारणाले धेरैमा निराशा छाएको देखिन्छ। अभिभावकहरू पढेर डाक्टर, इञ्जिनियर वा जागिरे बन्नुपर्छ भन्ने सोच राख्छन्। यसैले कलाकार बन्ने निर्णय आफैँमा एउटा विद्रोह मात्र होइन, संघर्षपूर्ण जीवनको सुरुवात पनि हो।
तर धेरै निराशाका कुराले मात्र पनि कलाजीवन अघि बढ्न सक्दैन। भाग्यले ‘क्लिक’ गरेमा क्षणभरमै कुनै सामान्य कलाकारको करिअरले शिखर चुम्न सक्छ। यसका उदाहरणहरु प्रशस्तै छन्।
कलाकारहरू गहिरो भावना बोकेका हुन्छन्। आलोचना, असफलता र अरूको अपेक्षाले गर्दा मानसिक तनावसँग पनि झेलिएका हुन्छन्। दर्शक वा श्रोताले मन पराएनन् भने आत्म–सन्देह पैदा पनि भइरहेको हुन्छ। कहिलेकाहीँ आफ्नो सिर्जनालाई अर्थहीन जस्तो पनि लाग्न सक्छ।
नेपालजस्तो देशमा राम्रो प्लेटफर्म पाउन कठिन छ। अझ भनौँ, काम पाउनै मुस्किल छ। कलाकारिताका लागि आफूलाई जति सुरुवाती चरणमा तयारी आवश्यक छ, त्यसपछि पनि निरन्तर संघर्ष जारी राख्न सक्नुपर्छ। प्रतिभा हुँदाहुँदै पनि पहुँच नहुनाले पछि परिन्छ। हाम्रो नेपाली चलचित्र, गायन र समग्र यो उद्योगमा मिडिया, कला संस्था वा अफिसियल सपोर्ट नहुँदा धेरै कलाकारहरू गुमनाममै हराउँछन्। सुरुवाती अवस्थामा न काम सहजै पाइन्छ, न मिडिया कभरेज सहजै पाइन्छ। जसोतसो अवसरको खोजीमा भौँतारिने कलाकारहरु अवसर पाइसकेपछि पनि सहि पहिचान नबन्दासम्म अवस्था गाह्रै हुन्छ। तर, यो अवस्था र परिस्थितीबारे सुरुमै थाहा पाउन सकियो भने धेरै कलाकारहरु ‘एन्जाइटी, डिप्रेसन र अनेक मानसिक समस्यासँग जुध्न पर्दैन।
कलाकारिता क्षेत्रमा टिक्नको लागि एकपटक राम्रो काम गरेर मात्रै पुग्दैन। उक्त कामको कारणले लामो समय टिक्न सकिँदैन। नयाँ कलाकारहरू, नयाँ शैलीहरू, र सामाजिक सञ्जालको दबाबबीच आफूलाई प्रमाणित गर्दै जानु अत्यन्त चुनौतीपूर्ण छ। निरन्तर संघर्ष गर्न र आफूलाई अपग्रेड गर्न नसक्दा पनि धेरै कलाकार विस्तारै हराएका पनि छन्।
कलाकार हुनु केवल रमाइलो वा ग्ल्यामरस जीवन बाँच्नु मात्र होइन, यो त धेरै संघर्ष, त्याग र समर्पणको परिणाम हो। यस्ता दुःखहरूका बीच पनि कलाकारहरू सिर्जना गरिरहन्छन्, किनकि उनीहरूलाई त्यो कला नै जीवनको श्वासजस्तै लाग्छ।
(ज्ञवाली डकुमेन्ट्री तथा सर्ट फिल्म निर्माता हुन्।)



