२०८३ कार्तिक १२ गते बुधबार

हात्तीले २५ वर्षमा लियो ३४५ जनाको ज्यान, मानवसिर्जित समस्याले मरे ५५ हात्ती

 |  रासस
Sanket

रासस

काठमाडौँ, साउन २७
hatti-aatanka

काठमाडौँ- हात्ती संरक्षण गर्ने उद्देश्यका साथ अगस्त १२ तारिखमा विश्वभर हात्ती दिवस मनाइन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी हात्ती दिवस मनाइने गरेको छ। पछिल्लो समय खासगरी पूर्वी तराई क्षेत्रमा विविध कारणले मानव–हात्ती द्वन्द्व बढ्दो छ।

हात्तीको बासस्थानको अतिक्रमणका कारण हात्ती मानव बस्तीमा पस्दा मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति हुने क्रम बढेको छ। बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेन्ट लागेर हात्ती मर्ने गरेका छन्। त्यस्तै बासस्थानको क्षयीकरण र अतिक्रमण, हात्तीमार्गमा मानवबस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरी–सिकारी मुख्य चुनौती देखिएका छन्।

सन् २००० देखि हालसम्म हात्तीको आक्रमणबाट नेपालमा ३४५ जनाको मृत्यु भएको छ भने मानिसको आक्रमणबाट तथा करेन्ट लागेर ५५ हात्ती मरेका छन्। यसबाहेक हरेक वर्ष हात्तीबाट हुने कृषि पशु तथा बाली र घरगोठको क्षतिको परिणाम ठूलो छ। हात्तीको क्षतिबाट खासगरी वन जङ्गल नजिक बस्ने गरिब समुदाय बढी प्रभावित हुने गरेका छन्।

न्यूनीकरणका लागि वन तथा वातावरण मन्त्रालयले प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न लागेको जनाएको छ। त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले सम्बन्धित विकास साझेदार संस्थासँग अन्तरक्रिया गरी सुझाव सङ्कलन गरिसकेको मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्लेले बताए। साझेदार संस्थाको सहयोग र समन्वयमा आधुनिक प्रविधिका साथ स्थानीय सहभागितामा परियोजना बनाई तत्काल कार्यान्वयन गरिने उनको भनाइ छ।

‘मन्त्रालयले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि हालसम्म क्षति पुर्‍याउने हात्तीलाई सुरक्षित स्थानमा प्रवेश गराउने, उद्धार र उपचार, क्षतिका लागि राहतको व्यवस्था, सचेतना कार्यक्रम, फेन्सिङ तारबार, मृतकका परिवारलाई रोजगार तथा  छात्रवृत्ति, वैकल्पिक खेतीको प्रोत्साहनलगायत काम गर्दै आएको छ’, प्रवक्ता वाग्लेले भने।

चितवनमा हात्तीको वनभोज कार्यक्रम।

यसको समाधानका लागि शिक्षा र चेतनाका साथै स्थानीय जनताले वैकल्पिक खेतीका बारेमा समेत सोच्नुपर्नेमा विज्ञहरुको सुझाव छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव एवं हात्तीविज्ञ डा नरेश सुवेदीले प्रभावित क्षेत्रका मानिसमा बदलाको भावना कम गर्न राहतसम्बन्धी निर्देशिकालाई सरल बनाउनु अपरिहार्य रहेको धारणा व्यक्त गरे।

हात्ती द्वन्द्व भएका क्षेत्रमा हात्तीप्रति सकारात्मक व्यवहार बनाउन सके दुई तिहाइ द्वन्द्व न्यूनीकरण हुने उल्लेख गर्दै उनले भने, ‘यस्तो द्वन्द्व घटाउन हात्ती हिँड्ने कोरिडोर संरक्षण गर्नु आवश्यक छ। हात्तीको द्वन्द्व हुने स्थानमा तत्काल सम्बोधन गर्ने संयन्त्र गठन गर्नु पनि आवश्यक छ।’ सचेतनामार्फत स्थानीयको व्यवहार प्रतिवर्तन गर्न सके मात्र पनि हात्तीका कारण हुने मानवीय क्षति ७० प्रतिशतसम्म कम गर्न सकिने उनको धारणा छ।

पछिल्लो तथ्याङ्कनुसार नेपालमा २३० जङ्गली हात्ती र सरकारी तथा निजी रुपमा पालिएका १८० हात्ती रहेका छन्। यस्तै, भारतबाट ‘सिजन’मा थप जङ्गली हात्ती आउने र केही समय बसेर जाने गरेका छन्।

विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले भारतीय सीमाबाट आउने हात्तीका कारण पनि क्षति हुने गरेको उल्लेख गर्दै यस सम्बन्धमा भारतसँग समन्वय गरी काम गर्नुपर्ने सुझाव दिए। हात्तीको आक्रमणबाट बच्न पछिल्लो समय सुरु गरिएको फेन्सिङ तार प्रविधि प्रभावकारी बनेको उल्लेख गर्दै उनले भने, ‘स्थलमा खटिने कर्मचारीलाई स्रोत र सवारीसाधनले चुस्त बनाउनुपर्छ। हात्तीको रुट पहिचान गरी सो क्षेत्रमा हुने मानवीय क्षति कम गर्न सकिन्छ।’

मानव–हात्ती द्वन्द्वबाट हुने क्षतिको अवस्था हेर्दा संरक्षण क्षेत्रभित्र र बाहिर बराबरी देखिन्छ भने मुख्य भित्री क्षेत्रमा खासै क्षति भएको देखिँदैन। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले मानव–हात्ती नेपालका पूर्वी तराई क्षेत्रमा भाले हात्तीको सङ्ख्या धेरै भएकाले तुलनात्मक बढी क्षति हुने गरेको बताए। बर्दिया क्षेत्रमा पोथी हात्तीको सङ्ख्या धेरै भएकाले तुलनात्मक कम क्षति हुने गरेको उनको भनाइ थियो।

नेपालमा जङ्गली हात्तीका लागि उपयुक्त आवास क्षेत्र १२ हजार वर्ग किलोमिटर (तराईको उत्तरी भाग, भवर, चुरे क्षेत्रको केही भाग र भित्री तराईको केही भाग) रहेको छ। यसअन्तर्गत ६ संरक्षण क्षेत्र (पाँच राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष) रहेको वरिष्ठ इकोलोजिष्ट आचार्यले जानकारी दिए। तराईमा २३० जङ्गली हात्तीले नेपालको कुल जनसङ्ख्याको ५२ प्रतिशत (करिब एक करोड ५० लाख) मानिसहरूसँग एउटै आवास क्षेत्र साझा गर्छन्।

हात्तीकै विषयमा विद्यावारिधि गर्नुभएका बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा अशोक रामका अनुसार तराईका रूपन्देही र पश्चिमी नवलपरासीबाहेक सबै जिल्लामा हात्ती पाइन्छ। ‘परापूर्वकालदेखि नै हात्तीको ओहोरदोहर गर्ने हात्तीमार्गमा हाल बस्ती र खेती भएकाले त्यस्ता स्थानमा बेलाबेलामा हात्तीसँग मानिसको द्वन्द्व हुने गरेको छ। साथै मानिस र हात्तीले एउटै बासस्थान र आहार प्रयोग गर्ने गरेकाले पनि यो समस्या देखिएको हो’, डा रामले भने। बासस्थान विनाश हुनु र खण्डीकरण हुनु मानव–हात्ती द्वन्द्वको मुख्य कारण बनेको उनको भनाइ छ।

विश्वमा दुई प्रजातिका हात्ती पाइन्छन्। एसियाली र अफ्रिकी हात्ती। एसियाली हात्ती नेपाल, भारत, भूटानलगायत १३ राष्ट्रमा पाइन्छन्। तिनको सङ्ख्या हाल करिब ५० हजारको हाराहारीमा रहेको बताइन्छ। विश्व संरक्षण सङ्घले हात्तीलाई सङ्कटापन्न प्रजातिको सूचीमा राखेको छ। नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत हात्तीलाई अनुसूची–१ मा राखेर यसको संरक्षणमा विशेष ध्यान दिएको छ।

प्रकाशित: २०८२ साउन २७ गते मङ्गलबार ०१:४८
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना