काठमाडौं– मेटलाइफ नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संयुक्त रूपमा मध्यपश्चिम नेपालको दाङका प्रभावित क्षेत्रमा सिकलसेल एनिमियाको फैलावट न्यूनीकरण गर्न सहयोग गर्न सहमत भएका छन्। दाङ र आसपासका क्षेत्रमा व्याप्त रोगमध्येको सिकलसेल एनिमियाले सम्पूर्ण मानव शरीरमा अक्सिजन पु¥याउने रातो रक्त कोशिकाको आकार नै परिवर्तन गर्छ।
तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा यो रोगको उच्च प्रकोप देखिएको छ। शरीर दुख्ने, विभिन्न संक्रमण हुने, कडा थकानको महसुस र रक्तअल्पता हुने लक्षण देखिएका छन्।
सम्झौताअन्तर्गत मेटलाइफ नेपालले प्रभावित क्षेत्रका नेता, स्वयंसेवक र सम्बन्धित सरोकारवालासँग सचेतना कार्यक्रम सञ्चालन गर्न केन्द्रलाई सहयोग गर्नेछ। यी कार्यक्रमले रोग, यसको प्रभाव र लक्षणबारे जनचेतना जगाउने उद्देश्य राखेका छन्।
मेटलाइफ नेपालले प्रभावित क्षेत्रका मानिसलाई सकारात्मक रूपमा बाँच्न मद्दत गर्न, थप जोखिम न्यूनीकरण गर्न र रोगसँग सम्बन्धित सामाजिक अन्धविश्वास र भेदभाव उन्मूलन गर्न केन्द्रलाई रोगको स्क्रिनिङ, उपचार र प्रभावकारी परामर्शमा पनि सहयोग गर्नेछ।


