काठमाडौँ। शुक्रबारदेखि देशभर तीनवटा नेपाली फिल्म एकै साथ प्रदर्शनमा आउन लागेका छन्। केदार घिमिरे (माग्ने बूढा)को चलचित्र ‘माग्ने राजा’, विजय बरालको ‘जनै हराएको मान्छे’ र आशान्त शर्माको चलचित्र ‘ताराहरू’ एकैसाथ प्रदर्शनमा आएका हुन्।
हलमा सबैभन्दा बढी केदार घिमिरे स्टारर ‘माग्ने राजा’ले १४४ शो पाएको छ भने त्यसपछि विजय बराल, केकी अधिकारी र मिरुना मगर स्टारर ‘जनै हराएको मान्छे’लाई ११० शो दिइएको छ। बुधबारदेखि टिकट बुकिङ खुलेकोमा ठूला बजेटको दुई चलचित्रको चेपुवामा ‘ताराहरू’ले अत्यन्त न्यून शो पाएको छ। ‘ताराहरू’ले सबैभन्दा न्यून ३० शो मात्र पाएको हो।
ऋषिराज लामिछाने निर्देशित ‘माग्ने राजा’ साधारण गाउँले युवाको धनी बन्ने सपनामा आधारित कथा हो भने हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे’ सम्बन्धहरूमाथिको फिल्म हो। यसमा भाडामा किरियापुत्री बस्ने एक युवाको कथा मार्मिक ढंगमा भनिएको छ।
यस्तै ‘ताराहरू’ मध्यम वर्गीय परिवारको संघर्ष, मित्रता र फ्रस्ट्रेसनको कथामा बनेको चलचित्र हो।


