यस चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन्, जसमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूले अभिनय रहेको छ।
चार वटा फरक-फरक पोस्टरहरूले चलचित्रको कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको जनाउँछन्। एक पोस्टरमा नायक-नायिकाको रोमान्टिक केमेस्ट्रीलाई विशेष रूपमा प्रस्तुत गरिएको छ। एक पोस्टरमा नायिका परीक्षा लिम्बु परम्परागत भेसभुसा र गहनामा सजिएकी देखिन्छिन्। अर्को एक पोस्टरमा ग्रामीण परिवेशमा पुल पार गर्दै हाँसिरहेका नायक-नायिका देखिन्छन्। प्राकृतिक सौन्दर्य र गाउँको जीवनशैलीलाई प्रस्ट्याउने यो दृश्यले कथामा ग्रामीण सौन्दर्य र सरल जीवनको प्रस्तुति हुने आभास दिन्छ।
यस चलचित्रले दर्शकलाई फरक स्वादको कथासँग जोड्ने निर्देशक सुवेदीले दाबी गरे। चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबिचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ। यो चलचित्र इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको छ।
‘सोल्टिनी’का गीतहरूमा सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन्। चलचित्रलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन्। प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी सह निर्माताहरू हुन्।


