२०८३ कार्तिक १२ गते बुधबार

जसले नागरिकता त्यागेर नेपाल फर्के, उद्योग चलाउँदैछन्

 |  नारायण अमृत
Sanket

नारायण अमृत

काठमाडौँ, असोज १२
6aa201cc-7242-4b6e-83bb-28abd4632c73

उनको जीवनको केन्द्रीय कथ्यमा दुईटा रङ सघन छन्, व्यवसाय र सेवाकर्म। त्यसैले त उनी भन्ने गर्छन्, ‘कर्म नै मेरो पूजा हो। सेवाकर्म नै मेरो भक्ति हो।’ ग्राफ सिंहावलोकन गर्ने हो भने, उनले तय गरेको यात्रा नागबेली नदी जस्तो होइन, पूरै दिन यायाबरी फन्को हानेर साँझ गुँड फर्केको चरा जस्तो लाग्छ।

उनी अर्थात् अर्जुनकुमार श्रेष्ठ ।

केही साताअघिको ढल्किँदो दिन म ‘अर्जुन दाइ’सँग श्रव्यदृश्य संलापमा थिएँ । उनका कुरा सुन्दा, व्यवहार हेर्दा र भावभंगी नियाल्दा उनी बहुत व्यवस्थित लाग्छन् । योजनबद्ध लाग्छन्, साइज मिलाइएको तासको गड्डी जस्तै।

दुई दशक बढी देश बाहिर समानन्तर रूपमा व्यवसाय र सामाजिक सेवामा कहलिएका श्रेष्ठको व्यावसायिक इपिसेन्टर केही वर्षयता नेपाल नै बनेको छ। उनले आफ्ना केही हितैषीहरूसहित ओम मेगाश्री फर्मास्युटिकल्स नामक औषधि उद्योग सुरु गरेका छन्। १ अर्ब २५ करोड रुपैयाँ लगानीमा उनले श्रीगणेश गरेको उद्योगले तीन दर्जनभन्दा बढी औषधि उत्पादन सुरु गरेको छ। अरू धेरै उत्पादनहरू सम्मुखमा छन् । रिसर्च एन्ड डेभलपमेन्टको थप काम भइरहेको छ। आईपीओमा गइसकेको कम्पनीमा अहिले एक सय जनाभन्दा बढीले रोजगारी पाएका छन्। वार्तामा मैले श्रेष्ठलाई सोधेको थिएँ, ‘युरोपमा व्यवसाय जमेकै थियो, बेल्जियम देशको नागरिकता पनि थियो हातमा, छोडेर किन आउनुभो?’

प्रश्नपछि उनको अनुहारमा रोमाञ्चकता र गाम्भीर्य एकैपटक देखियो। सम्हालिएपछि मुस्कुराउँदै भने, ‘हो, मैले सुख र खुसीमध्ये खुसी रोजेँ। तर मैले यत्ति भनौं, जहाँ भए पनि म सत्कर्मको बाटोमा एउटा असल मान्छेका रूपमा यत्नशील भइरहुँ। नेपाल भनेको देश होइन दायित्व हो।’

हुन पनि हो, उनको सिकाइ, भोगाइ र रोजाइको बेग युरोपसम्म पुगे पनि जगमा त उनको आफ्नै भूगोल छ। पर्वतको फलेवासमा जन्मिएका उनलाई त्यही गाउँको हावा, पहाडी चराचर, खेतका गह्राहरू र माटोले आकार दियो। उनको परिवार राजनीति र सामाजिक चेतनासँग घुलमिल थियो। बाल्यकालीन पहाडी जीवनको स्पर्शले उनलाई जीवनका परम्परा, संघर्ष र मानवतावादको गहिरो समझदारी दिलायो। विद्यालयमा पढाइ मात्रै होइन, जीवनको प्रारम्भिक पाठ उनले यहीँ सिके। साथीभाइसँगको खेलकुद, गाउँका कथा–कहानीले उनलाई मानवीय अनुभूतिको गहिराइ बुझायो। ‘धवलागिरीको भूगोलले मलाई धेरै सिकाएको छ’, उनी भन्छन्, ‘यतिसम्म कि ५० को मध्य दशकमै मैले काठमाडौंमा भएको तीन रोपनी जग्गा बेचेर कुश्मामा नर्सिङ होम खोल्नुपर्छ भन्नेमा पुगेँ। यही भूगोलमै औषधि व्यवसाय गरेँ। बिरामीका दुःख पीडा, गरिबी र आर्तनादको अनुभूतिकै कारण पछिसम्मै पनि मलाई यही व्यवसाय र उद्यम छनोट गर्न उद्यत् बनाइरह्यो।’

त्यसैले नै ओम मेघाश्रीले आफ्नो उद्यमको केन्द्रमा गुणस्तरीय र सुलभ मूल्यमा औषधि उपलब्धताको मर्म राखेको छ । ‘त्यतिबेला मैले पर्वतदेखि म्याग्दीसम्म औषधि व्यवसाय गर्दा डोला र डोकामा बोकिएका बिरामीको आर्शीवाद थापेको छु । त्यो चिज कहाँ भुल्न सकिन्छ र ?’ उनी केहीबेर स्मृतिमा हराए र भने, ‘त्यसैले पनि हामी हाम्रो मार्ग र मर्ममा स्पष्ट छौं ।’

उनले जिल्लामा ब्यवसायसँगै सामाजिक–संस्थागत हिसाबले पनि नेतृत्वदायी भूमिका खेलेका थिए । कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी स्थापना गरी जिल्लाका व्यवसायीलाई सहकारीको माध्यमबाट जोडेका थिए। जिल्लामा अन्तराष्ट्रिय संस्था लायन्स क्लब होस् या पर्वत जेसिज स्थापना गर्न उनी सक्रिय भएर लागेका थिए। उनले उद्योगी व्यवसायीको छाता संस्था पर्वत उद्योग वाणिज्य संघमा लगातार दुई कार्यकाल महासचिवको भुमिका निभाए । २०५७ साल अन्त्यसम्म अव्यवस्थित रहेको सदरमुकाम कुश्मा बजारलाई ब्यवस्थित बनाउन निजी क्षेत्रको सहयोगमा ढल निकास तथा सहरी मार्ग पिच गर्ने कार्य पनि उनले सुरु गरेका थिए।

तर समयले आफ्नो घडीको गति आफैँले ढल्कायो । देशमा धुवाँ बनेर विद्रोह फैलिएको थियो। औषधि व्यवसायीहरू राज्य र विद्रोही दुवैतर्फबाट खतरनाक चेपुवामा परे। दिनानुदिन जोखिमको पारो बढ्दै गयो । अर्जुन धम्की र आरोपले घेरिन थाले । यतिसम्म कि उनी चढ्ने गाडी कव्जा गरियो। परिवारका सदस्यले पनि उनलाई विकल्प सुझाए । व्यवसायमा अवरोध मात्र होइन ज्यान नै गुम्न सक्ने अवस्था देखेपछि उनले जम्मा ढाइ वर्षको दुधेबालक छोरो र श्रीमतीसहित विदेश जाने निर्णय लिए।

‘त्यो परिघटनलाई कसरी सम्झनुहुन्छ ?’ मैले सोधेको थिएँ।

उनका आँखामा फेरि उनै पुराना दिन एल्बम बनेर नाचे। त्रास, विरक्तता र केही हदसम्मको निर्णयप्रतिको निर्ममता ती दिनका सत्यहरू थिए। यद्यपि यो उनका लागि परीक्षाको अर्को अध्याय थियो। ‘झट्ट हेर्दा निर्मम निर्णय भए पनि मलाई युरोपले पनि धेरै सिकायो। त्यहाँको भूगोल, मनोविज्ञान, बजार, नियमकानुन र सामाजिक उत्तरदायित्वको नयाँ आयाममा काम गरेँ’ उनको आवाजमा आत्मस्वीस्कृतिको एउटा अलग्गै कम्पन प्रकट भयो, ‘त्यहाँबाट मैले परदेशी नेपालीहरूका सुखदुःख हेर्ने नयाँ नजरिया पाएँ। त्यसैले म एनआरएनएमा पनि समानान्तर गतिमा लागेँ। अरू सामाजिक कर्महरूमा डटेँ।’

बेल्जियम पुगेको वर्ष दिन नै नपुग्दै उनले व्यवसायमा हात हाले। सुपर मार्केटमा पार्टनरसिप गरे। कर्ममा अघि बढ्दै जाँदा त्यहाँ उनले पहिलो जापानिज रेस्टुराँ ‘ओसन सुसी’ खोले। बेल्जियम नेपालभन्दा भूगोलको हिसाबले पाँच गुणा र जनसंख्याको हिसाबले तीन गुणा सानो छ। र, पनि फ्लन्डर एरियामा मात्रै अहिले चार सयभन्दा बढी नेपालीहरूले जापानिज रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्। ‘यो सम्झँदा बडो मजा आउँछ। केही न केही गरिएछ त्यहाँ पनि भन्ने लाग्छ’ उनी भन्छन्, ‘त्यसपछि म होटल व्यवसायतिर लागेँ।’

प्रवासी जीवनको यात्रा आरम्भसँगै गैरआवासीय नेपाली संघ, (एनआरएनए) मा आबद्ध बनेका उनी आफू, सम्बद्ध देश, क्षेत्र हुँदै हरेक उपल्ला तहमा क्रियाशील भए । यो संस्थाको केन्द्रीय उपाध्यक्षसम्म बने उनी । तर पछिल्ला दिनमा एनआरएनएमा देखिएको विभाजन, विश्रृंखलता र एक तहको हदगिरीले उनको मन कुँढिएको छ । ‘आफूले त्यत्तिका वर्षदेखि मिहिनेत र समय खर्चेको संस्थाको यस्तो हालत हुँदा पक्कै पनि रमाइलो लाग्दैन’, उनले भने, ‘साथीहरूले विश्वास गर्नुहुन्छ भने, यो जटिलतालाई मिलाउन सकिन्छ। संकट समाधान गर्न पनि सकिन्छ । त्यसको मध्यस्थता र सक्रियताका लागि म तयार छु।’

अर्जुनको जीवनको महत्वपूर्ण हिस्सामा एउटा अनुभूतिजन्य पुस्तक पनि अटाएको छ। उनले ‘अर्जुनदृष्टि’ नामक पुस्तकमार्फत् आफ्नो पाँच दशकभन्दा लामो जैविक यात्राका अनेकन ‘डोमेन’हरूलाई छिमल्ने अनुक्रम गरेका छन्।

त्यही पुस्तकमा देश–परदेशका अनेक अनुभव र अनुभूति मात्र होइन मूल्य र मान्यताहरू अभिव्यक्त भएका छन्।

पुस्तकको प्रसंगको आभामा उभिएर मैले उनीसँग केही अन्तस्करणका कुरा गरेको थिएँ। केही सिकाइ र भोगाइका कुरा गरेको थिएँ। सोधेको थिएँ, ‘तपाईं दुवैतिर व्यवसाय र समाज बुझेको मान्छे। युरोपभन्दा हामी के कस्ता कुरामा पछि छौं ? एउटा उद्यमी र व्यवसायीको नजरमा के लाग्छ?’ जवाफमा उनी भन्छन्, ‘व्यवसायीका दृष्टिकोणले भन्ने हो भने उनीहरू धेरै अगाडि छन्। कोभिडको त्यस्तो त्राहिका बेला उनीहरूले व्यवसायीहरूलाई दिनुसम्म छुट दिए। अप्ठ्यारोमा सरकार र सिस्टमले सघायो। समय ठीक भएपछि व्यवसायीबाट लिइयो, लिइरहेछन् पनि तर हामीकहाँ व्यवसायीमैत्री वातावरणमा अझै पनि कतिपय इररहरू छन् । नीतिगत कुराहरूमा मात्र होइन व्यवसायीहरूका आफ्ना विरादरीमा पनि खुट्टा तान्ने र अनावश्यक झिनाझम्टी गर्ने प्रवृत्तिले हामीलाई स्तरीय बन्नबाट रोक्छ।’

प्रकाशित: २०८२ असोज १२ गते आईतबार ०२:३४
Sanket

नारायण अमृत

विगत तीन दशकयता पत्रकारितामा सक्रिय नारायण अमृत नेपाल क्लिक्स डटकमका प्रधानसम्पादक हुन्।
प्रतिक्रिया

थप समाचार

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सेयर धितो कर्जाको भरमा बढ्दै सेयर बजार, कारोबार ७ अर्ब नाघ्यो

मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ स्टकको ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना