काठमाडौँ: बालगायक अशोक दर्जीको जीवनकथाबाट प्रेरित फिल्म ‘मन बिनाको धन’ को ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक ट्रेलरको सुरुवातमा सडकमै बसेर गीत गाउँदै बटुवासँग पैसा माग्ने सानो उमेरको अशोकको दृश्य देखाइएको छ। त्यसपछि एक अभिभावकको सहयोगमा उनले आश्रय पाउँछन् र संगीतसँगै पढाइको यात्रा अघि बढाउँछन्। उनलाई गायक तथा संगीतकार टंक बुढाथोकीले आश्रय दिएकोमा बुढाथोकी भने ट्रेलरको दृष्यमा देखिएका छैनन्।
फिल्मले यही यात्रामार्फत अशोक दर्जीको संघर्ष र सफलताको कथा चित्रण गरेको छ।
ट्रेलरमा भुइँमान्छे र मध्यमवर्गीय पात्रहरूको सपना, संघर्ष र आत्मविश्वासको कथा मुख्य रूपमा प्रस्तुत गरिएको छ। फिल्मका निर्देशन संगीतकार टंक बुढाथोकी गरेका हुन्। यो उनको पहिलो निर्देशकीय फिल्म हो। फिल्मको कथा लेखन पनि उनैले गरेका हुन्।
फिल्ममा अशोक दर्जीसँगै एआर बुढाथोकी सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायत कलाकारहरूको अभिनय छ। ‘मन बिनाको धन’ आउँदो कात्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।







