२०८३ कार्तिक १३ गते बिहिबार

नुसरत: जसको धुनमा सूफी प्रेमका फूलहरू फुल्थे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १३
nusrat

केही मानिसहरू उनलाई ‘पूर्वको एल्विस प्रेस्ली’ भन्थे भने केहीले ‘पाकिस्तानको बब मार्ली’। प्रसिद्ध गायक पीटर गेब्रियलले उनको बारेमा भनेका थिए, ‘मैले अरु कसैको स्वरमा यस हदसम्म आत्माको उपस्थिति पाएको छैन। नुसरत फतेह अली खानको आवाजले निकै गहिराईसम्म आत्मालाई छुन र हल्लाउन सक्छ।’

पियर एलेन बड आफ्नो किताब ‘नुसरत: द भोइस अफ फेथ’ मा लेख्छन्, ‘एक भव्य व्यक्ति, स्टेजमा पलेटी मारेर बसेका छन्, उनका पाखुराहरू फैलिएका छन्, मानौं उनी ईश्वरसँग संवाद गर्दैछन्। जापानका मानिसहरू उनलाई ‘गाइने बुद्ध’ भनेर बोलाउँछन्, लस एन्जलसमा उनलाई ‘स्वर्गको स्वर’, पेरिसमा ‘पूर्वको पावारोती’ र लाहोरमा ‘शहंशाह-ए-कव्वाली’ (कव्वालीका बादशाह) भनिन्छ।’

नुसरत हरेक अर्थमा सामान्य मानिसहरूभन्दा फरक थिए, भरिएको शरीर, उच्च स्वरका धनी, सयौं रिलिज एल्बमहरू, र विश्वका हरेक कुनामा करोडौं प्रशंसक।

पुस्तैनी कव्वाल परम्परा र बाल्यकाल
नुसरतका जीवनीकार अहमद अकील रुबीका अनुसार, उनको कव्वाल परम्पराको वंशावली कम्तीमा नौ पुस्ता पुरानो छ। नुसरतका हजुरबुबा मौलाबख्श आफ्नो जमानाका निकै प्रसिद्ध कव्वाल थिए। उनका पिता फतेह अली र काका मुबारक अली अविभाजित भारतका नामी कव्वालहरूमा गनिन्थे।

भारत-पाक विभाजनपछि उनीहरू जालन्धरबाट लाहोर सरे। १३ अक्टोबर १९४८ मा फतेह अलीको सन्तानका रूपमा जन्मिए नुसरत फतेह अली खान। नुसरतका पिता चाहन्थे कि छोरा डाक्टर बनोस्, त्यसैले उनले जानाजानी नुसरतलाई संगीतको वातावरणबाट टाढा राखे। नुसरत लुकिछिपी हारमोनियम बजाउँथे।

एकपटक नुसरत हारमोनियम बजाउने प्रयास गरिरहेका थिए। उनका पिता फतेह अली चुपचाप कोठामा प्रवेश गरे। जब उनले हारमोनियम बजाउन बन्द गरे, तब उनले थाहा पाए कि बुवा पछाडि उभिएका रहेछन्। फतेह अलीली मुस्कुराउँदै भने, ‘तिमी हारमोनियम बजाउन सक्छौ, तर एटा शर्तमा। यसले तिम्रो पढाइमा असर गर्नु हुँदैन।’

यसपछि नुसरतले हारमोनियमका साथै तबलाको पनि अभ्यास सुरु गरे।

तबलाको तालमा भाग्यको मोड
नुसरतले यति राम्रो तबला बजाए कि फतेह अलीले आफ्नो छोरालाई डाक्टर बनाउने इच्छा छाडे। अनि तय गरे कि चिकित्सकको पोसाक लगाएर हैन, संगीतको माध्यमबाट छोराले मानिसहरूको दुःखित हृदयमा मलम लगाउनेछ।

अनि फतेह अलीले आफ्ना छोरालाई संगीतका बारीकीहरू सिकाउन थाले। तर यो धेरै दिनसम्म जारी रहन सकेन। किनभने घाँटीको क्यान्सरका कारण १९६४ मा फतेह अलीको निधन भयो, त्यस समय नुसरत हाई स्कूलको परीक्षा दिँदै थिए।

सन् १९९६ मा नुसरतमाथि एउटा टिभी डकुमेन्ट्री बनाइएको थियो, त्यसमा दिएको अन्तर्वार्तामा उनले सम्झिएका थिए, ‘मेरा बुबाको निधनपछि म के गरुँ भन्ने बुझिरहेको थिइनँ। एक दिन मैले सपनामा देखेँ कि मेरा बुबाले मलाई एक ठाउँमा लगे र मलाई गाउन सुरु गर भने। मैले भनेँ, म गाउन सक्दिनँ। उनले भने, तिमी मसँग गाऊ। म उनीसँग गाउन थालेँ। जब मेरो आँखा खुल्यो तब म गाइरहेको थिएँ।’

नुसरतले आफ्ना काका मुबारक अलीलाई आफ्नो सपना सुनाए, उनले सपनामा देखेको ठाउँको वर्णन गरे। मुबारक अलीले त्यो ठाउँ अजमेर शरीफ भएको बताए, जहाँ नुसरतका पिता र हजुरबुबा प्रायः गाउन जान्थे।

केही वर्षपछि जब नुसरतलाई अजमेर जाने मौका मिल्यो तब मानिसहरू भन्छन् कि उनले त्यो ठाउँ तुरुन्तै चिने। उनले सपनामा देखेको ठाउँमा बसेर गाए।

राज कपूरको आमन्त्रण र भारतमा पहिलो प्रस्तुति
पिताको मृत्युपछि उनका काका मुबारक अलीले उनलाई तालिम दिने जिम्मा लिए।

अहमद अकील रुबी लेख्छन्, ‘फतेह अलीले आफ्ना छोरालाई त्यसरी नै तयार गरे जसरी मालीले बीउ रोप्नुअघि जमिन तयार गर्छ तर उनका काका मुबारक अलीले उनलाई त्यसरी तयार गरे जसरी मालीले नयाँ उम्रिएको बिरुवालाई तयार गर्छ। पाकिस्तानबाहिर नुसरत फतेह अलीले पहिलो पटक भारतमा गाए। सन् १९७९ मा राज कपूरले उनलाई आफ्ना छोरा ऋषि कपूरको विवाहमा गाउन बोलाए।’

अमित रञ्जनले ‘आउटलुक’ पत्रिकामा सेप्टेम्बर ३, २००७ मा छापिएको आफ्नो लेख ‘म्युजिक हिज दरगाह’ मा उनका तबलावादक दिलदार हुसैनलाई उद्धृत गर्दै लेखेका छन्, ‘सुरुमा मानिसहरू आए, ध्यान नदिई गए। तर केही बेरपछि उनको गायनको असर देखिन थाल्यो। हामीले राति दस बजे महफिल सुरु गरेका थियौँ जुन बिहान सात बजे समाप्त भयो। नुसरतले लगातार ढाई घण्टासम्म ‘हल्का हल्का सुरूर’ गाएर मानिसहरूलाई झुम्न बाध्य पारेका थिए।’

त्यही यात्राका क्रममा नुसरतले अजमेर शरीफमा ख्वाजा मोईनुद्दीन चिश्तीको मजारमा गाउने र आफ्नो किशोरावस्थामा देखेको सपना पूरा गर्ने इच्छा व्यक्त गरे। भारतमा विदेशी कव्वाललाई पहिलो पटक दरगाहमा गाउने अनुमति दिइयो।

विश्वभर फैलिएको आवाज र ‘अल्ला हू’ को जादु
१९८१ मा नुसरतलाई बेलायतमा गाउन आमन्त्रण गरियो। उनलाई सुन्नेहरूमा हरेक धर्म र समुदायका मानिसहरू समावेश हुन्थे। त्यहाँ उनले धेरै सिख गुरुद्वाराहरूमा पनि आफ्नो कन्सर्ट गरे, जहाँ उनले गुरु ग्रन्थ साहबमा लेखिएका धेरै शब्दहरू गाए।

आफ्ना पिताजस्तै उनले पनि पञ्जाबका सुफी सन्त बुल्ले शाह, बाबा फरीद र शाह हुसैनका रचनाहरू गाए। उनको ख्याति फैलिँदै जाँदा उनलाई नर्वे, स्वीडेन, डेनमार्क र दक्षिण अफ्रिकाजस्ता देशहरूमा गाउनका लागि बोलाउन थालियो। उनी नियमित रूपमा खाडी देशहरूमा पनि जान थाले, जहाँ ठूलो संख्यामा पाकिस्तानी र भारतीय मानिसहरू बस्छन्। १९८८ मा उनको कव्वाली ‘अल्ला हू’ ले संसारभर धूम मच्चायो।

पहिले उनी जलालउद्दीन रुमी, अमीर खुसरो र बुल्ले शाहका रचनाहरू गाइरहेका थिए, तर अब उनले आधुनिक शायरहरूका कलामलाई पनि आफ्नो आवाज दिए। प्रसिद्ध संगीत समीक्षक पीटर गेब्रियलले उनको बारेमा भनेका थिए, ‘जब पनि म उनको संगीत सुन्छु, मेरो घाँटीको पछाडिको भागमा एक कम्पन पैदा हुन्छ।’

इमरान खान र मिक ज्यागर: नुसरतका प्रभावशाली प्रशंसक
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पनि नुसरत फतेह अली खानका अत्यन्त प्रशंसकहरूमध्ये एक हुन्।

एसिया वीकलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘जब पनि म नुसरतलाई सुन्छु, म आध्यात्मिक हुन्छु। हामीले १९९२ को विश्व कप जित्यौँ, त्यसबेला हामी आफ्नो मनोबल बढाउनका लागि नुसरत फतेह अली खानका क्यासेटहरू सुन्थ्यौँ।’

इमरानकी आमा शौकत खानम मेमोरियल अस्पतालका लागि स्रोत जुटाउने उद्देश्यले नुसरतले संसारभर धेरै कव्वाली शो गरे। इमरानले एक अनुभव साझा गर्दै भनेका थिए, ‘मैले लन्डनमा नुसरतको एक शोमा ख्यातिप्राप्त गायक मिक ज्यागरलाई आमन्त्रित गरेको थिएँ। उनले आफू धेरै व्यस्त भएको सन्देश पठाउँदै बढीमा पाँच मिनेटका लागि आउनसक्ने बताए। जब मैले नुसरतलाई यो बताएँ, तब उनले भने कि यदि मिक आउँछन् भने उनी शो समाप्त हुनुअघि जाने छैनन्। र भैदियो पनि त्यस्तै।’

मिक ज्यागर आए र नुसरतको आवाजबाट यति प्रभावित भए कि पूरै तीन घण्टासम्म त्यहीँ बसेर उनलाई सुने। इमरान खानले बताएका थिए कि नुसरतले यी कार्यक्रमहरूको लागि उनीबाट कहिल्यै पैसा लिएनन्।

चलचित्रमा नुसरतको आवाज र जावेद अख्तरसँगको सहकार्य
नुसरतको आवाज धेरै चलचित्रहरूमा प्रयोग गरियो। उनलाई भारतीय चलचित्रहरू धेरै मन पर्थे। उनले राहुल रवेलको चलचित्र ‘और प्यार हो गया’ मा गाए। यसबाहेक उनले जावेद अख्तरसँग ‘संगम’ एल्बम रिलिज गरे।

उनका साथ काम गरेपछि जावेद अख्तरले भनेका थिए, ‘नुसरतले बनाएका धुनहरू सुन्दा लाग्दैन कि तिनीहरूलाई बनाइएको हो। यस्तो लाग्छ मानौं तिनीहरू सिधै हृदयबाट निस्केका हुन्। उनको लागि संगीत ध्यानजस्तै थियो। उनी गाउँदा-गाउँदै प्रायः ध्यानमा जान्थे।’

नुसरतले शेखर कपूरको चर्चित चलचित्र ‘ब्यान्डिट क्वीन’ को संगीत पनि दिएका थिए। त्यस समय शेखर कपूरले भनेका थिए, ‘नुसरतका साथ काम गर्नु ईश्वरको सबैभन्दा नजिक जानुसरह थियो।’

विदेशमा चम्केपछि स्वदेशमा पाएको सम्मान
१९८६ मा पाकिस्तानका राष्ट्रपति जनरल जिया-उल-हकले नुसरतलाई एक निजी कन्सर्टमा गाउन आमन्त्रित गरेका थिए। जिया इस्लामको कट्टर स्वरूपका समर्थक थिए, जहाँ संगीतलाई धेरै राम्रो दृष्टिकोणले हेरिँदैनथ्यो।

नुसरतका साथी एडम नैयरले लेखेका थिए, ‘चर्चा यो थियो कि नुसरतलाई जनरल जियाकी छोरी जैनको स्पीच-थेरापीका लागि बोलाइएको थियो जसलाई बोल्नमा समस्या थियो। यस अफवाहलाई तब धेरै बल मिल्यो जब नुसरत र जैनको उपचार गर्ने मनोचिकित्सक दुवैलाई राष्ट्रपतिले विशेष पुरस्कारले सम्मानित गरे।’

रोचक के छ भने पाकिस्तानले  सुरुमा उनलाई चिन्न सकेन। जब विदेशमा ख्याति मिल्न थाल्यो, त्यसपछि मात्रै उनलाई आफ्नो देश पाकिस्तानमा सम्मान मिल्न सुरु भयो। नुसरतले एडम नैयरलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘हाम्रो फैसलाबादमा धेरै राम्रो कपडा बन्छन्। तर मानिसहरू ती कपडा तबसम्म किन्दैनन्, जबसम्म तिनमा ‘मेड इन जापान’ को ठप्पा लाग्दै। म यहाँका उच्च वर्गका लागि फैसलाबादको त्यो कपडाजस्तै बनेको छु।’

सिएटल विश्वविद्यालयमा संगीत अध्यापन
सेप्टेम्बर १९९२ देखि मार्च १९९३ सम्म नुसरत फतेह अली खानले अमेरिकाको सिएटल विश्वविद्यालयमा संगीत पढाएका थिए।

उनलाई नजिकबाट चिन्ने क्यालिफोर्निया विश्वविद्यालयकी प्रोफेसर हिरोमी लोरेन साकाताले आफ्नो लेख ‘रिमेम्बरिङ नुसरत’ मा लेखेकी थिइन्, ‘सिएटलमा ती दिनहरूमा नुसरत टी-शर्ट र जुत्ता लगाएका देखिन्थे। अक्सर उनलाई स्थानीय भारतीय र पाकिस्तानी किराना पसलहरूबाट किनमेल गरिरहेको देखिन्थ्यो। धेरै पटक अन्य ग्राहकहरूले उनलाई चिनेर उनीसँग कुरा गर्ने प्रयास गर्थे। उनको पाँच शयनकक्ष भएको घर सधैँ उनका साथीहरू, प्रशंसकहरू र विद्यार्थीहरूले भरिएको हुन्थ्यो। नुसरतलाई हल्का गुमनामी मन पर्थ्यो,  किनभने यहाँ उनी त्यो सबै गर्न सक्थे जसको उनले पाकिस्तानमा कल्पना पनि गर्न सक्दैनथे। उनी हप्तामा तीन दिन पढाउँथे र बाँकी दिन अमेरिकाका विभिन्न शहरहरूमा शो गर्थे।’

गायन शैलीको विकास: शास्त्रीयदेखि रोमान्टिकसम्म
पूरा संसार र पाकिस्तानमा गाएपछि मिलेको अनुभवले नुसरतले आफ्नो गायनको दायरा बढाएका थिए।

उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘सुरुमा म आफ्ना पिता र काकाजस्तै शुद्ध शास्त्रीय संगीत गाउँथेँ। त्यसपछि मैले त्यसमा थोरै स्वतन्त्रता लिन सुरु गरेँ। लोक संगीत र सुगम संगीतलाई पनि आफ्नो संग्रहमा समावेश गरेँ। मैले जानाजानी धेरै गम्भीर शास्त्रीय रचनालाई सजिलो बनाएँ ताकि सामान्य मानिसहरूले त्यससँग आफूलाई जोडिएको महसुस गर्न सकून्। त्यसपछि मैले रोमान्टिक गीतहरू पनि गाउन सुरु गरेँ।’

धेरै वर्षसम्म लगातार गाएका कारण नुसरतको स्वास्थ्यमा नकारात्मक असर पर्न थाल्यो। उनको अस्वस्थ जीवनशैलीले उनको पहिलेदेखि नै कमजोर स्वास्थ्यलाई थप बिगार्यो। सन् १९९३ मा अमेरिकामा भएको मेडिकल जाँचमा डाक्टरहरूले पत्ता लगाए कि उनलाई पहिल्यै हृदयघात भैसकेको छ, जुन नुसतलाई थाहा थिए। उनको मिर्गौलाको शल्यक्रिया गरी धेरै पत्थरीहरू निकालियो।

असमयको बिदाइ: एल्विस प्रेस्लीकै दिन नुसरतको निधन
लाहोरमा नुसरत धेरै व्यस्त जीवन बिताउँथे। उनलाई धेरै सुफी दरगाहहरू र निजी महफिलहरूमा गाउनका लागि बोलाइन्थ्यो। उनलाई आफ्नी पत्नी नाहिद र छोरी निदासँग पनि समय बिताउन धेरै कम समय मिल्थ्यो। सन् १९९५ मा उनको अन्तिम युरोप भ्रमणमा उनी निकै बिरामी परेका थिए, जसका कारण उनका धेरै शो रद्द गरिए। संगीत आलोचकहरूले उनको ऊर्जामा विस्तारै कमी आइरहेको टिप्पणी गरिरहेका थिए।

११ अगस्ट १९९७ मा उनी अमेरिकामा मिर्गौला प्रत्यारोपणका लागि लाहोरबाट अमेरिका जाने विमानमा सवार भए। बाटोमा उनको स्वास्थ्य खराब भयो र उनलाई लन्डनको क्रोमवेल अस्पताल लगियो। त्यहीँ १६ अगस्टमा उनलाई हृदयघात भयो जसकारण उनले ४८ वर्षको उमेरमा यस संसारबाट बिदा लिए।

यो एक अनौठो संयोग थियो कि बीस वर्षअघि, १९७७ मा यसै दिन संगीतका एक अर्का ठूला हस्ती एल्विस प्रेस्लीको निधन भएको थियो।

विश्वका पचास महान आवाजहरूमा नुसरत: एक अमर विरासत
२००६ मा न्यूयोर्क टाइम्सले उनलाई बीसौं शताब्दीका साठी एसियाली हिरोहरूमध्ये एक चुनेको थियो। २००७ मा भारतीय पत्रिका आउटलुकले लेख्यो, ‘उनको मृत्युको एक दशकपछि पनि नुसरत संसारमा भारतीय उपमहाद्वीपका सबैभन्दा बढी प्रसिद्ध गायक हुन्।’

अमेरिकी नेटवर्क ‘नेशनल पब्लिक रेडियो’ अनुसार, नुसरतका एल्विस प्रेस्लीभन्दा पनि धेरै रेकर्ड बिके। एनपीआरले नै उनलाई विश्वका ५० महान आवाजहरूको सूचीमा समेट्यो। २००९ मा जब भारतीय चलचित्र निर्देशक मीरा नायरलाई सोधियो कि यस्तो कुन गीत छ जसलाई तपाईं आफ्नो जीवनको साउन्ड-ट्र्याक बनाउन चाहनुहुन्छ तब उनको जवाफ थियो नुसरत फतेह अली खानको ‘अल्ला हू।’

-बीबसी हिन्दीको सहयोगमा

प्रकाशित: २०८२ कार्तिक १३ गते बिहिबार ०२:४०
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना