न्युजिल्यान्डका फिल्म निर्देशक तथा लेखक सर पिटर रोबर्ट ज्याक्सनले एकपटक भनेका थिए, ‘फिल्म निर्माणको सबैभन्दा इमान्दार रूप भनेको आफ्नै लागि फिल्म बनाउनु हो।’ नेपाली फिल्मका दूरदर्शी निर्देशक तथा चिन्तक नवीन सुब्बाको तीन दशक लामो फिल्म यात्राले ज्याक्सनको उक्त कथनलाई जीवन्त तुल्याउँछ। सुब्बाले संख्यात्मक रूपमा कम फिल्म बनाएका छन्, तर हरेक कृति नेपाली सिनेमाको अनुहार खोज्ने अथक प्रयास हो।
फिल्मकर्ममा लागेको तीन दशकमा सुब्बाले तीन फिचर फिल्मसहित केही सिरियल र सर्ट फिल्ममात्रै बनाए, प्रशस्त समयको अन्तरमा।
‘फिल्म निर्देशनमा यति ठूलो ग्याप किन?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘मैले कामै नगरेको त होइन, लामो लामो सिरियलहरू त निर्देशन गरेको तर फिल्ममा अलिकति टाइम लागेकै हो। मलाई मेरो करिअरमा फिल्मको सूची थप्नकै लागि फिल्म गर्न मन छैन। सधैँ उस्तैखाले फिल्म बनाउनुको कुनै अर्थ हुँदैन। पृथक् केही गर्न सकियोस् भनेर आफैँलाई ‘एक्सप्लोर’ गर्न खोज्दा समय लाग्नेरहेछ।’
फिल्मप्रति उनको गहिरो बुझाइ, विचार, चिन्तन र ज्ञानका कारण कतिपयले उनलाई नेपाली फिल्मको ‘विश्वविद्यालय’ नै मान्छन्। तर, धेरैलाई थाहा नहुन सक्छ, हालै ‘गाउँ आएको बाटो’ बनाएर चर्चामा आएका यी निर्देशकको खास गन्तव्य फिल्मकर्म थिएन। यो क्षेत्र सुब्बाको कुनै पूर्व निर्धारित गन्तव्यस्थल नभई हिँड्दा हिँड्दै बनेको एउटा अनौठो र सार्थक बाटो हो।
०००
ताप्लेजुङस्थित मावली गाउँ हाङपाङमा जन्मिएका सुब्बाका बुबा गोर्खा लाहुरे थिए। त्यसैले उनको बाल्यकाल यायावर शैलीमै बित्यो। कहिले हङकङ, कहिले ब्रनई, कहिले मलेसिया त कहिले नेपाल। बाल्यकालमा एकै ठाउँ हुर्किरहन पाएनन् उनले।
बुबाकै कहरले एकपटक लाहुरे नभिडेका होइनन् तर फेल भए। ‘पास भएको भए कहाँ फिल्म बनाइरहेको हुन्थे, पेन्सन जीवन पो बाँचिरहेको हुन्थे होला,’ सुब्बा आज पनि ठट्टा गर्छन्। फिल्म निर्देशनमा आउनुअघि ०४० को दशकतिर कम्युनिष्ट पार्टीमार्फत पञ्चायतविरुद्ध राजनीति गरे। तर, डिङ्गो बुट लगाएकै कारण पार्टी कारवाहीमा परे। ‘लाहुरेको छोरा, डिङ्गो बुट लगाउनु स्वाभाविक थियो। तर, त्यही लगाएकै कारण पार्टीले कारवाही गर्यो। अनि राजनीति छाडियो,’ सुब्बा सम्झन्छन्।
सुब्बाको साहित्यमा पनि उत्तिकै रुचि थियो। खुब कविता लेख्थे उनी। त्यसैले त कवि कुमार नगरकोटीले उनीसँगै लिएको एक अन्तरवार्तामा उनलाई भनेका छन्, ‘म तपाईलाई फिल्म निर्देशकभन्दा अघि एक कवि भनेर पनि चिन्छु। ’
त्यसपछि सुब्बा रंगमञ्चतिर लागे। नाटक बनाउन थाले। सुब्बाले सन् १९८८ मा रोयल नेपाल एकेडेमीबाट उत्कृष्ट नाटकको अवार्ड समेत जितेका थिए। तर, त्यतिबेला नाटकले मिडियामा स्थान पाउँदैन थियो। न अहिलेजस्तो समीक्षा नै हुन्थ्यो। ‘यसले मलाई हिर्कायो। त्यसपछि नाटकबारे लेखिनुपर्छ भनेर म आफै पत्रपत्रिकामा लेख्न थालेँ,’ सुब्बा सम्झन्छन्, ‘त्यहीक्रममा म पत्रकारितामा होमिएँ। नेपाली आवाज, देशान्तर लगायत पत्रिकामा काम गरेँ। करिब ६ वर्ष पत्रकारिता गरेँ। जब ‘नुमाफुङ’ बनाएँ, त्यसपछि पत्रकारिता छाडेँ।’
पत्रकारितामा रहँदा पनि सुब्बा खासगरी फिल्म र नाटकबारे लेख्थे। एकातिर प्रशंसा र प्रचारकारिता गर्नेहरूको जमात बढ्दै थियो तर सुब्बा भने आलोचनात्मक चेतसहितको पत्रकारितामा विश्वास राख्थे। नेपाली फिल्म त्यतिबेला बलिउड फिल्मकै कपीमा रमाइरहेको थियो। नेपाली फिल्मको आफ्नो अनुहार थिएन। पत्रकारिताकै क्रममा सुब्बाले जब संसारका विभिन्न देशका फिल्महरू हेर्न थाले, त्यसपछि उनलाई महसुस भयो– हरेक देशका फिल्मको आफ्नै पहिचान र अनुहार हुँदोरहेछ। ‘चिनियाँ, इरानी या फ्रेन्च फिल्म नै भनौं, हरेक देशको फिल्म फरक पाए,’ सुब्बा भन्छन्, ‘तर, हामी त बलिउडकै नक्कलमा रमाइरहेका थियौं। यो त हुँदै भएन भन्ने लाग्यो। नेपाली फिल्मको पनि अनुहार खोज्नैपर्छ भन्ने लागेरै म फिल्म निर्देशनतिर होमिएको हुँ।’
सुब्बालाई नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने निर्देशकका रुपमा पनि चिनिन्छन्। ९०को दशककै बीचतिर एक टेलिभिजनका लागि ‘तरेवा’ नामक लिम्बुको संस्कृतिमाथि आधारित फिल्म बनाएपछि साथी सुन्दर जोशीले उनलाई शेर्पाको कथामाथि ‘खाङ्ग्री’ फिल्म निर्देशन गर्न अफर गरे। ७७ मिनेटको फिल्म थियो। ‘त्यो फिल्म बनाइसकेपछि कहाँ के गर्ने भन्ने थाहा थिएन,’ सुब्बा भन्छन्, ‘सन् १९९६ मा बनेको यो फिल्म इटालीको पुरानो ट्रेन्टो अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनौट भयो। यसअघि मलाई फेस्टिभलबारे केही थाहा थिएन। निजी क्षेत्रबाट पहिलोपल्ट छनौट भएको नेपाली फिल्म थियो यो। त्यसपछि इटालीमा होम भिडियोमा देखाउने भनेर विक्रीसमेत भयो। ’
सुब्बाले निर्देशन गरेका ती तीन फिल्म, जसले अन्तर्राष्ट्रिय मञ्चमा समेत प्रशंसा कमाए
नुमाफुङ
‘खाङ्ग्री’ लाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याएर फर्केपछि सुब्बाले बनाएको फिचर फिल्म हो– ‘नुमाफुङ’। त्यतिबेला नेपाली फिल्ममा हिन्दी फिल्मकै धङधङी थियो। राजेश हमालको युग थियो। नयाँ र गैरकलाकार लिएर फरक खालको फिल्म बनाउन पुरै चुनौतीपुर्ण थियो। तर, सुब्बाले आँटेरै छाडे। त्यसपछि लिम्बु समाजलाई गहिरोसँग चिहाउने आँखिझ्याल स्वरुप बन्यो– नुमाफुङ। श्रीमतीको निधनपछि श्रीमान्ले पटकपटक विवाह गर्दा पनि सामान्य ठान्ने समाजले कसरी एकल महिलाको पटकपटकको विवाहलाई असामान्य ठान्छ, यो फिल्मले हाम्रो समाजमै कुनैबेला विद्यमान रहेको यो यथार्थलाई भन्न खोजेको थियो।
‘त्यतिखेर हलमा अर्कै खाले फिल्म चलिरहेका बेला मलाई भने समुदायमै च्यारिटी सो गरेर पनि लगानी उठाइन्छ भन्ने लागेर यो फिल्म बनाएको थिएँ,’ सुब्बा सम्झन्छन्, ‘पछि युरोपका विभिन्न देशमा विक्री भयो। अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलतिर पुग्यो। त्यतिखेर काठमाडौँका ६ हलमध्ये तीनवटा हलमा लागेको थियो। तर, एक महिनासम्म चलेको थियो।’
यो फिल्मलाई त्यतिबेला मुलधारका फिल्ममेकरहरूले फिल्म नै भनेनन्। वितरकहरूले वितरण गर्न मानेनन्, यस्तो पनि फिल्म हुन्छ भन्दै नाक खुम्च्याए। कति डकुमेन्ट्री भन्दै पन्छिए। तर, सुब्बाले हार मानेनन्। आफैले वितरण गर्ने निधो गरेँ। ‘त्यतिबेला कर्मसियल भनिने सिनेमाहरू पनि १ महिनासम्म चलेन जति यो चल्यो,’ सुब्बा सम्झन्छन्, ‘फिल्मका कोही पनि चिनिएका कलाकार थिएनन्। पर्दामा राजेश हमालहरू चलिरहेका पनि दर्शक यो फिल्म हेर्न आए। स्कुलहरूले पनि प्रवद्धन गरे। विद्यार्थीहरू पनि हलसम्म फिल्म हेर्न आए। ’
गुडबाई काठमाडौँ
‘नुमाफुङ’पछि सुब्बा दलितको मुद्दामाथि ‘दलन’ नामक टेलिसिरियल बनाउन लागे। सन् २००६ तिर तयार भएको यो सिरियल टिभीमा प्रसारण हुन सन् २००९ सम्म समय लाग्यो। यो सिरियलको व्यापक तारिफपछि सुब्बाले बनाएको अर्को फिल्म हो ‘गुडबाई काठमाडौँ। सन् २०१० तिर बनेको यो फिल्म नेपालमा अहिलेसम्म हलमा प्रदर्शन भएको छैन तर नेपालबाट पहिलोपल्ट विश्वचर्चित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रिमियर भएको पहिलो नेपाली फिल्म बन्न पुग्यो।
कलकत्ताको फिल्म फेस्टिभलमा अवार्डसमेत पायो। यो फिल्ममा तीन जना फरक पृष्ठभूमिका युवाहरूको कथा छ, जो आफ्नो सपना पुरा गर्न काठमाडौँमा संघर्ष गरिरहेका हुन्छन्। तर, त्यही क्रममा काठमाडौँमा विभिन्न राजनीतिक घटनाहरू घट्छन्, जसले उनीहरूलाई देश छोड्न बाध्य बनाउँछ। ‘यो त्यो बेलाको फिल्म हो जतिबेला देश संक्रमणकालबाट गुज्रिरहेको थियो, राजनीतिक अस्थिरताले सताइरहेको थियो,’ सुब्बा भन्छन्, ‘धेरै युवाहरूले देश छोडिरहेका बेला त्यसको कारण उत्खनन् गर्ने क्रममा मैले यो फिल्म बनाएको हो। अहिले पनि यो फिल्म उत्तिकै सान्दर्भिक हुन्छ भन्ने लाग्छ।’
नेपालमा भने महंगो वितरण खर्च थेग्न नसकेर रिलिज नगरेको बताउँछन् उनी। ‘अहिले फिल्म वितरण साह्रै महंगो भयो,’ सुब्बा भन्छन,‘पैसा उठाउने ग्यारेन्टी हुन्न तर फिल्म चलाउन ५०–६० लाख कम्तीमा चाहिन्छ। त्यहीकारण नेपालमा रिलिज गर्न सकिएन। तर, केही ठाउँ स्क्रिनिङ गर्नुपर्छ भन्नेचाहिँ लागिरहेको छ।’
गाउँ आएको बाटो
सुब्बाले सात वर्षपछि बनाएको अर्को फिल्म हो– ‘गाउँ आएको बाटो’। यो खासगरी पूर्वी पहाडको एक किराती गाउँमा बाटो आएसँगै आएको परिवर्तनको कथा हो। बुबा छोराबीचको सम्बन्धको कथा हो। छोराको सपनाका लागि अनेक संघर्ष गर्ने बुबाको कथा हो। एक आदिवासी राई गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका गाउँलेहरूको जीवन र उनीहरूको अन्तरसम्बन्धमा पार्ने प्रभावको कथा हो। गाउँमा बससँगै आएको परिवर्तनले बाँसको चित्रा, फिपी, डोको आदि बनाएर आफ्नो परिवार पालिरहेको राई माइलाको जीवनमा आउने उथलपुथलको कथा हो।
‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई लगायत कलाकारको अभिनय छ। सुब्बाले यसमा यसअघिका फिल्महरूमा भन्दा फरक देखाउन अभिनयमा धेरै मिहेनत गरेका छन्। सबै फिल्ममा दयाहाङको उस्तै अभिनय भयो भनेर आलोचना भइरहेका बेला उनले यो फिल्ममा उनलाई विल्कुलै फरक देखाइदिएका छन्। ‘यो कसरी सम्भव भयो ? ’
‘अभिनयमा दुइटा कुरा हुन्छ। भित्री र बाहिरी तह। हामीले दुवै तहमा काम गरेका छौं ,’ सुब्बा भन्छन्, ‘सम्भवतः नेपाली फिल्ममै पहिलोपटक हामीले ‘टेक्स्ट एनलाइसिस’मा काम ग–यो। चरित्रको भित्री तयारी ग–यौं। पहिलेचाहिँ कुनै एउटा ‘माइला’ चरित्र गर्नुछ भने गाउँमा कुनै त्यस्तै पात्र खोजेर त्यसलाई नक्कल गर्ने काम गरिन्थ्यो। तर, हामीले त्यसो गरेनौं। स्क्रिप्टभित्रै बसेर भित्री तह निर्माण गर्ने काम ग–यो। ’
सुब्बाका अनुसार त्यसपछि उनको हिडाई, बोलाइ, गेस्चर, पोस्चर सबैमा काम भयो। ‘के कारण उनको अभिनयको आलोचना हुन्छ, अहिलेसम्म प्राप्त उहाँको २० वटा जति फिल्म हेरेर ३० मिनेटको डकुमेन्ट्री बनायौं,’ सुब्बाले भने, ‘त्यो दया स्वयम्लाई देखायौं। सकारात्मक पक्ष के छ, के के दोहोरिदोँ रहेछ, त्यो देखायौं। त्यसपछि कसरी सुधार्न सकिन्छ भनेर काम ग–यौं। हाम्रो कस्ट्युम डिजाइनरले एउटा यस्तो दुइतिर खियेको चप्पल लिएर आउनुभयो कि त्यहाँबाट दयाले आफ्नो हिँडाई पक्रनुभयो। त्यतिबेला उनको अभिनय संवेदनशिलता काम गरेको थियो।’
एकपटक दयाहाङ ‘दाइ, मैले मेरो एक्टिङमा के समस्या रहेछ, पत्ता लगाए नि’ भन्दै आइपुगे। नविनले सोधेँ– के रहेछ त ? जवाफमा दयाले भने, ‘मेरो चरित्रहरूको पेशा निर्धारण हुँदैनरहेछ।’
यो फिल्ममा पछि उनले १५ दिन लगाएर आफै ४–५ वटा डोको बुने। यि सबै मिहेनतका कारण दयाहाङको अभिनय दोहोरियो भन्नेहरूलाई ‘गाउँ आएको बाटो’ एउटा गतिलो जवाफ बन्न सक्यो।
अबको तयारी ?
सुब्बा यतिखेर एकैपटक दुइ फिल्मको तयारीमा जुटेका छन्– ‘लाहुरे जुत्ता’ र ‘पानीको प्रेमकथा’। ‘लाहुरेको जुत्तामार्फत मेटोफोरिकल्ली नेपालको अहिलेको राजनीतिलाई २० वर्षअघिको लाहुरे र लिम्बु समुदायमा राखेर हेरौं भन्ने छ,’ सुब्बाले भने, ‘त्यस्तै ‘पानीको प्रेम कथा’चाहिँ अन्तरजातीय प्रेम कथामा आधारित हुनेछ। यसमा मेरो एकप्रकारको खोज गर्ने प्रयास छ। छुत र अछुत छुट्याउने काम चाहिँ पानीले गर्ने रहेछ। त्यही पानीलाई नै केन्द्रमा राखेर यो फिल्म बनाउँदैछु।’
निश्चित कुराहरूले उकुसमुकुस बनाएपछि नविन फिल्म बनाउँछन्। समाजमा जुनप्रकारको विसंगति, विकृति र अव्यवस्था छ, समाज र मान्छे जस्तो हुनुपर्ने हो, त्यस्तो नभएपछि त्यसले उनलाई बेस्सरी हिर्काउछ। त्यसपछि तिनै कुराको जवाफ खोज्ने क्रममा कथा भेटिन्छ जसलाई उनी फिल्ममार्फत भन्न खोज्छन्।
भन्न त मान्छेहरू उनलाई फरकधारको निर्देशक भन्छन्। तर, उनी स्वयम् भने अरूबाट फरक देखिन फिल्म बनाउँदैनन्। ‘म अरूबाट फरक देखिनुपर्छ भनेर फिल्म बनाउन प्रेरित भएको होइन,’ उनी भन्छन्, ‘मैले गर्ने कामले नेपाली सिनेमाको अनुहार बनाउन सक्छ कि सक्दैन ? त्यसकै खोज गर्ने क्रममा जस्तो फिल्म बन्यो, त्यही दर्शकलाई भिन्न लागेको हुनसक्छ। तर, मचाहिँ नेपाली सिनेमाको आफ्नै पहिचान बनाउनका लागि अहिले पनि खोज नै गरिरहेको छु।’


