एजेन्सी: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले ढाका अदालतको फैसलाको कडा निन्दा गरेकी छन्। उनले अदालतको निर्णयलाई ‘पक्षपातपूर्ण र प्रतिशोधको राजनीतिले प्रेरित’ भनेकी छन्।
फैसला सार्वजनिक भएपछि शेख हसिनाको तर्फबाट पाँच पृष्ठको बयान जारी गरिएको छ। जसमा भनिएको छ, ‘मृत्युदण्ड अन्तरिम सरकारद्वारा अवामी लीगलाई एक राजनीतिक शक्तिका रूपमा अमान्य बनाउन खोजिएको उपाय हो।’
अवामी लीग शेख हसिनाको पार्टी हो। यसअघि शेख हसिनाले यो मुद्दालाई ‘तमाशा’ भनेकी थिइन् र आफ्नाविरुद्धका सबै आरोप अस्वीकार गरेकी थिइन्।
उनले भनेकी थिइन्, ‘मलाई उचित न्यायाधिकरणमा, जहाँ प्रमाणको निष्पक्ष मूल्यांकन र परीक्षण हुन सक्छ, मेरा खिलाफ आरोप लगाउनेहरूसामु उभिन डर छैन।’
उनले अन्तरिम सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय अपराध न्यायालय (आईसीसी) मा यी आरोप लैजान चुनौती पनि दिएकी थिइन्।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ।शेख हसिनालाई गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोपमा मुद्दा चलाइएको थियो।
भारतमा निर्वासनमा बसेकी शेख हसिनाको अनुपस्थितिमा उनीविरुद्ध मुद्दा चलाइएको थियो।


