संयुक्त राष्ट्रसंघ,सिन्ह्वा। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वको ८.२ अर्ब जनसङ्ख्यामध्ये करिब आधा मानिस अहिले शहरमा बसोबास गर्छन्।
‘विश्व शहरीकरण प्रतिवेदन सन् २०२५’ ले विश्व सात दशकयता लगातार शहरी बन्दै गएको उल्लेख गरेको छ। सन् १९५० मा विश्वको जम्मा २० प्रतिशत जनसङ्ख्या मात्र शहरमा बस्थ्यो, तर अहिले यो दर बढेर ४५ प्रतिशत पुगेको छ।
सन् १९७५ मा १० लाखभन्दा धेरै जनसङ्ख्या भएका ठूलो आकारका शहरहरू आठवटा मात्र थिए। सन् २०२५ सम्म आइपुग्दा ती सङ्ख्या बढेर ३३ पुगेका छन्, जसमा १९ वटा एसियामा पर्दछन्।
प्रतिवेदनले इन्डोनेसियाको जाकार्तालाई विश्वकै सबैभन्दा धेरै बस्ती भएको शहर बताएको छ, जहाँ करिब ४२ लाखभन्दा बढी मानिस बसोबास गर्छन्। सन् २०५० सम्म यस्ता ठूलो आकारका शहरको संख्या ३७ पुग्ने अनुमान गरिएको छ।
यद्यपि, प्रतिवेदनका अनुसार ठूलो शहरभन्दा साना र मध्यम आकारका शहरहरूमा धेरै मानिस बसोबास गर्छन् र ती शहरहरू अझ छिटो गतिमा बढिरहेका छन्।
अध्ययनमा समावेश १२ हजार शहरमध्ये ९६ प्रतिशतमा १० लाखभन्दा कम जनसंख्या छ, र ८१ प्रतिशतमा २।५ लाखभन्दा कम जनसङ्ख्या रहेको पाइएको छ।
विश्वभरका शहरहरूको सङ्ख्या सन् १९७५ देखि २०२५ सम्म दोब्बरभन्दा बढी बढेको छ। सन् २०५० सम्म यो सङ्ख्या १५ हजारभन्दा धेरै पुग्ने अनुमान छ, जसमा धेरै शहरहरूमा २.५ लाखभन्दा कम जनसङ्ख्या रहनेछ।
साना बस्तीहरूमा बस्ने जनसङ्ख्या सन् १९५० मा ४० प्रतिशत भए पनि सन् २०२५ सम्म आइपुग्दा घटेर ३६ प्रतिशतमा पुगेको छ। ग्रामीण क्षेत्रमा बस्ने जनसङ्ख्या झरेर १९ प्रतिशत मात्र बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
पाँच हजारभन्दा बढी जनसङ्ख्या र पर्याप्त घनत्व भएका बस्तीहरू ७१ देशमा सबैभन्दा सामान्य बस्ती प्रकार रहेका छन्। ग्रामीण बस्तीहरू भने १९७५ मा ११६ देशमा मुख्य बस्ती प्रकार भए पनि अहिले ६२ देशमा मात्र सीमित छन्।


