प्रख्यात चलचित्र निर्माता तथा अभिनेता गुरुदत्तको निधन सन् १९६४ मा मात्र ३९ वर्ष अल्पायुमा भयो। यति कम उमेरमा उनले भारतीय सिनेमामा यस्तो जादूयी योगदान दिए, जसकारण आज पनि दर्शकहरूको हृदयमा उनीप्रति अथाह श्रद्धा भरिएको छ।
क्यामेराको पछाडि रहने यी संवेदनशील कलाकारको भावनात्मक द्वन्द्व र मानसिक स्वास्थ्यसँग जोडिएको उकुसमुकुस भने आज पनि धेरै हदसम्म ओझेलमै छ।
‘प्यासा’ र ‘कागज के फूल’ जस्ता कालजयी (क्लासिक) हिन्दी फिल्म बनाएका गुरुदत्तले फिल्म निर्माणमा आफ्नै ‘आत्मविश्लेषणात्मक शैली’ विकास गरेका थिए। भारत स्वतन्त्र भएपछिको त्यो समयमा यो शैली निकै नौलो र क्रान्तिकारी थियो।
गुरुदत्तका फिल्मका पात्रहरू निकै जटिल हुन्थे, जसमा प्रायः निजी जीवनका संघर्षहरूको प्रतिविम्ब देखिन्थ्यो। उनका पटकथाहरूले सार्वभौमिक विषयवस्तुलाई छुन्थे र दर्शकलाई गहिरिएर सोच्न बाध्य बनाउँथे।
गुरुदत्तको बाल्यकाल आर्थिक अभाव र पारिवारिक उथलपुथलले भरिएको थियो। कामको खोजीमा परिवार बङ्गाल बसाइँ सरेपछि किशोर अवस्थामा रहेका गुरुदत्तको मनमा त्यहाँको संस्कृतिले गहिरो छाप पार्यो। पछि यसको प्रस्ट प्रभाव उनका फिल्महरूमा पनि देखियो।
सन् १९४० को दशकमा बम्बई फिल्म इन्डस्ट्रीमा पाइला टेक्दा उनले आफ्नो थर ‘पादुकोण’ हटाए।
रोचक कुरा के छ भने, उनले आफ्नो करियरको सुरुवात निर्देशकका रूपमा नभई कोरियोग्राफरको रूपमा गरेका थिए। घर चलाउन उनी टेलिफोन अपरेटरको जागिर पनि गर्थे।
स्वतन्त्रता संग्रामको उत्कर्ष र त्यसबेलाको अनिश्चित माहोलले एक उदाउँदो फिल्म निर्माताको भविष्यमा गहिरो असर पारिरहेको थियो। यसै क्रममा उनले ‘कश्मकश’ नामक कथा लेखे, जसमा एक कलाकारको निराशा र सामाजिक मोहभंगको चित्रण थियो। गुरुदत्तको मास्टरपिस मानिने ‘प्यासा’ मा यही सामाजिक वितृष्णालाई पर्दामा उतारिएको छ।

‘प्यासा’ फिल्मको एक दृश्य
देवानन्दसँगको मित्रता र गीतासँगको प्रेम
देवानन्द र गुरुदत्त मिल्ने साथी थिए। देवानन्दसँगको मित्रताले नै उनलाई सन् १९५१ मा फिल्म ‘बाजी’ मार्फत पहिलो पटक निर्देशनको मौका दिलायो। यो फिल्मले गुरुदत्तलाई चर्चाको शिखरमा पुर्यायो।
यसपछि उनको जीवनमा लोकप्रिय गायिका गीता रोय आइन्। धेरैका अनुसार गुरुदत्तको जीवनका ती सुरुवाती वर्षहरू सबैभन्दा सुखद् थिए। जब उनले आफ्नै फिल्म कम्पनी खोले, ‘आर-पार’ र ‘मिस्टर एण्ड मिसेज ५५’ जस्ता हिट रोमान्टिक कमेडी फिल्महरू दिए, जसमा उनी आफैं मुख्य भूमिकामा देखिए।
एक कलाकारका रूपमा कथाहरूको गहिराइमा डुब्ने हुटहुटीले उनले ‘प्यासा’ बनाए। यो फिल्म भौतिक सुख–सुविधाका पछि भाग्ने स्वार्थी दुनियाँमा एक सच्चा कविले गरेको संघर्षको कथा हो। दशकौंपछि ‘टाइम’ म्यागजिनले २०औं शताब्दीका १०० महान् फिल्महरूको सूचीमा राखेको यो एकमात्र हिन्दी फिल्म बन्यो।
गुरुदत्तकी बहिनी ललिता लाजमी (जो अब यस संसारमा छैनन्) ले गुरुदत्तको जीवनी लेखनका क्रममा बताएकी थिइन्– ‘प्यासा’ उनका दाजुको ‘ड्रिम प्रोजेक्ट’ थियो र उनी यसलाई त्रुटिरहित बनाउन चाहन्थे। गुरुदत्त सेटमै फिल्मको संरचना तयार पार्थे। उनी पटक–पटक दृश्यहरू पुनः सुट गर्थे। तर ‘प्यासा’ का क्रममा उनको यो बानी चिन्ताजनक बनिसकेको थियो। उदाहरणका लागि, फिल्मको प्रसिद्ध क्लाइम्याक्स सिन उनले १०४ पटक सुट गरेका थिए।
लाजमीले भनेकी थिइन्, ‘उहाँलाई निन्द्रा लाग्दैनथ्यो। उहाँले रक्सीको सहारा लिन थाल्नुभएको थियो र सबैभन्दा डरलाग्दो कुरा त– उहाँले स्लिपिङ ट्याब्लेट पनि खान थाल्नुभयो, जसलाई उहाँ अक्सर ह्विस्कीमा मिसाएर पिउनुहुन्थ्यो। गुरुदत्तले आफ्नो निन्द्रा, सपना र यादहरू… सबै ‘प्यासा’ का लागि कुर्बान गरिदिनुभयो।’
सन् १९५६ मा, ३१ वर्षको उमेरमै उनले पहिलो पटक आत्महत्याको प्रयास गरे। त्यसबेला उनी बच्न त बचे, तर अस्पतालबाट फर्किएपछि परिवारले कुनै मेडिकल मद्दत लिएन। लाजमीका अनुसार, त्यसबेला मानसिक स्वास्थ्यको कुरा गर्नु ‘वर्जित’ मानिन्थ्यो र फिल्ममा ठूलो लगानी पनि फसेको थियो।
सफलताभित्रको खालीपन
सन् १९५७ मा ‘प्यासा’ रिलिज भयो। समिक्षकले तारिफ गरे, बक्स अफिसमा पैसा पनि बर्सियो। तर, गुरुदत्त भित्रभित्रै खोक्रिएका थिए।
‘प्यासा’ का सिनेमेटोग्राफर वीके मूर्ति सम्झन्छन्, गुरुदत्त भन्थे– ‘म निर्देशक बन्न चाहन्थें, अभिनेता बन्न चाहन्थें, राम्रा फिल्म बनाउन चाहन्थें। मैले यो सबै पाएँ। मसँग धन छ, सबथोक छ… तैपनि यस्तो लाग्छ कि मसँग केही पनि छैन।’
गुरुदत्तको जीवन विरोधाभासले भरिएको थियो। पर्दामा उनी महिलालाई स्वतन्त्र र सशक्त देखाउँथे, तर निजी जीवनमा पत्नी गीतालाई परम्परागत महिलाका रूपमा देख्न चाहन्थे।
उनको नियम थियो– हरेक कलात्मक जोखिमपछि एउटा व्यावसायिक फिल्म बनाउने। तर ‘प्यासा’ को सफलताले हौसिएर उनले यो नियम तोडे र आफ्नो सबैभन्दा निजी र महँगो फिल्म ‘कागज के फूल’ निर्माण गरे।
यो फिल्म आज ‘क्लासिक’ मानिन्छ, तर त्यसबेला बक्स अफिसमा नराम्रोसँग असफल भयो। यो झट्का गुरुदत्तले सहन सकेनन्। सह–कलाकार वहीदा रहमान भन्छिन्, ‘उहाँ अक्सर भन्नुहुन्थ्यो– लाइफमा दुईवटा मात्र त कुरा छन्, सफलता र असफलता। यसको बीचमा केही पनि छैन।’

‘मिस्टर और मिसेज ५५’ मा मधुबालाको साथमा गुरुदत्त
‘मलाई लाग्छ, म पागल हुन्छु’
‘कागज के फूल’ पछि उनले निर्देशन गरेनन्, तर ‘चौदहवीं का चाँद’ मार्फत निर्माताका रूपमा कमब्याक गरे। त्यसपछि ‘साहब, बीबी और गुलाम’ सुरु भयो। तर त्यतिबेलासम्म उनको निजी जीवन तहसनहस भइसकेको थियो।
लेखक विमल मित्र सम्झन्छन् कि गुरुदत्त आफ्नो निन्द्राको समस्या र औषधिको लतलाई लिएर निकै चिन्तित थिए। मित्रसँगको कुराकानीमा उनी बारम्बार एउटै कुरा दोहोर्याउँथे– ‘मलाई लाग्छ, म पागल हुन्छु।’
000
लाजमीले पछुतो मान्दै भनेकी थिइन्, ‘मेरो दाजु चुपचाप मद्दतको भिख मागिरहनुभएको थियो। उहाँ यस्तो गहिरो र अँध्यारो गल्लीमा फस्नुभएको थियो, जहाँबाट बाहिर निस्कने ढोका नै थिएन।’ ‘साहब, बीबी और गुलाम’ सफल भयो, राष्ट्रिय अवार्ड पायो, बर्लिन फिल्म फेस्टिवलमा पनि पुग्यो। तर, गुरुदत्तको एक्लोपन बढ्दै गयो। पत्नीसँग विछोड भइसकेको थियो।
१० अक्टोबर १९६४ को त्यो कालो दिन, ३९ वर्षको उमेरमा गुरुदत्त आफ्नै कोठामा मृत फेला परे। वहीदा रहमानले ‘जर्नल अफ फिल्म इन्डस्ट्री (१९६७)’ मा लेखेकी थिइन्– ‘मलाई थाहा छ, उहाँ सधैं यही (मृत्यु) चाहनुहुन्थ्यो, यसैको इच्छा थियो र उहाँलाई त्यो मिल्यो।’
जसरी ‘प्यासा’ को नायकलाई मरेपछि मात्र साँचो कदर मिल्यो, त्यसरी नै गुरुदत्तको असली महानता पनि उनको मृत्युपछि मात्र दुनियाँले बुझ्यो। सिनेमा प्रेमीहरू आज पनि सोच्छन्– यदि उनी केही वर्ष अझै जीवित रहन्थे भने भारतीय सिनेमालाई कुन उचाइमा पुर्याउँथे होलान्?
(आत्महत्या एक गम्भीर मनोवैज्ञानिक र सामाजिक समस्या हो। यदि तपाईं पनि तनावबाट गुज्रिरहनुभएको छ भने सम्बन्धित हेल्पलाइन वा विशेषज्ञको सल्लाह लिन सक्नुहुन्छ। तपाईंले आफ्ना साथीभाइ र आफन्तहरूसँग पनि मनका कुरा साटासाट गर्नु आवश्यक छ।)– बीबीसी हिन्दीबाट


