बेंगलुरु,एएफपी। भारतको रिलायन्स उद्योग समूहले क्यानडाली र अमेरिकी साझेदार कम्पनीहरूसँग मिलेर आन्ध्र प्रदेशको विशाखापट्टनम शहरमा विशाल कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र निर्माण गर्न ११ अर्ब डलर बराबरको लगानी गर्ने भएको छ। राज्य सरकारले बुधबार यो जानकारी सार्वजनिक गरेको हो।
पाँच वर्षमा पूरा हुने भनिएको परियोजनाअन्तर्गत एक गिगावाट क्षमताको ठूलो एआई केन्द्र निर्माण गरिने भएको छ।
यही शहरमा गुगलले पनि हालै १५ अर्ब डलर बराबरको सूचना–केन्द्र तथा एआई संरचना विकास गर्ने योजनाको घोषणा गरेको छ, जुन अमेरिकाबाहिरको उसको सबैभन्दा ठूलो परियोजना मानिन्छ।
रिलायन्स, क्यानडाको ब्रुकफिल्ड र अमेरिकास्थित डिजिटल रियल्टी मिलेर बनेको संयुक्त परियोजनाले यो लगानी अघि बढाउनेछ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले सामाजिक सञ्जालमा लेखेका छन्,“यो लगानीले रोजगारी, नयाँ प्रविधि विकास र विश्वस्तरका लगानी आकर्षित गर्ने कामलाई थप गति दिनेछ।”
राज्य सरकारले जारी गरेको वक्तव्यमा यो परियोजना आन्ध्र प्रदेशलाई उन्नत डिजिटल पूर्वाधार र भविष्यको उच्च क्षमता कम्प्युटिङ प्रविधिको प्रमुख केन्द्रका रूपमा उभ्याउने उल्लेख छ।
भारतमा एआई प्रविधिको माग तीव्र रूपमा बढेको छ, र यस वर्षअन्त्यसम्म इन्टरनेट प्रयोगकर्ता नौ करोडको नजिक पुग्ने अनुमान गरिएको छ।
बढ्दो डिजिटल डाटाको भण्डारण तथा ऊर्जा–खपत धेरै हुने एआई प्रणाली सञ्चालनका कारण यस्ता केन्द्रहरूको माग विश्वभर तीव्र रूपमा बढिरहेको छ।
यसैबीच, अमेरिकास्थित प्रमुख एआई कम्पनीहरूले पनि भारतमा विस्तार र लगानीका योजना निरन्तर घोषणा गरिरहेका छन्।
अक्टोबरमा एआई कम्पनी एनथ्रोपिकले आगामी वर्ष भारतमा कार्यालय खोल्ने जनाएको थियो, र त्यहाँका प्रमुख दारियो अमोडेइले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेका थिए।
ओपनएआईले पनि यसै वर्ष भारतमा कार्यालय स्थापनाको घोषणा गरेको छ। संस्थाका प्रमुख साम आल्टम्यानका अनुसार, भारतमा च्याटजीपीटी प्रयोग गत वर्षको तुलनामा चार गुणाले बढेको छ।
पप्र्लेक्सिटी नामक एआई कम्पनीले जुलाई महिनामा भारतीय दूरसञ्चार कम्पनी एयरटेलसँग साझेदारी गर्दै ३६ करोड प्रयोगकर्तालाई एक वर्षका लागि निःशुल्क प्रिमियम सेवा उपलब्ध गराउने घोषणा गरेको थियो।


