काठमाडौँ: जिल्ला अदालत काठमाडौँले टीओबी समूहका सदस्य तेन्जिङ दावा लामा भन्ने तेन्जिङ राप्तेङलाई धरौटीमा छाड्न आदेश गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार उनीविरुद्ध लिखत कीर्ते मुद्दा र लागूऔषध मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा आज जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासमा बयान र थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि इजलासले लिखत कीर्तेमा ५ लाख र लागूऔषध मुद्दामा २० हजार गरी ५ लाख २० हजार रुपैयाँ धरौटी खुलेको सूचना अधिकारी दीपक श्रेष्ठले बताए।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घुसपैठ भएको र टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर घुमेको भन्दै उनी पक्राउ परेका थिए। यद्यपि, पछि पेस्तोल नक्कली भएको र आन्दोलनभन्दा पहिले बिजुलीबजारमा टिकटक बनाउँदा खिचेको खुलेको थियो।
तर नागरिकता शंकास्पद देखिएको र जन्मदर्ता पछि नक्कली भेटिएपछि लिखत कीर्तेमा उनीविरुद्ध अनुसन्धान भएको थियो। खनतलासीका क्रममा उनकको बौद्धस्थित कोठाबाट लागुऔषधसमेत फेला परेपछि प्रहरीले उनीविरुद्ध लागुऔषध कसुरअन्तर्गत पनि अनुसन्धान अघि बढाइएको थियो ।


