काठमाडौँ: विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा हितेन्द्रदेव शाक्यले पुन: पदबहाली गरेका छन्। उनी बुधबारदेखि प्राधिकरण फर्किएर जिम्मेवारी सम्हालेका हुन्। उनलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पदमा सरुवा गर्ने सरकारको निर्णय बदर गर्दै सर्वोच्च अदालतले गत सोमबार प्राधिकरणमा पुनर्स्थापना गर्न परमादेश जारी गरेको थियो।
सर्वोच्चको आदेशपछि पदमुक्त भएका मनोज सिलवाल मंगलबारदेखि नै बिदामा बसेका छन्। जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारका ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङको प्रस्तावमा मन्त्रिपरिषद्को निर्णयबाट गत कात्तिक ५ गते शाक्यलाई कार्यकारी निर्देशकको पदमा कार्यरत रहेकै अवस्थामा आयोगकको विशेषज्ञ पदमा सरुवा गरेको थियो। उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक सिलवाल ल्याइएका थिए।
सरकारको उक्त निर्णयपछि कात्तिक १७ गते शाक्यले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। सर्वोच्चले कार्यसम्पादन सम्झौता (पर्फमेन्स एग्रिमेन्टमा) पालना नगरेको, निवेदकको सहमति वा मञ्जुरीसमेत कानुनविपरीत सरुवा गरेको, तोकिएको अवधिसम्म काम गर्न नदिई सरुवा गरिएको र स्वेच्छाचारी ढंगले उनलाई सरुवा गरिएको भन्दै सरकारको निर्णय बदर गर्दै प्राधिकरणमा पुनर्स्थापना गरिदिएको थियो।






