‘नमार्नु… कुनै गलत काम नगर्नु… जति पनि मुद्दाहरू छन्, उसलाई अदालतमा पेस गर्नु। इन्काउन्टर नगर्नु।’ आसिफ जरदारीले रहमान डँकैतलाई हिरासतमा लिने प्रहरी अधिकारी चौधरी असलमलाई भनेका थिए।
इस्लामाबाद मात्र होइन ‘रावलपिन्डी’ (सैन्य शक्ति केन्द्र) सम्म पहुँच राख्ने यी राजनीतिज्ञले पाकिस्तान बाहिर भएको एक भेटमा मलाई रहमान डँकैतको कथा सुनाउँदै थिए। चाहे तपाईँ पिपुल्स अमन कमिटीका संस्थापक सरदार अब्दुल रहमान बलोच भन्नुहोस् वा कराँची अन्डरवर्ल्डका डन रहमान डँकैत… यो एउटा यस्तो पात्रको कथा हो, जसले आँखा त शहरको पिछडिएको क्षेत्रमा खोल्यो तर ल्यारी ग्याङका यी ‘क्राइम लर्ड’ को पहुँच प्रहरी र सेनाका गुप्तचर निकायका शीर्ष अधिकारीहरूसम्म मात्र होइन, देशका राष्ट्रपतिसम्म पनि थियो।
मलाई यो कथा सुनाउने ती नेता आफैँ पनि धेरै सरकारमा सहभागी रहे, तर उनी कराँची ‘अन्डरवर्ल्ड’ को बारेमा पनि धेरै कुरा जान्दछन्।
चलचित्र ‘धुरन्धर’ मा अक्षय खन्नाले यिनै रहमान डँकैतको भूमिका निभाएका छन्, जसको यतिबेला जताततै चर्चा भैरहेको छ।
१८ जुन २००६ मा क्वेटाबाट रहमान डँकैतलाई अन्तिम पटक गिरफ्तार गरिएको थियो। यद्यपि, सरकारी रूपमा यो गिरफ्तारीलाई कहिल्यै सार्वजनिक गरिएन। यसै क्रममा स्वयं रहमान बलोच (रहमान डँकैत)ले अनुसन्धान गर्ने अधिकारीहरूसामु स्वीकार गरेका छन् कि उनी आफ्नै आमाको हत्यासहित ७९ वटा घटनाहरूमा संलग्न थिए। बीबीसीलाई प्राप्त रहमान बलोच माथिको अनुसन्धान प्रतिवेदन अत्यन्त गोप्य सरकारी दस्तावेज थियो, जसले उनका अपराधहरू मात्र उजागर गर्दैन, बरु राजनीति र अपराधको घिनलाग्दो गठजोडलाई पनि छर्लङ्ग पार्छ।
यस प्रतिवेदनमा १३ वर्षको उमेरदेखि अपराध सुरु गरेर रहमान बलोच कसरी ‘अन्डरवर्ल्ड डन’ बने भन्ने कुराको उल्लेख छ। यस अवधिमा कसरी उनले ठूला–ठूला नेता, जातीय सङ्गठन र व्यापारीहरूसँग सम्बन्ध बनाए भन्ने कुरा पनि त्यहाँ समेटिएको छ। कराँची बन्दरगाहको दुवैतर्फ छुट्टाछुट्टै संसार आबाद छ। एकातिर मौलवी तमिजुद्दीन खान रोड छ भने अर्कोतिर एमए जिन्ना रोड।
मौलवी तमिजुद्दीन खान रोड पार गर्ने हो भने शहरको सबैभन्दा धनी बस्ती र सबैभन्दा महँगा मनोरञ्जन स्थलहरू छन्। यस बन्दरगाहको अर्कोतर्फ एमए जिन्ना रोडको पछाडि ‘ल्यारी’ छ— गरिबीसँगै बेरोजगारीको माहोलमा बन्ने अपराधको अखडा। शहरको दक्षिणदेखि पश्चिमसम्म कराँचीका सबैभन्दा पुराना तर अत्यन्त गरिब दर्जनौँ बस्तीहरू फैलिएका छन्। यहाँ अपराधको ठूलो साम्राज्य मौलाउँछ।
उसो त चाखलाग्दो कुरा के छ भने, यही ल्यारीबाट जुल्फिकार अली भुट्टो र उनकी छोरी बेनजिर भुट्टो प्रधानमन्त्री पदसम्म पुगे, भने बाबु डँकैत र रहमान बलोच अपराधको दुनियाँमा शीर्ष स्थानमा पुगे। पाकिस्तान सरकारको दस्तावेज अनुसार अब्दुल रहमान (रहमान डँकैत) को जन्म सन् १९७६ मा दाद मोहम्मद उर्फ ‘दादल’ को घरमा भएको थियो। रहमानकी आमा दादलकी कान्छी श्रीमती थिइन्। रहमानका एक नजिकका भाइ (फर्स्ट कजन)ले बताएअनुसार रहमानका बुवा चार दाजुभाइ थिए: दाद मोहम्मद (दादल), शेर मोहम्मद (शेरु), बेक मोहम्मद (बेकल) र ताज मोहम्मद। उनको भनाइअनुसार दादलले ल्यारीमा धेरै कल्याणकारी कामहरू पनि गरेका थिए।
‘बालबालिकाका लागि पुस्तकालय, ठूलाहरूका लागि इदगाह, महिलाहरूका लागि सिलाई-कटाई केन्द्र र युवाहरूका लागि बक्सिङ क्लब बनाएका थिए,’ उनले भनेका छन्। तर अनुसन्धानका दस्तावेज तथा प्रहरी, सेना र गुप्तचर संस्थाका अधिकारीहरू अर्कै कथा सुनाउँछन्।
कराँची प्रहरीका एक पूर्व प्रमुखले बताएअनुसार दादल र उनका भाइ शेरु दुवै लागुऔषधको धन्दामा संलग्न थिए। प्रहरी रेकर्ड अनुसार शेरु ‘हिस्ट्रीशीटर’ (कुख्यात अपराधी) पनि थिए। तर शेरु-दादल ग्याङ ल्यारीमा लागुऔषधको धन्दा वा अन्य अपराधको एक्लो ठेकेदार बिल्कुलै थिएन। इकबाल उर्फ ‘बाबु डँकैत’ को ग्याङले पनि नजिकैको टोल कलरीमा लागुऔषधको ठूलो नेटवर्क चलाउँथ्यो भने तेस्रोतिर हाजी लालुको गिरोह थियो, जसले जहाँबाद, शेरशाह चिहान र पुरानो गोलीमार जस्ता इलाकाहरूमा हप्ता असुली, लागुऔषध र जबरजस्ती चन्दाको धन्दा चलाउँथ्यो।
ल्यारीका पूर्व एसपी फैयाज खानको भनाइ थियो, ‘एउटै धन्दासँग जोडिएका ती धेरै गिरोहहरूबीच व्यवसायमा प्रतिस्पर्धा पनि थियो र क्षेत्रको विवाद पनि। यी गिरोहहरूको आपसी विरोध धेरै पटक खुनी झडपमा परिणत हुन्थ्यो। यस्तै एउटा झडपमा रहमान बलोचका काका ताज मोहम्मद विरोधी गिरोह बाबु डँकैतको हातबाट मारिएका थिए।’ रहमानको कथा सुनाउने नेताले बताए, ‘त्यतिबेला रहमानको मित्रता दुई दाजुभाइ रउफ नाजिम र आरिफसँग भयो, जसका पिता हसन उर्फ हसनुक पनि लागुऔषधको धन्दामा थिए। लागुऔषध र अपराधसँग जोडिएको पृष्ठभूमि भएका ती सबै युवाहरूको मित्रता बिस्तारै एक आपराधिक गिरोहमा बदलियो, जसको नाइके आरिफ नाजिम थिए। रहमान त पछि नाइके बने, तर मूल रूपमा यो आरिफको ग्याङ थियो।’

धुरंधरमा अभिनेता अक्षय खन्ना
लागुऔषधको धन्दाबाट भएको थियो सुरुवात
कराँचीको प्रहरी रेकर्ड अनुसार १३ वर्षको उमेरमा रहमानले ६ नोभेम्बर १९८९ मा कलाकोटको हाजी पिक्चर रोडस्थित गुलाम हुसैनको पसल नजिकै पटका पड्काउन मनाही गर्दा मोहम्मद बख्श नामका व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए। एक अधिकारीले बताए कि यो रहमानको अपराधको दिशामा पहिलो कदम थियो।
प्रहरीका अनुसार सन् १९९२ मा लागुऔषधको धन्दामा रहमानको झगडा नदीम अमीन र उसका साथी नन्नूसँग भयो। यी दुवै लागुऔषध आपूर्तिकर्ता थिए। प्रहरी रेकर्ड अनुसार नदीम अमीन पनि हिस्ट्रीशीटर थिए र उनीमाथि लगभग तीस वटा मुद्दा दर्ता थिए। रहमान र आरिफले नदीम र नन्नू दुवैलाई गोली हानी हत्या गरे। यो रहमानको हातबाट भएको हत्याको पहिलो घटना थियो।
रहमानका कजनले मलाई बताए कि १९९८ मा रशिद मिन्हास रोडसँग जोडिएको इलाका डालमियामा जमिनको विवादमा रहमानका काकाका छोरा (चचेरा भाइ) फतेह मोहम्मद बलोचको हत्या भयो। यो हत्याको आरोप ल्यारीको संगौ लेनका सुलेमान बिरोहीका छोरा गफुरमाथि लाग्यो।
केही प्रहरी अधिकारीहरूका अनुसार सुलेमान बिरोहीको सिन्धका पूर्व मुख्यमन्त्री जाम सादिकसँग व्यापारिक सम्बन्ध थियो, तर रहमानले १९९८ मा सुलेमान बिरोहीलाई नर्थ नाजिमाबादमा डीसी सेन्ट्रल अफिस नजिकै मारिदिए। यो हत्याले रहमानलाई ल्यारीको आपराधिक दुनियाँमा वर्चस्व स्थापित गर्ने बाटोमा लग्यो।
हाजी लालु डनबाट पाए संरक्षण
रहमानका कजनले बताए कि यो बदला लिनका लागि लालुको परिवारले रहमानको परिवारलाई जबरदस्त मद्दत गर्यो। मेरो अनुसन्धान अनुसार जब बाबु डँकैतको हातबाट रहमानका काका ताज मोहम्मदको हत्या भयो, तब लालुले रहमानलाई आफ्नो संरक्षणमा लिए। हाजी लालु अन्डरवर्ल्ड डन थिए। ल्यारी र ट्रान्स ल्यारीमा अपराध जस्तोसुकै होस्, लालु बिना हुन सक्दैनथ्यो। रहमान जे बने, त्यसमा लालुको संरक्षणको धेरै ठूलो हात थियो।
उनका अनुसार, ‘लालुले रहमानको संरक्षण यसकारण गरे किनकि बाबु डँकैत धन्दामा लालुका दुश्मन थिए र बाबुसँग लड्नका लागि लालुलाई युवा र साहसी साथीहरूको आवश्यकता थियो।’ जब रहमानको युवा ग्याङको अपराध बढ्न थाल्यो, बढ्दो दबाबका बीच प्रहरीले यो ग्याङलाई सिध्याउने योजना बनायो।
प्रहरी रेकर्ड अनुसार १८ फेब्रुअरी १९९५ मा जब आरिफ र रहमान आफ्ना साथीहरूसँग उस्मानाबाद मिल्स एरियामा पाक पाइप मिल्सको खाली भवनमा थिए, तब प्रहरीले उनीहरूलाई घेर्यो। प्रहरीको गोलीबाट आरिफ त मारिए तर रहमान पर्खाल नाघेर भागे। सरकारी रिपोर्टमा रहमानले पनि यो घटना स्वीकार गरेका छन्।
आमाको पनि हत्या गरे
यस घटनाको केही महिनापछि नै रहमानले १८ मे १९९५ मा थाना कलाकोटको सीमामा आफ्नी आमा खदिजा बीबीको पनि हत्या गरिदिए। रहमानले अधिकारीहरूलाई बताएअनुसार उनले आफ्नी आमालाई आफ्नै घरमा गोली हानेका थिए। प्रहरीका अनुसार उनलाई शंका थियो कि आमा प्रहरीको सुराकी बनिसकेकी छिन्।
तर यो रिपोर्टको विपरीत मेरा स्रोतहरूको भनाइ छ कि हत्याको कारण वास्तवमा रहमानको ‘आफ्नी आमाको चरित्रमाथिको शंका’ थियो र उनले आफ्नी आमाको हत्या दुश्मन गिरोहको कुनै सदस्यसँग ‘सम्बन्ध भएका कारण’ गरेका थिए। सरकारी रेकर्ड अनुसार १९९५ मा अर्धसैनिक बल रेन्जर्सले रहमानलाई अवैध हतियार र लागुऔषध राखेको आरोपमा गोलीमारबाट गिरफ्तार गर्यो। यस मुद्दामा रहमान साढे दुई वर्षसम्म जेलमा रहे। सरकारी रिपोर्ट अनुसार १० जुन १९९७ मा रहमान बलोचलाई कराँची सेन्ट्रल जेलबाट ल्यारी नजिकै रहेको सिटी कोर्ट ल्याइयो, जहाँबाट उनी फरार भए र बलोचिस्तानको इलाका हुब पुगे।
पाकिस्तानको सरकारी दस्तावेज अनुसार रहमानले फरजाना, शहनाज र सायरा बानो नामका तीन महिलाहरूसँग अलग-अलग समयमा विवाह पनि गरे।
यी तीन श्रीमतीबाट उनका १३ सन्तान भए।
सन् २००६ सम्म रहमान कराँची र बलोचिस्तानका धेरै इलाकामा ३४ पसल, ३३ घर, १२ प्लट र डेढ सय एकड खेतीयोग्य जमिनको मालिक बनिसकेका थिए। उनले केही सम्पत्ति इरानमा पनि किनेका थिए। यद्यपि धेरै अधिकारीहरूको दाबी छ कि २००६ पछिको सम्पत्ति योभन्दा कयौँ गुणा बढी छ। रहमानको राजनीतिक वृत्त र बलोचिस्तानका राजनीतिक तथा जातीय सङ्गठनहरूसँग पनि सम्पर्क बढ्यो।
ल्यारी ग्याङवारको कथा
रहमानले सोधपुछमा बताएका थिए कि उनले हुबमा प्रहरीको ‘अनुमति’ मै जुवाको अड्डा पनि खोलेका थिए र अफिम (जसलाई ल्यारीका मानिसहरू ‘विषहर’ भन्छन्) र चरेस जस्ता लागुऔषधको धन्दा पनि ‘माथिका मान्छेहरू’ को भरपुर मद्दत र अनुमतिमा चलिरह्यो। ल्यारीका पूर्व एसपी फैयाज खानले बताए कि उही जमानामा रहमान, हाजी लालु र उनका छोराहरूले मिलेर लागुऔषध र अपराधको धन्दालाई चरम सीमामा पुर्याए। धेरै ठूला प्रहरी अधिकारीहरूका अनुसार यसै क्रममा रहमानलाई अनुमान हुन थाल्यो कि लालुको प्रभावमा रहेर उनले अपराधको दुनियाँमा आफ्नो छुट्टै स्थान बनाउन सक्दैनन्, त्यसैले अन्ततः एक दिन उनको लालु र उनका छोराहरूसँग खटपट पर्यो।
चाँडै नै यो खटपट ‘खुनी युद्ध’ मा बदलियो र यसको सुरुवात रहमान बलोचका खास मान्छे मामा फैज मोहम्मद उर्फ ‘फैजु’ को अपहरण र हत्याबाट भयो। फैज मोहम्मद रहमानका नातेदार पनि थिए र अजीज बलोचका पिता पनि। उही अजीज बलोच जो रहमान पछि ल्यारी अन्डरवर्ल्डको डन बने। फैजुको यो हत्याबाट एउटा यस्तो युद्धको सुरुवात भयो जसलाई ‘ल्यारी ग्याङवार’ को नामले चिनिन्छ।
मिडिया रिपोर्टहरूबाट थाहा हुन्छ कि रहमान र पप्पु (लालुको छोरा) बीच ल्यारी ग्याङवारमा यति धेरै हत्या र हिंसा भयो कि यसले त्यो इलाकालाई अन्तर्राष्ट्रिय चर्चामा ल्याइदियो। शोधकर्ता र पत्रकार अजीज संघुरको सम्बन्ध पनि ल्यारीसँग छ। उनको दाबी छ कि धेरै वर्षसम्म चलेको ल्यारी ग्याङवारमा कुल मिलाएर सबै गिरोहसँग सम्बन्धित करिब साढे तीन हजार मानिस मारिएका थिए।
रहमानको आतंक रोक्ने प्रयास
जब ल्यारी ग्याङवारले हजारौँ ज्यान लियो, तब इलाकाका प्रमुख मानिसहरूले यो हत्या र हिंसा रोक्ने प्रयास गरे। धेरै स्थानीय नेताहरूले ल्यारीको सिटको प्रतिनिधित्व गर्ने पिपुल्स पार्टीका प्रमुख आसिफ जरदारीसँग भेटघाट गरे। जरदारीका एक परिचितले भने कि लालुसँग कुरा गर्न सकिन्छ कि उनको तर्फबाट रहमान विरुद्ध कारबाही वा आक्रमण हुने छैन, तर रहमानको ग्यारेन्टी कसले लिने?
यस्तो अवस्थामा सबैले बलोच एकता आन्दोलनका नेता अनवर भाइजानसँग अनुरोध गरे कि उनी मध्यस्थकर्ता बनून् र दुवै गिरोहबीच सम्झौताको प्रयास गरून्। अनवर भाइजान लालुका छोरा पप्पुकी श्रीमतीका मामा थिए। ल्यारीमा उनको विशेष सम्मान थियो, तर यो सब तय हुँदै गर्दा रहमानले अनवर भाइजानलाई नै मारिदिए।
रहमानले अनुसन्धानकर्ताहरूलाई बताए कि उनले ८ जनवरी २००५ मा अनवर भाइजानको हत्या त्यसबेला गरे जब उनी एक मलामी (जनाजा) मा सहभागी हुन मेवा शाह रोडबाट जाँदै थिए। सोधपुछका क्रममा रहमानको भनाइ थियो कि पप्पुसँग नातेदारी भएका कारण ‘अनवर भाइजान लालु ग्याङतर्फ झुकाव राख्थे र उनको मध्यस्थता निष्पक्ष थिएन।’
यस हत्याकाण्डले मध्यस्थताका प्रयासहरू तुरुन्तै बन्द भए। अनि आसिफ जरदारी पनि यो भनेर पन्छिए कि रहमानले त मध्यस्थकर्ताको नै हत्या गरिदिए। प्रहरी अधिकारीहरूका अनुसार रहमानले शहरका धेरै महत्त्वपूर्ण व्यापारिक क्षेत्र र बाटोहरूलाई पनि ‘हप्ता असुली’ को कमाईको माध्यम बनाए। उदाहरणका लागि, कराँची बन्दरगाहबाट निस्कने र केमाडीबाट गुज्रने हरेक कन्टेनर रहमानको नेटवर्कलाई ‘भत्ता’ (हप्ता/चन्दा) नदिई जान सक्दैनथ्यो।
कमाइको अर्को माध्यम पनि थियो र त्यो थियो गुटखा। रहमान ग्याङले ल्यारीमा अवैध ढंगले गुटखा बनाउने कारखानाहरू खुलाए। यसपछि गुटखा लागुऔषधभन्दा पनि बढी फाइदाको धन्दा बन्यो।

रहमान डँकैत
रोबिनहुडको छविमा रहमान
धेरै राजनीतिक तथा सरकारी मानिसहरूसँगको कुराकानीबाट थाहा भयो कि शहरका अन्य इलाकामा बलियो हुँदै गएका रहमान त्यसबेलासम्म ल्यारीका बेताज बादशाह बनिसकेका थिए। सन् २००२ सम्म त ल्यारी र आसपासका इलाकामा रहमानको प्रभावको अवस्था यस्तो भइसकेको थियो कि ती इलाकाहरूबाट को प्रान्तीय वा राष्ट्रिय एसेम्बलीको सदस्य बन्ने र को टाउन म्यानेजर हुने, यो फैसला उनैले गर्थे।
र अब उनी पिपुल्स अमन कमिटीका प्रमुख ‘सरदार अब्दुल रहमान बलोच’ कहलाउन थालेका थिए। त्यसबेलासम्म ल्यारीका केही क्षेत्रका लागि रहमान रोबिन हुड जस्तो पात्र बन्दै गइरहेका थिए। अब उनी राजनीतिक रूपमा नाम कमाउने काम गर्न थालेका थिए, जस्तै कि स्कुल र औषधालय खोल्ने।
राज्य मन्त्रिपरिषद्सँग सम्बन्ध राख्ने एक कर्मचारीतन्त्रका अधिकारी (ब्युरोक्र्याट) का अनुसार जब रहमानले मलेर, बर्न्स रोड, गुलिस्तान-ए-जौहर र अन्य टोलमा ‘अमन कमिटीहरू’ बनाए, तब एमक्यूएम (MQM) ले यसलाई एक राजनीतिक चुनौतीका रूपमा देख्यो। यसरी एमक्यूएमको सरकार रहमानलाई कुल्चनका लागि सक्रिय भयो र पार्टीमा यो सोच पैदा भयो कि रहमानको बाटो रोकियोस् ताकि राजनीतिक पक्षलाई जो खतरा छ, त्यसको सामना गर्न सकियोस्।
सरकारी अधिकारीहरूका अनुसार, ‘यस अवसरमा पिपुल्स पार्टीका एक नेता र त्यसबेला आसिफ जरदारीका नजिकका साथीलाई लाग्यो कि रहमान उनका लागि फाइदाजनक साबित हुन सक्छन्, त्यसैले उनले पर्दा पछाडिबाट उनको समर्थन सुरु गरे।’ यी अधिकारीहरू भन्छन् कि रहमान एमक्यूएमको राजनीतिक निशानामा आएपछि एमक्यूएमले रहमानका लामो समयदेखिका जानी दुश्मन अरशद पप्पुको समर्थन सुरु गर्यो। एमक्यूएम लण्डनको कोअर्डिनेसन कमिटीका संयोजक रहेका मुस्तफा अजीजाबादी ल्यारी ग्याङवार वा रहमान बलोचको मामिलामा एमक्यूएमको कुनै पनि प्रकारको सम्बन्ध अस्वीकार गरिरहे।
उनको भनाइ थियो, ‘यो त पाकिस्तान बन्नुभन्दा अघिदेखि नै लागुऔषधका कारोबारीहरूको पुस्ताौँदेखि चल्दै आएको दुश्मनीको शृङ्खला थियो। हाम्रो यिनी सबैसँग कुनै लेनादेना थिएन।’ पाकिस्तानको गुप्तचर संस्थाका एक अधिकारीले बताए, ‘अरशद पप्पुलाई राजनीतिक समर्थनबाट शक्ति मिल्न थाल्यो र राजनीतिक शक्तिहरू पनि रिसाएपछि ल्यारीमा रहमानका लागि फेरि एकपटक बाँच्न गाह्रो हुन थाल्यो। तब रहमानले बलोचिस्तान जानुमा नै आफ्नो भलाई ठाने, तर यसपटक हुब जानुको सट्टा उनले क्वेटाको स्याटेलाइट टाउनमा एक गोप्य ठेगानामा शरण लिए।’
जब जरदारीको फोनले बचायो
बीबीसीलाई प्राप्त अत्यन्त गोप्य रिपोर्टबाट थाहा हुन्छ कि गोप्य जानकारी पाएपछि १८ जुन २००६ मा चौधरी असलमको नेतृत्वमा ल्यारी टास्क फोर्सले क्वेटाको स्याटेलाइट टाउनमा रहमानको त्यो गोप्य अड्डामा अचानक छापा मार्यो। ‘धुरन्धर’ चलचित्रमा चौधरी असलमको भूमिका सञ्जय दत्तले निभाएका छन्। छापा मार्ने क्रममा गिरफ्तारीबाट बच्नका लागि छतबाट हाम फालेर भाग्ने प्रयासमा रहमानको खुट्टा भाँचियो।
एक स्रोतले बतायो कि घाइते रहमानलाई पक्राउ गरियो तर यो गिरफ्तारी कहिल्यै सरकारी रेकर्डमा देखाइएन।
रहमानको कथा बताउने नेताले भने कि हुनसक्थ्यो ‘इन्काउन्टर’ (मुठभेड) को अवस्था आउँथ्यो होला, तर त्यति नै बेला एउटा नाटकीय कुरा भयो र चौधरी असलमको फोनको घण्टी बज्न थाल्यो। यस मामिलाको पूर्ण जानकारी राख्ने राजनीतिज्ञले दाबी गरे कि चौधरी असलमले उनलाई आफैँ बताएका थिए कि उनी रहमान जस्ता खतरनाक अपराधीहरू विरुद्धको यस्तो कारबाहीमा कहिल्यै आफ्नो व्यक्तिगत फोन लिएर जाँदैनथे, किनकि मुठभेडको स्थितिमा कलर डेटा रेकर्डिङ (सीडीआर) वा जियो फेन्सिङबाट अदालतमा साबित हुन सक्थ्यो कि चौधरी असलम त्यस समय कहाँ थिए। ती नेताले भने कि त्यसैले चौधरी यस्तो अवसरका लागि एउटा यस्तो फोन प्रयोग गर्थे जसको नम्बर केवल तीन वा चार जना शीर्ष अधिकारीहरू बाहेक अरू कसैलाई थाहा हुँदैन थियो।
उनका अनुसार रहमानको यो (कहिल्यै सार्वजनिक नगरिएको) गिरफ्तारीको समयमा पनि चौधरी असलम त्यही गोप्य फोन प्रयोग गरिरहेका थिए र केवल ‘शीर्ष अधिकारी’ सँग सम्पर्कमा थिए। ती नेताका अनुसार, ‘चौधरी असलमले मलाई बताए कि जस्तै उनले रहमानलाई हिरासतमा लिए, अचानक त्यो फोनमा एउटा अपरिचित नम्बरबाट कल आयो।’
‘चौधरी असलमले फोन उठाउँदा अर्को तर्फ थिए आसिफ जरदारी। उनी छक्क परे कि यो गोप्य नम्बर जरदारी साहब सम्म कसरी पुग्यो।’
चौधरी असलम र आसिफ जरदारीको कुराकानीको जानकारी राख्ने नेताले दाबी गरे कि जरदारी साहबले चौधरी असलमलाई भनेका थिए, ‘नमार्नु। कुनै गलत काम नगर्नु। जति पनि मुद्दाहरू छन्, उसलाई (अदालतमा) पेश गर्नु… इन्काउन्टर नगर्नु।’
सिन्धमा तैनाथ रहने एक शीर्ष अधिकारीको भनाइ थियो, ‘यो स्थितिसँग जुध्नका लागि तुरुन्तै यो निर्णय भयो कि न त प्रहरीले गोली चलाउनेछ, न त रहमानको यो गिरफ्तारी अहिले रेकर्डमा ल्याइनेछ। उसलाई कराँची त पठाइनेछ तर उसलाई गिरफ्तार गरिएको घोषणा सरकारी रूपमा हुनेछैन।’
अर्को एक गोप्य सरकारी दस्तावेज अनुसार, ‘यो अनुसन्धानपछि समस्या भयो कि रहमानलाई अब कहाँ राख्ने किनकि गिरफ्तारी त सार्वजनिक नै गरिएको थिएन। उच्च अधिकारीहरूले यो निर्णय गरे कि रहमानलाई पहिले केही दिन ल्यारी टास्क फोर्सका अधिकारी इन्स्पेक्टर नासिर उल हसनको गार्डेन पुलिस लाइन्सस्थित घरमा राखिनेछ। त्यसपछि त्यस समय कलरीका एसएचओ बहाउद्दीन बाबरको मेट्रोविलस्थित निजी आवासमा पठाइनेछ।’
रहमान इन्स्पेक्टर बाबरको घरबाट ‘नाटकीय ढंग’ ले फरार भए। गोप्य रिपोर्टमा रहमान फरार भएको मिति २० अगस्ट २००६ दर्ता छ। यस अनुसार २० अगस्ट २००६ को रात पाँच हतियारधारी मानिसहरूले आक्रमण गरेर रहमानलाई छुटाए। रहमान फरार हुँदा प्रहरी र अन्य संस्थाका शीर्ष अधिकारीहरूमा हलचल मच्चियो। यता रहमानले फरार हुनासाथ यो हल्ला फिँजाए कि उनी ‘पैसा दिएर छुटेका हुन्।’
रहमानको कथा जान्ने राजनीतिज्ञ र केही प्रहरी अधिकारीहरूका अनुसार सैनिक अधिकारीहरूलाई शंका थियो कि रहमान फरार हुनुमा बाबरको मिलेमतो थियो। इन्स्पेक्टर बाबर ३१ डिसेम्बर २०१३ मा आफैँ एक आक्रमणमा मारिएकाले उनको पक्ष थाहा हुन सकेन। फरार भएपछि रहमानले ल्यारी पुगेर फेरि हत्या र हिंसाको बजार तताए। अब रहमानले पिपुल्स पार्टीका लागि पनि समस्याहरू खडा गर्न थाले।
मिडियाको अनुसन्धानबाट स्पष्ट छ कि एक समय यस्तो आयो कि ल्यारीमा टाउन म्यानेजरका लागि पिपुल्स पार्टीका उम्मेदवार मलिक मोहम्मद खानको हार भयो र रहमानको समर्थन पाएका स्वतन्त्र उम्मेदवार विजयी भए। जब सन् २००८ मा पिपुल्स पार्टीको सरकार आयो र आसिफ जरदारी पहिलो पटक देशको राष्ट्रपति बने, तब रहमानको प्रभाव भएका स्थानीय नेताहरू र पिपुल्स पार्टीबीच खटपट हुन थाल्यो। जसले गर्दा पिपुल्स पार्टी र रहमानबीच विवाद भयो।
रहमानसँग पिपुल्स पार्टीको यो नाराजगी पूरै ‘सिस्टम’ मा दर्ता अवश्य भयो। त्यही बेला एक दिन सिन्धका तत्कालीन गृहमन्त्री र आसिफ जरदारीका नजिकका साथी जुल्फिकार मिर्जा सिन्धका गभर्नर डाक्टर इशरतुल इबाद कहाँ पुगे। डा. इशरतुल इबादले बताए कि जुल्फिकार मिर्जाले भने कि ल्यारीका मामिला गम्भीर भएका छन्। ‘हत्या र हिंसा बढिरहेको छ। सरकारको तर्फबाट प्रहरीलाई निर्देशन दिइयोस् कि ल्यारीका गिरोहहरू विरुद्ध कारबाही गरियोस्।’ पूर्व गभर्नरले भने, ‘मैले डाक्टर साहबलाई भनें कि राज्यको गृहमन्त्री त तपाईं नै हुनुहुन्छ। तपाईं आदेश जारी गर्नुहोस्। उनीहरूमाथि नै प्रहरीलाई निर्देशन दिन सकिन्छ। यसपछि जुल्फिकार मिर्जाले जारी गरेको आदेशमा प्रहरीलाई निर्देशन दिइयो कि ल्यारी मात्र होइन पूरै राज्यमा कानुन व्यवस्था जुनसुकै मूल्यमा कायम राखियोस् र कारबाही तीव्र पारियोस्।’
कसरी प्रहरीले रहमानलाई समात्यो?
अब रहमान तीन तिरबाट घेरिइसकेका थिए। एकातिर एमक्यूएम ‘रंगदारी/हप्ता असुली’ र राजनीतिक पकडका कारण रिसाएको थियो।
अर्कोतिर पिपुल्स पार्टी पनि रुष्ट थियो। तेस्रोतिर प्रहरी अधिकारीको घरबाट फरार भएको र प्रहरीलाई पैसा दिएर भागेको हल्ला फैलाएको कारण सारा प्रहरी र विशेष गरी चौधरी असलम पनि रहमानसँग रिसाएका थिए।
हरतर्फबाट यही नाराजगी रहमानलाई महँगो, अझ धेरै महँगो पर्यो। नेताले बताए कि खतरामा घेरिएको महसुस यति धेरै थियो कि अचानक ८ अगस्ट २००९ मा रहमानले आफ्ना नजिकका र भरपर्दा साथीहरूलाई बोलाए र भने कि हाललाई आउजाउ कम गरियोस्। ‘यदि धेरै नै जरुरी भएमा आउजाउका लागि गाडीको सट्टा मोटरसाइकलको प्रयोग गरियोस्।’
‘यता रहमानको खोजीमा अत्यन्त सक्रिय चौधरी असलम एक सुराकीसम्म पुगे। भोलिपल्टै ९ अगस्ट २००९ मा जब रहमान आफैँ बलोचिस्तान जाने प्रयास गरे, तब चौधरी असलमलाई उनका सुराकी मार्फत रहमान कराँचीबाट निस्कने प्रयास गरिरहेको कुरा थाहा भयो।’
ती नेताका अनुसार रहमान र उनका तीन नजिकका साथीहरू अकील बलोच, नजीर बलोच र औरंगजेब बलोच मोटरसाइकलमा पुरानो गोलीमार पुगे, जहाँबाट एक गाडीमा यी सबै बलोचिस्तानको इलाका मन्द तर्फ लागे। नेताले दाबी गरे कि जबसम्म चौधरी असलमले सुराकीबाट जानकारी पाए, तबसम्म रहमान कराँचीको सीमाबाट निस्किसकेका थिए। अब असलम र उनको टोलीका सदस्यहरू रहमानको खोजीमा निस्किए।
चूंकि रहमान र उनका साथीहरू धेरै टाढा गइसकेका थिए, त्यसैले असलमलाई सहयोगी गुप्तचर एजेन्सीहरूले फिर्ता हुन सल्लाह दिए। जब चौधरी असलम र उनको टोली फिर्ती यात्रामा गडानी र वन्दरको बीचमा पुग्यो, त्यस समय रहमान र उनका साथीहरू फेरि एकपटक कभरेज क्षेत्रमा आए र फोन मनिटर गर्नेहरूले उनीहरूको सुराग पाए।
भयो के भने, रहमानका साथी नजीर बलोचले आफ्नी श्रीमतीलाई फोन गरेर घर पुग्न लागेको जानकारी दिँदै मनपर्ने खाना बनाउन फरमाइश गरे र यही फरमाइश उनीहरूका लागि मुसीबत बन्यो। नजीर बलोचकी श्रीमतीले सोही काफिलामा रहेका रहमानका साथीकी श्रीमतीलाई पनि फोन गरिन् कि पाहुना (रहमान र उनका साथीहरू) आउँदैछन् र मनपर्ने खाना खाने फरमाइश पनि गरिरहेका छन्। नेताका अनुसार यो सूचना चौधरी असलमलाई दिइयो कि रहमान र उनका साथीहरू आउँदैछन्, त्यसैले उनीहरूको पछि लागियोस्।
चौधरी असलम र उनको टोली त्यो ठाउँमा पुग्यो जसलाई ‘जीरो पोइन्ट’ भनिन्छ, जहाँबाट एउटा बाटो ग्वादर कोस्टल हाइवे र अर्को क्वेटा तर्फ जान्छ। प्रहरीको टोली त्यहाँ उभियो जहाँ यो बाटो अंग्रेजी अक्षर वाई जस्तो आकार लिन्छ, ताकि रहमान र उनका साथीहरू जुन दिशाबाट आए पनि उनीहरूको जम्काभेट प्रहरीसँग होस्, र भयो पनि त्यही।
अन्ततः, एउटा कालो टोयोटा गाडीमा रहमान र उनका साथीहरू आउँदै गरेको देखिए।
नेताले मलाई बताए, ‘त्यसबेलासम्म असलमको टोलीका केही सदस्यहरूले प्रहरीको बर्दीको सट्टा त्यहाँ तैनाथ कोस्ट गार्ड (तटीय रक्षक) को बर्दी लगाएका थिए, ताकि रहमान र उनका साथीहरूले कराँची प्रहरीको बर्दी, विशेष गरी चौधरी असलमलाई देखेर अरू केही नगरून् र उनीहरूलाई अन्जानमै नियन्त्रणमा लिन सकियोस्।’
जे होस्, चौधरी असलम त देखिरहेका थिए कि रहमान आयो, तर स्वयं रहमानलाई अन्दाज भएन कि उनी असलमको घेरामा आइसकेका छन्। जब गाडी रोकियो तब रहमानका साथीहरूले विरोध पनि गरेनन्। परिचय पत्र माग्दा रहमानले नक्कली परिचय पत्र देखाए। त्यसमा उनको नाम शोएब लेखिएको थियो तर योजना अनुसार रहमानलाई त्यहाँ कोस्ट गार्डको बर्दीमा तैनाथ प्रहरी अधिकारीहरूले भने कि तपाईं गएर आफ्नो परिचय पत्र गाडीमा बसेका ‘कर्नेल साहब’ लाई देखाउनुहोस्।
यी ‘साहब’ चौधरी असलम थिए, र जस्तै रहमानले कालो सिसा भएको भिभो गाडीको ढोका खोले, उनको सामना चौधरी असलमसँग भयो। भाग्ने कुनै विचार रहमानको मनमा आउनु भन्दा पहिले नै उनको पछाडि उभिएका प्रहरी अधिकारी मलिक आदिलले उनलाई भित्र धकेले र आफू पनि गाडीमा चढे। नेताका अनुसार सम्भावित प्रहरी इन्काउन्टरको स्थितिमा मृत्यु नजिक देखिन थालेपछि रहमानले असलमलाई प्रस्ताव राखे कि केही लेनदेन गरेर कुरा मिलाउन सकिन्छ, तर असलमले भने, ‘जब लिएको थिइनँ, तब यति बदनाम गर्यौ कि गुप्तचर संस्थाहरूको सोधपुछ भोग्नुपर्यो र अब लिएँ भने के गर्छौ?’
नेताले यो दाबी पनि गरे कि त्यहाँ (जीरो पोइन्ट) बाट ती सबैलाई नेसनल हाइवे स्टिल टाउन लगियो र नर्दन बाइपास हुँदै यो काफिला लिङ्क रोड पुग्यो, र रहमान त्यहाँ प्रहरी इन्काउन्टरमा आफ्ना तीन साथीसहित मारिए। उनको यस दाबीको पुष्टि धेरै अधिकारीहरूले निजी कुराकानीमा त गरे तर ‘अन रेकर्ड’ रहमान ‘डँकैत’ को मृत्युको बारेमा कराँची प्रहरीको सरकारी विज्ञप्ति १० अगस्ट २००९ का सबै अखबारहरूमा छापियो।
अंग्रेजी अखबारहरू ‘डन’ र ‘द नेसन’ ले यस सरकारी विज्ञप्तिको हवाला दिँदै बताए कि रहमान डँकैत र उनका तीन साथी प्रहरीसँगको झडपमा मारिए।
सरकारी विज्ञप्तिमा बताइए अनुसार प्रहरीले रहमान डँकैतको गाडी रोक्ने प्रयास गर्यो तर अभियुक्तहरू भाग्न खोज्दा प्रहरीले बाध्य भएर गोली चलाउनुपर्यो।
प्रहरी इन्काउन्टरमाथि प्रश्न
विज्ञप्तिमा भनियो, ‘रहमान हत्या र फिरौतीका लागि अपहरणका ८० भन्दा बढी घटनाहरूमा वान्टेड (खोजीको सूचीमा) थिए।’ कराँची प्रहरीका प्रमुख वसीम अहमदले पनि पत्रकारहरूलाई बताए कि उनको मृत्यु कराँची प्रहरीको एक धेरै ठूलो सफलता हो। सिन्धका पूर्व गभर्नर डाक्टर इशरतुल इबादको पनि भनाइ छ कि यो एक ‘असली’ प्रहरी इन्काउन्टर थियो।
‘चूंकि यो अपरेसन चौधरी असलम गरिरहेका थिए, सायद त्यसैले केही मानिसहरूलाई शंका भयो होला, तर यस मामिलामा भन्न सकिँदैन कि नक्कली मुठभेड भयो। यस्तो सम्भव छैन कि यस केसमा घरबाट निकालेर मारिएको होस्।’
यस प्रहरी मुठभेडलाई अदालतमा चुनौती दिइयो। ‘डन’ ले आफ्नो १४ अक्टोबर २००९ को रिपोर्टमा बतायो कि रहमानकी विधवा फरजानाले आफ्ना वकिलहरू अब्दुल मुजीब पीरजादा र सैयद खालिद शाह मार्फत सिन्ध हाई कोर्टका प्रधानन्यायाधीश सरमद जलाल उस्मानीको इजलासमा निवेदन दिइन् कि उनका पतिलाई नक्कली मुठभेडमा मारिएको हो।
अदालतले यसमा राज्यका गृह सचिव लगायत कराँची प्रहरी र सिन्ध प्रहरीका प्रमुखहरूलाई अदालतमा उपस्थित हुन आदेश (तलब) पनि दियो, तर रहमानको परिवारका नजिकका स्रोतहरूको भनाइ छ कि उनीहरू आजसम्म मुद्दाको फैसला हुने प्रतीक्षा गरिरहेका छन्। यस्तो देखिन्छ कि रहमान डँकैत राजनीतिक विरोध र ‘सिस्टम’ को नाराजगीका कारण मारिए, तर सिस्टम उनीसँग किन रिसाएको थियो?
ल्यारीको उर्दू आर्ट्स युनिभर्सिटीका पत्रकारिता विभागका पूर्व अध्यक्ष प्रोफेसर (रिटायर्ड) तौसीफ अहमदको भनाइ छ कि ल्यारी ग्याङवारको पर्दा पछाडिको सत्य अर्कै थियो। ‘जुन मारामारी तपाईँले ल्यारीमा देख्नुभयो, त्यसको चुरो (जड) तपाईँले यहाँ पाउनुहुन्न। जड खोज्न बलोचिस्तान जानुपर्नेछ।’
प्रोफेसर तौसीफ अहमदको राय यो छ कि बलोचिस्तानको जातीय आन्दोलनलाई ल्यारीबाट अलग गर्नका लागि राज्य र उसका संस्थाहरूले क्षेत्रमा राजनीतिबाट अपराधको जरा उखेल्नुको सट्टा सधैं यो मौका दिए कि अपराध राजनीतिमाथि हाबी रहोस्। ‘१९७३ मा बलोचिस्तानमा जब सैनिक कारबाही सुरु भयो, तब डर थियो कि ल्यारी कतै बलोच प्रतिरोध आन्दोलनको केन्द्र नबनोस्। त्यसैले ल्यारीलाई अलग राख्नका लागि राज्यका हर्ताकर्ताहरूले उसलाई अपराधको भट्टीमा धकेलिदिए।’
प्रोफेसर तौसीफले भने, ‘सेनाले ल्यारीलाई ग्याङवारको जिम्मा लगायो र पिपुल्स पार्टी यसमा सामेल भयो। पिपुल्स पार्टी ल्यारीको राजनीतिक वारिस थियो। उनीहरूले संघर्षको बाटो अपनाएनन्, सजिलो बाटो अपनाए। उनीहरूले विभिन्न कालखण्डमा ती ग्याङ्स्टरहरूलाई संरक्षण दिए।’
सरदार अब्दुल रहमान बलोच भन्नुहोस् वा रहमान डँकैत, तर एउटा कुरा पक्का हो कि उनको मलामी (जनाजा) ल्यारीको इतिहासका ठूला मलामीहरूमध्ये एक थियो। यसको पाँच वर्षपछि जनवरी २०१४ मा चौधरी असलम तालिबानको आत्मघाती दस्ताको शिकार बने।


