काठमाडौँः खजुरीको नेपाल प्रालिले आफ्ना उत्पादनहरूको गुणस्तरबारे स्पष्ट पारेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिले उत्पादन गर्ने गोदावरी–१०, ललितपुरस्थित उद्योगबाट उत्पादित ब्याच नम्बर बी १ थ्री ए र ब्याच नम्बर बी १ फाइभ ए का पफहरू अखाद्य भेटिएको भन्दै बजारबाट फिर्ता मगाएपछि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा त्यसको गलत प्रचार भएको भन्दै स्पष्ट पारेको हो। कम्पनीले विभागबाट प्राप्त पत्रको आधारमा कम्पनीका उत्पादित सामग्री पूर्णरूपमा हानिकारक भएको जस्तो समाचार आएको भन्दै आपत्ति जनाएको हो।
कम्पनीले Mfg. Unit अन्तर्गत Mfg. Date: 27/11/2025 देखि Exp. Date: 28/01/2026 सम्मका केही ब्याचमा गुणस्तरसम्बन्धी समस्या देखिएको र सम्बन्धित विभागबाट जानकारी आएपछि ती उत्पादनहरू तत्काल बजारबाट फिर्ता लिइसकिएको जनाएको छ। त्यसबाहेक कुनै उत्पादनमा समस्या नरहेको कम्पनीले प्रष्ट्याएको छ।
विगत तीन दशकदेखि विभिन्न खाद्य पदार्थ उत्पादन गर्दै आएको खजुरीकोले भरोसा, गुणस्तर र अन्तर्राष्ट्रियस्तरको मान्यताको कारण निरन्तर लोकप्रिय रहँदै आएको दाबी गरेको छ। कम्पनीले यस्तो त्रुटि विश्वव्यापी उत्पादन प्रणालीमा कहिलेकाहीँ देखापर्न सक्ने प्रकृतिको भएको र आफूले उपभोक्ता सुरक्षालाई सधैं सर्वोच्च प्राथमिकतामा राखेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा सम्पूर्ण उत्पादन सुरक्षित छन्। केही सञ्चार माध्यममा सम्पूर्ण उत्पादन नै गुणस्तरहीन भएको जस्तो प्रस्तुत गरिनु तथ्यहीन र अतिरञ्जित हो।’
कम्पनीले उपभोक्तालाई उत्पादनको म्याद, ब्याच नम्बर र प्याकेजिङ जाँच गरी मात्र खरिद गर्न तथा कुनै समस्या देखिएमा तुरुन्त कम्पनीलाई जानकारी गराउन अनुरोध गरेको छ।



