काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा हाल अमेरिकी डलर र पंहेलो धातु सुन र चाँदीको भाउले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ। सुन र डलरको भाउ बढिरहेका बेला भने कच्चा तेलको भाउ घटेको छ।
कच्चा तेलको भाउ घटेर ब्यारेलको ५६.७४ डलरसम्म झरेको छ। शनिबार कच्चा तेलको भाउ न्यूनतम ५६ देखि ६१ डलरबीचमा कारोबार भइरहेको आयल प्राइस डटकमले जनाएको छ।
डब्ल्युटी क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ५६.५७ डलरमा कारोबार भएर बन्द भएको छ। यस्तै ब्रेन्ट क्रुडमा ६०.६४ र मुरवान क्रुडमा ब्यारेलको ६१.२९ डलरमा कारोबार भएको छ। पछिल्लो समय ६५ डलरको आसपासमा रहेको तेलको भाउ ओरालो लागेको छ।
आउँदो सन् २०२६ मा विश्व तेल बजार कमजोर रहने अनुमान गरिएको छ। वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) को तेलको मूल्य २०२६ को अन्त्यमा ब्यारेलको ६२ डलरमा रहने अनुमान तेल कम्पनीहरुले गरेका छन्।
जुन अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले २०२५ को लागि प्रक्षेपण गरेको औसत ६५.३२ प्रति ब्यारेल भन्दा कम हो।
एजेन्सीले २०२६ मा ब्रेन्ट क्रूडको औसत मूल्य ब्यारेलको ५५.०८ डलर हुने अनुमान गरेको छ भने डब्ल्युटीआईको औसत ५१.४२ प्रति ब्यारेल हुने अपेक्षा गरिएको छ।
यदि ट्रम्प प्रशासन युक्रेन द्वन्द्व अन्त्य गर्न सफल भयो र रूसी प्रतिबन्धहरू हटाइयो भने २०२६ मा तेल बजारहरू अत्यधिक आपूर्ति हुने अनुमान गरिएको छ।
यद्यपि, यदि रूसी प्रतिबन्धहरू जारी रहेमा इरान र भेनेजुएलाबाट तेलको मात्रा घटेसँगै बजारहरू सन्तुलित स्थितिमा पुग्न सक्छन्। तर, अहिले अमेरिकाले भेनजुयलामाथि आक्रामण सुरु गरेको छ।
यसको असर विश्व तेल बजारमा पर्न सक्ने अनुमान गरिएको छ। रुस र युक्रेन युद्ध सुरु भएपछि विश्व बजारमा कच्चा तेलको भाउ आकासिएर ब्यारेलको १४० डलरसम्म पुगेको थियो। त्यसपछि निरन्तर घट्दै आएको छ।
यस्तै आगामी सन् २०२७ र २०२८ मा कच्चा तेल ब्यारेलको औसत ६९, २०२९ र २०३० सम्ममा ब्यारेलको ७५ डलर हुने अनुमान गरिएको छ।
गत चैतमा भाउ घटेर ५६ डलरमा आएको थियो।


