ट्रम्पले ट्रुथ सोशलमा अमेरिकाले भेनेजुएला र यसका नेता राष्ट्रपति निकोलस मादुरोविरुद्ध सफलतापूर्वक ठूलो अपरेशन सम्पन्न गरेको बताएका छन्। उनका अनुसार यो अपरेशन अमेरिकी कानुन प्रवर्तनसँगको सहकार्यमा गरिएको हो। यसको विवरण चाँडै सार्वजनिक गरिनेछ। उनले मार-ए-लागोमा पत्रकार सम्मेलन हुने बताएका छन्।
बीबीसीको अमेरिकास्थित समाचार साझेदार सीबीएस न्यूजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको जनाएको छ। डेल्टा फोर्स अमेरिकी सेनाको सबैभन्दा ठूलो आतंकवाद विरोधी विशेष एकाइ हो।
आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति मादुरोले देशभर आपतकालीन अवस्था घोषणा गरेका छन्। सरकारद्वारा जारी विज्ञप्तिमा अमेरिकी सैन्य आक्रमणको कडा निन्दा गर्दै यसलाई देशको सार्वभौमिकतामाथिको गम्भीर हस्तक्षेप भनिएको छ। मादुरोले यो आक्रमण भेनेजुएलाको तेल र खनिज स्रोत कब्जा गर्ने प्रयास भएको आरोप पनि लगाएका छन्।
आक्रमणहरू सर्वसाधारण बसोबास गर्ने आवासीय क्षेत्रहरूमा भएको बताइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार सैन्य विमानस्थल ला कार्लोटा र काराकसको केन्द्रमा रहेको मुख्य सैन्य अड्डा फुएर्टे ट्युना विस्फोटबाट प्रभावित भएका छन्। दुवै स्थानमा भएका विस्फोटका भिडियोहरू पनि सार्वजनिक भएका छन्। सीबीएस न्यूजका अनुसार ट्रम्प प्रशासनका अधिकारीहरूलाई शनिबार बिहानै काराकसमाथि विस्फोट र सैन्य विमान उडेको रिपोर्टबारे जानकारी गराइएको थियो।
यो घटनाक्रम राष्ट्रपति मादुरोमाथि ट्रम्प प्रशासनको हप्तौँदेखि जारी दबाबपछि आएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले मादुरोमाथि अमेरिकामा लागूपदार्थ तस्करी र अपराध फैलाउन संलग्न रहेको आरोप लगाउँदै आएका छन्।
यसैबीच, भेनेजुएला सरकारले अमेरिकी सैन्य आक्रमणको अस्वीकार र निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष कडा आपत्ति जनाएको छ। ‘संयुक्त राज्य अमेरिकाको वर्तमान सरकारले भेनेजुएला विरुद्ध गरेको अत्यन्तै गम्भीर सैन्य आक्रमणलाई हामी अस्वीकार गर्छौं र निन्दा गर्छौं,’ सरकारी विज्ञप्तिमा भनिएको छ।
काराकसका विभिन्न क्षेत्रमा एकैसाथ सुनिएका विस्फोटहरूले देशलाई तनावपूर्ण अवस्थामा पुर्याएको छ भने आक्रमणको वास्तविक क्षति र मानवीय असरबारे थप विवरण आउन बाँकी छ।
कोलम्बियाको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै अमेरिकी हमलामा भेनेजुएलाको सदन ध्वस्त भएको बताएको छ। अमेरिकी हमलामा भेनेजुएलाका दुई विमानस्थल र कयौँ सैन्य अखडामा पनि हमला गरिएको उल्लेख विज्ञप्तिमा छ।







