२०८३ कार्तिक १२ गते बुधबार

मादुरोलाई नियन्त्रणमा लिएर ट्रम्पको घोषणा– भेनेजुएला अमेरिकाले चलाउँछ, यस्तो छ त्यहाँको नालिबेली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २०
maduro

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी न्यूयोर्क लगेर लागूऔषध तस्करीसम्बन्धी अभियोगमा पेस गरेपछि भेनेजुएलालाई अस्थायी रूपमा अमेरिकी नियन्त्रणमा राख्ने घोषणा गरेका छन्।

फ्लोरिडास्थित आफ्नै मार-आ-लागो रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘सुरक्षित, उचित र विवेकपूर्ण रूपमा सत्ता हस्तान्तरण हुन नसकुन्जेलसम्म हामी देश सञ्चालन गर्नेछौँ। भेनेजुएलाली जनताको हित नसोच्ने कुनै अर्को व्यक्ति सत्ता सम्हाल्ने जोखिम हामी लिन सक्दैनौँ।’

ट्रम्पका अनुसार, नियन्त्रणको हिस्साका रूपमा विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको भेनेजुएलामा ठूला अमेरिकी तेल कम्पनीहरू प्रवेश गर्नेछन् र वर्षौंदेखि जीर्ण बनेको तेल पूर्वाधारको पुनर्निर्माण गर्नेछन्। विज्ञहरूका अनुसार यो प्रक्रिया वर्षौं लाग्न सक्छ।

ट्रम्पले लागूऔषध तस्करीसम्बन्धी अभियोगमा मादुरोलाई पक्राउ गरेको दावी गरे पनि आलोचकहरूले अमेरिकाले भेनेजुएलाको विशाल कच्चा तेल भण्डार उत्खननका लागि उक्त कदम चालेको आलोचकहरूको आरोप छ। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरोको हतकडी लगाएका तस्बिरहरू सार्वजनिक गरेको छ। अमेरिकाको हमलापछि भेनेजुएला सरकारलेतेल र खनिजहरू कब्जा गर्न अमेरिकाले प्रहार गरेको बताएको छ।

आलोचकहरूले ट्रम्पले गरेको पत्रकार सम्मेलनमा ट्रम्पले तेलमा दिएको जोडले मादुरोको गिरफ्तारी र कथित लागूऔषध तस्करी गर्ने डुंगामाथि भएका घातक क्षेप्यास्त्र आक्रमणलाई केवल कानुन कार्यान्वयनको कारबाहीका रूपमा चित्रण गर्ने अमेरिकी प्रशासनको दाबीमाथि प्रश्न उठाएको बताएका छन्। ट्रम्पका अनुसार रातभर सञ्चालन गरिएको नाटकीय कारबाहीका क्रममा काराकासका केही भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। सैनिक प्रतिष्ठानहरूमा आक्रमण गरिएको छ। सोही क्रममा अमेरिकी विशेष बलले मादुरोलाई उनका सुरक्षित आश्रयस्थलमध्ये एक वा नजिकैबाट पक्राउ गरेको थियो।

मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई समुद्रमा तैनाथ अमेरिकी नौसेनाको जहाजमा लगेर त्यसपछि शनिबार साँझ अमेरिकामा उडाइयो।

भिडियो फुटेजमा न्यूयोर्क सिटीबाट करिब ९७ किलोमिटर उत्तर-पश्चिममा रहेको स्टुअर्ट अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गरेको र त्यसमा अमेरिकी सुरक्षा अधिकारीहरू चढिरहेको देखिन्छ। अमेरिकी न्याय मन्त्रालयका एक अधिकारीले मादुरो न्यूयोर्क पुगेको पुष्टि गरेका छन्। पछि भारी प्रहरी सुरक्षासहित ठूलो कन्भोय ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा पुगेको दृश्य पनि देखाइएको छ।

नार्को–आतंकवाद षड्यन्त्रलगायत विभिन्न अभियोगमा मुद्दा दायर गरिएका मादुरो सोमबार म्यानहट्टनस्थित संघीय अदालतमा प्रारम्भिक पेसीमा उपस्थित हुने अपेक्षा गरिएको छ। उनकी पत्नीमाथि पनि कोकिन आयात षड्यन्त्रलगायत अभियोग छन्।

ट्रम्पले भेनेजुएलालाई कसरी सञ्चालन गर्ने योजना बनाएका छन् भन्ने कुरा स्पष्ट छैन। अमेरिकी सेनाको देशमाथि प्रत्यक्ष नियन्त्रण छैन र मादुरोको सरकार अझै पनि सत्ता सञ्चालनमै रहेको देखिन्छ तथा वासिङ्टनसँग सहकार्य गर्ने कुनै इच्छा पनि देखाएको छैन। ट्रम्पले अमेरिका पछि हटेपछि भेनेजुएलाको नेतृत्व कसले गर्ने भन्नेबारे केही बताएका छैनन्।

मादुरोकी सम्भावित उत्तराधिकारी तथा भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेज शनिबार दिउँसो अन्य शीर्ष अधिकारीहरूसँग टेलिभिजनमा देखा परिन् र यस घटनालाई ‘अपहरण’ भन्दै आलोचना गरिन्। ‘हामी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसको तत्काल रिहाइको माग गर्छौं,’ रोड्रिगेजले भनिन्। एक भेनेजुएलाली अदालतले रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न आदेश दिएको छ।

अमेरिकामा केही कानुनी विज्ञहरूले विदेशी राष्ट्रका राष्ट्रप्रमुखलाई नियन्त्रणमा लिने कारबाहीको वैधानिकतामाथि प्रश्न उठाएका छन्। डेमोक्र्याट नेताहरूले हालैका ब्रिफिङमा आफूहरूलाई भ्रममा पारिएको भन्दै अबको योजना स्पष्ट गर्न माग गरेका छन्।

सम्भावित सत्ता रिक्तता
भेनेजुएलामा शनिबार सडकहरू प्रायः शान्त देखिएका छन्। केही स्थानमा सैनिक गस्ती भइरहेको छ भने काराकासमा साना मादुरो समर्थक समूहहरू भेला भएका छन्। तर केही नागरिकले राहत महसुस गरेका छन्। माराकाय शहरकी ३७ वर्षीया व्यापारी क्यारोलिना पिमेन्टेलले भनिन्, ‘म खुसी छु। एकछिन त यो फिल्मजस्तो लागेर भइरहेको छ भन्नेमा शंका लाग्यो।’

विदेश मन्त्री मार्को रुबियो र रक्षामन्त्री पिट हेगसेथको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकी सरकारले भेनेजुएलालाई कसरी चलाउने भन्नेबारे दोहोरिएका प्रश्नहरूको ठोस जवाफ दिएनन्। आफ्नो पछाडि उभिएका व्यक्तिहरू, रुबियो र हेगसेथजस्ताले देशको जिम्मेवारी सम्हाल्ने ट्रम्पले बताए। उनले अमेरिकी सेना भेनेजुएलामा पठाउन खुला रहेको पनि बताए। ‘हामी जमिनमा सेना उतार्न डराउँदैनौँ,’ उनले भने।

१२ वर्षभन्दा बढी समय कडा शासन गरेको भन्दै आलोचित मादुरोको पतनले कोलम्बिया, ब्राजिल, गुयाना र क्यारिबियन क्षेत्रसँग सीमा जोडिएको भेनेजुएलामा सत्ता रिक्तता सिर्जना गर्न सक्ने विश्लेषकहरूको भनाइ छ। ट्रम्पले विपक्षी नेता मारिया कोरिना माचाडोसँग सहकार्यको सम्भावना सार्वजनिक रूपमा अस्वीकार गरे। गत वर्ष नोबेल शान्ति पुरस्कार पाएकी माचाडोसँग कुनै सम्पर्क नभएको भन्दै ट्रम्पले भने, ‘उनीसँग देशभित्र समर्थन र सम्मान छैन।’

विगतका सत्ता परिवर्तनको सम्झना
भेनेजुएलामा खुला अवधिको सैन्य उपस्थितिको संकेत गर्ने ट्रम्पका अभिव्यक्तिले इराक र अफगानिस्तानका अघिल्ला अमेरिकी आक्रमणहरूको सम्झना दिलाएको छ, जुन वर्षौं लामो र महँगो कब्जापछि अमेरिकी फौज फिर्ता भए। ट्रम्पले आफूले नेतृत्व गरेका सैन्य कारबाही ‘सबै जित मात्र’ भएको दाबी गरे, तर तीमध्ये कुनै पनि अर्को देशको नेता हटाउने कारबाही थिएनन्।

ट्रम्पले विगतमा इराक युद्धलाई ‘ठूलो गल्ती’ भनेका थिए र २०२१ मा ‘दशकौँमा कुनै नयाँ युद्ध सुरु नगर्ने आफू अमेरिकी पहिलो राष्ट्रपति’ भएकोमा गर्व व्यक्त गरेका थिए।

शनिबारको घटनाअघि, अमेरिकाले ३७ वर्षअघि पनामा आक्रमण गरेर नेता म्यानुअल नोरेगालाई हटाएपछि यस क्षेत्रमै यस्तो प्रत्यक्ष हस्तक्षेप गरेको थिएन। अमेरिकाले मादुरोमाथि पनि लागूऔषध तस्करी चलाएको र २०२४ को निर्वाचन धाँधली गरेको आरोप लगाएको छ।

६३ वर्षीय पूर्व बस चालक मादुरोले यी आरोप अस्वीकार गर्दै वासिङ्टन भेनेजुएलाको तेल भण्डार नियन्त्रण गर्न चाहेको आरोप लगाउँदै आएका छन्। ट्रम्पको कदमले १८२३ मा राष्ट्रपति जेम्स मोनरोले प्रस्तुत गरेको ‘मोनरो सिद्धान्त’ र १९०० को दशकको ‘गनबोट कूटनीति’ को स्मरण गराएको छ। ट्रम्पले मजाकिया शैलीमा यसलाई ‘डोनरो सिद्धान्त’ भन्न सकिने संकेत पनि गरे।

लाटिन अमेरिकी धेरै सरकारहरूले मादुरोलाई अस्वीकार गरे पनि भेनेजुएलाको नियन्त्रण र तेल उपयोगबारे ट्रम्पका अभिव्यक्तिले विगतका अमेरिकी हस्तक्षेपका पीडादायी सम्झना ताजा गराएको छ। अर्जेन्टिनाका राष्ट्रपति हाभियर माइलेइले भेनेजुएलाको ‘नयाँ स्वतन्त्रता’ को प्रशंसा गरे भने मेक्सिकोले हस्तक्षेपको निन्दा गर्‍यो र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यसलाई ‘अस्वीकार्य सीमा पार’ भने।

रूस र चीनले पनि अमेरिकी कदमको आलोचना गरेका छन्। चीनको विदेश मन्त्रालयले यसलाई अन्तर्राष्ट्रिय कानुन र भेनेजुएलाको सार्वभौमिकताको गम्भीर उल्लंघन भनेको छ।

अमेरिकाभित्र ट्रम्पका लागि राजनीतिक जोखिम
भेनेजुएलाको कब्जाले ‘हामीलाई एक पैसासमेत खर्च हुँदैन’ भनेर ट्रम्पले भनेका छन्। किनकि खर्च भेनेजुएलाको जमिनबाट निस्कने पैसा(तेल)ले पूर्ति हुने उनकोले दाबी गरे। यस्तो तर्कले २००३ को इराक युद्धको सम्झना गराएको छ, जसको वास्तविक लागत कम्तीमा २ ट्रिलियन डलर पुगेको थियो।

विदेश नीति केन्द्रित कदमले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि डेमोक्र्याटहरूलाई ट्रम्पविरुद्ध आलोचना गर्ने आधार दिएको छ। मतदाताहरूको मुख्य चिन्ता विदेश नीति होइन, घरेलु महँगी रहेको जनमत सर्वेक्षणले देखाएका छन्।

यस कदमले ‘अमेरिका फर्स्ट’ समर्थक केही आफ्नै समर्थकहरू पनि विमुख हुन सक्ने जोखिम छ। जर्जियाकी रिपब्लिकन नेतृ मार्जोरी टेलर ग्रिनले सामाजिक सञ्जालमा लेखिन्, ‘मागा समर्थकहरूले अन्त्य गर्न भोट दिएको यही हो भन्ने ठानेका थियौँ। हामी कति गलत रहेछौं।’

प्रकाशित: २०८२ पुस २० गते आईतबार ०९:४५
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना