२०८३ कार्तिक १२ गते बुधबार

भेनेजुएलामा अमेरिकी हस्तक्षेप, राजधानी सुनसान, सडकहरू खाली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २०
venzuela
एजेन्सी: भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएर न्युयोर्क लगिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले कम्तीमा अस्थायी रूपमा भेनेजुएला चलाउने र यसको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने योजना बनाएको बताएका छन्।
उनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र ठूलो परिमाणमा तेल निर्यात गर्ने तयारी रहेको बताए। यो नाटकीय घटनाक्रम दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामाथि ट्रम्प प्रशासनले महिनौँदेखि गर्दै आएको गहिरो दबाब र गोप्य योजनाको परिणामका रूपमा देखिएको छ। सन् २००३ मा इराक आक्रमणपछि शासन परिवर्तन हासिल गर्ने यो सबैभन्दा आक्रामक अमेरिकी कदम मानिएको छ। तर, कङ्ग्रेसको स्वीकृति बिना गरिएको यस सैन्य कारबाहीको कानूनी वैधतामाथि कानूनी विज्ञहरूले तुरुन्तै प्रश्न उठाएका छन्।
मदुरो र उनकी पत्नी सिलिया फ्लोर्सलाई राजधानी काराकासस्थित एक सैन्य आधारको निवासबाट रातारात नियन्त्रणमा लिई अमेरिकी युद्धपोतमार्फत अमेरिका लगिएको थियो। उनीहरूलाई ‘नार्को–आतंकवाद’ षड्यन्त्रमा संलग्न भएको आरोपमा अभियोजनका लागि ल्याइएको अमेरिकी अधिकारीहरूले बताएका छन्। मदुरोलाई बोकेको विमान शनिबार अपराह्न न्युयोर्क नजिकै अवतरण गरेपछि सङ्घीय एजेन्टहरूको कडा सुरक्षाबीच उनलाई म्यानहट्टनस्थित अमेरिकी लागुऔषध नियन्त्रण प्रशासन (डिइए) कार्यालय लगिएको थियो। ब्रुकलिनको सङ्घीय जेलमा मुद्दाको पर्खाइमा उनलाई हिरासतमा राखिने अनुमान गरिएको छ।
ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको भिडियोमा मदुरो मुस्कुराउँदै डिइए एजेन्टहरूको साथमा देखिएका छन्। यद्यपि अमेरिकी अधिकारीहरूले तत्काल उनी जेलमा रहेको औपचारिक पुष्टि गरेका छैनन्। यस कदमबारे भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले कडा आपत्ति जनाउँदै मदुरोलाई तत्काल रिहा गरी देशको वैध नेता मान्नुपर्ने माग गरेकी छन्। भेनेजुएलाको कानुनअनुसार उनले अन्तरिम भूमिका ग्रहण गर्न सक्ने व्यवस्था भए पनि रोड्रिग्जले राज्य टेलिभिजनमार्फत आफू सत्ता लिन इच्छुक नरहेको र ‘भेनेजुएलामा एक मात्र राष्ट्रपति निकोलस मदुरो मोरोस नै हुनुहुन्छ’ भन्ने धारणा व्यक्त गरिन्।
ट्रम्प प्रशासनले यो अपरेसनलाई अमेरिकामा लागुऔषधको अवैध प्रवाह रोक्ने कदमका रूपमा व्याख्या गरेको छ। राष्ट्रपति ट्रम्पले मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ‘सुरक्षित र विवेकपूर्ण सङ्क्रमण सम्भव नहुन्जेलसम्म अमेरिकाले भेनेजुएलाको प्रशासनमा सहयोग गर्ने’ बताए। उनले यसलाई अमेरिकी सार्वभौमिकता र नागरिकको सुरक्षामाथि खतरा पु¥याउनेहरूप्रति कडा चेतावनीका रूपमा पनि वर्णन गरे।
शनिबार बिहान काराकासमा विस्फोटहरू सुनिनुका साथै कम उचाइमा सैन्य विमानहरू उडेको देखिएको थियो। भेनेजुएलाको सरकारले यसलाई ‘साम्राज्यवादी आक्रमण’ भन्दै नागरिक र सैन्य प्रतिष्ठानहरूमा क्षति पुगेको आरोप लगाएको छ’। आक्रमण करिब ३० मिनेट चलेको बताइन्छ। उपराष्ट्रपति रोड्रिग्जका अनुसार केही नागरिक र सुरक्षाकर्मी मारिएका छन्, तर सङ्ख्या खुलाइएको छैन। अमेरिकी पक्षले भने केही सैनिक घाइते भए पनि मृत्यु नभएको जनाएको छ।
मदुरोको कब्जापछि काराकासका केही क्षेत्रमा समर्थकहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरे भने अन्य स्थानहरू सुनसान देखिए। बिजुली अवरुद्ध भएका क्षेत्रहरूमा त्रासको वातावरण थियो। ‘सबैजना डराएका छन्, धेरै परिवार सुत्न सकेनन्,’ काराकासका बासिन्दा नोरिस प्रादाले भने।
यसबीच, अमेरिकाको फ्लोरिडास्थित डोरल सहरमा ठूलो भेनेजुएलाली समुदायले मदुरोको पतनलाई स्वागत गर्दै उत्सव मनाएको देखियो।
अन्तर्राष्ट्रिय रूपमा पनि यस घटनाले तरङ्ग ल्याएको छ। कोलम्बियाको आग्रहमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भेनेजुएलामा अमेरिकी सैन्य अपरेसनबारे छलफल गर्न आपतकालीन बैठक बोलाउने तयारी गरेको कूटनीतिक स्रोतहरूले जनाएका छन्। अमेरिकी कङ्ग्रेसका दुवै दलका केही सांसदहरूले कङ्ग्रेसको स्वीकृति बिना गरिएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रशासनसँग यसको कानुनी आधार र क्षेत्रीय स्थिरताबारे स्पष्ट जवाफ माग गरेका छन्।

अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास शनिबार शान्त र सुनसान देखिएको छ। बिहान सबेरै गरिएको सैन्य कारबाहीपछि विस्फोटको गन्ध अझै शहरभर फैलिएको थियो भने त्रसित बासिन्दाहरू घटनाको असर बुझ्ने प्रयासमा देखिन्थे।

राष्ट्रपति निकोलस मादुरोका केही सय समर्थकहरू उनको रिहाइको माग गर्दै जम्मा भए पनि त्यसबाहेक शहरका अधिकांश सडकहरू अस्वाभाविक रूपमा खाली थिए। ६० लाख जनसङ्ख्या भएको शहरकी ५८ वर्षीया बासिन्दा मारिया युजेनीय एस्कोबारले विस्फोटले निद्राबाट उछिट्टिएको अनुभव सुनाउँदै आफू भावुक भएको बताए।

स्थानीय समयअनुसार बिहान करिब २ बजे दर्जनौँ विस्फोटका आवाज सुनिएको जनाइएको छ। सुरुमा केहीले आतसबाजी ठानेका ती आवाजले झ्यालहरू हल्लिएका थिए र सैनिक विमानहरू घरमाथि उडिरहेका देखिएका थिए। काराकासको प्रमुख सैनिक केन्द्र नजिकको कोचे क्षेत्रमा बस्ने एक बासिन्दाले विमानको आवाज अत्यन्त डर लाग्दो भएको बताए।

शहरका विभिन्न भागबाट धुवाँका मुस्ला उठेको देखिएको थियो भने वातावरण कुहिरोजस्तै धुवाँले ढाकिएको थियो। प्रत्यक्षदर्शीहरूले विमानस्थल र बन्दरगाह रहेको ला ग्वाइरा, पश्चिमतर्फको मराकाय तथा पूर्वतर्फको हिगुएरोते क्षेत्रमा पनि बमबारी भएको बताएका छन्।

आक्रमणपछि मादुरोलाई अमेरिकी विशेष फौजले नियन्त्रणमा लिई न्युयोर्क लगिएको खबर बाहिरिएपछि समर्थकहरू राजधानीमा भेला भएर नाराबाजी गर्न थाले। विश्वविद्यालय प्राध्यापक कातिया ब्रिसेञोले विदेशी सरकारले आएर राष्ट्रपति हटाउनु अस्वीकार्य भएको बताउँदै आक्रोश व्यक्त गरिन्।

प्रदर्शनकारीबाहेक शहरमा सर्वसाधारणको आवतजावत निकै कम देखिन्थ्यो। कालो पोशाकधारी सुरक्षाकर्मीहरू हतियारसहित केन्द्रिय क्षेत्रमा गस्ती गरिरहेका थिए। धेरै पसलहरू बन्द थिए भने केही खुलेका पसलमा सीमित सङ्ख्यामा मात्र ग्राहकलाई प्रवेश दिइएको थियो।

विस्फोटबाट भएको क्षति मुख्यतया सैनिक संरचनामा सीमित रहेको जनाइएको छ। रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले आवासीय क्षेत्रमा पनि आक्रमण भएको आरोप लगाएका छन्।

प्रकाशित: २०८२ पुस २० गते आईतबार १२:३८
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना