नेपालगञ्ज: युवाकवि तथा पत्रकार बीपी अस्तुको एकल कविता वाचन सम्पन्न भएको छ। बाँकेको नेपालगञ्जस्थित नेपालगन्जस्थित वेस्टर्न मार्टमा बीपीको कविता वाचन सम्पन्न भएको हो। कार्यक्रमको आयोजना ‘अन्तराल’ ले गरेको हो। ‘अन्तराल’ले विगत १८ वर्षदेखि विभिन्न साहित्यिक/सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको छ।
कार्यक्रममा सङ्गीतको सुमधुर धुनसँगै उनले १५ वटा उत्कृष्ट कविताहरू सुनाएका थिए। एकल कविता वाचन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, जगदम्बाश्री पुरस्कारले पुरस्कृत वरिष्ठ संगीतकर्मी प्रेमदेव गिरी, लेखक/कविहरू नवराज लम्साल, ऋचा लुइँटेल, नरेन्द्रजंग पिटर, भोजराज शर्मा, नवीन अभिलाषीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा कवि बीपीले ‘हामी त पिरती लाउथ्यौँ’, ‘एकदिन रुख हुनेछु’, ‘नखस्नु’, ‘थुप्रै कारण’, ‘बिर्सेछौँ’, ‘वागाम्भृणि’, ‘आत्मबन्दी’, ‘गन्तव्य’, ‘डरपोक समय’, ‘डिप फेक’, प्रेमकल्प’, ‘दाग’ लगायत डेढ दर्जन कविता वाचन गरेका थिए।
बीपीलाई पार्श्व संगीतमा गायक महेन्द्र सेडाई, तबलामा अनुभव अधिकारी, हमिङमा भोकलिष्ट सुरज घिमिरे, गितारमा रेनिस सेडाई र बाँसुरीमा समराज पोखरेलले साथ दिएका थिए। ‘अन्तराल’ले कवितामा पार्श्व संगीतको पहिलो कार्यक्रम गरेको हो। यसअघि साहित्यकै गजल विधामा भोजराज शर्मा नादिरका गजल गायनको कार्यक्रम गरेको थियो। टिकटमा साहित्य कार्यक्रम गर्दै आएको ‘अन्तराल’ले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने तयारी गरेको छ।
‘अब यस्तो कार्यक्रमको आयोजनालाई निरन्तरता दिनेछौँ । अहिले एआईले गीत गाउने समयमा कवि र संगीतकर्मीहरुलाई आँखै अघि बसेर पलेटीमा सुन्ने कार्यक्रम अर्थपूर्ण र प्रभावकारी हुनेछ भन्ने हाम्रो विश्वास छ,’ अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए।


