काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिवेशनमा आफ्नो प्रतिवेदन पेस गरेका छन्। जहाँ उनले देशको नेतृत्व गरेका दलहरूले गर्नुपर्ने आत्मसमीक्षा, असन्तुष्टीका कारणसहित जेनजी युवाहरूलाई पनि आत्मसमीक्षका लागि सुझाव दिएका छन्।
उनले जेनजीले गर्नुपर्ने आत्मसमीक्षा खण्डमा २०४२ सालको नेपाली कांग्रेसको सत्याग्रह सम्झिएका छन्। जेनजी आन्दोलनका क्रममा भदौ २३ गतेको घटनाका दोषी उपर कारबाहीको माग गर्दै भदौ २४ मा राष्ट्रव्यापि रूपमा भएको ध्वंसलाई छुट्याएर हेर्नुपर्ने धारणा उनको छ। उनले भदौ २४ को ध्वंसका दोषीलाई कारबाही गर्ने माग जेनजी युवाहरूको हुनुपर्ने बताएका छन्।
‘२४ गते राष्ट्रब्यापी रुपमा भएको ध्वंसको घटनालाई अलग छुट्याउन, त्यसको निष्पक्ष र वस्तुगत छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन जेनजी युवाहरूकै विशेष माग बन्नुपर्छ र यसलाई जाँचबुझ आयोग मार्फत निष्पक्ष निरुपण गरिनु उचित हुन्छ। यसो गरेर भविष्यमा त्यो ध्वंसको धब्बा आफूहरूको शिरमा लाग्न नदिन जेनजी प्रदर्शनका सबै अगुवा र प्रत्येक जेनजी युवा सजग हुन जरुरी छ,’ उनले भनेका छन्, ‘०४२ सालमा नेपाली काँग्रेसले सत्याग्रह गरिरहँदा कतिपय ठाउँमा बम बिस्फोट भएपछि पार्टीले सम्पूर्ण सत्याग्रह स्थगित गरेको थियो। इतिहासको त्यो एक उच्चतम नैतिक प्रस्तुति थियो। आजको मितिमा जेनजी प्रदर्सनकारीले आफ्नो प्रदर्सनको आत्मसमीक्षा गरेर त्यति मात्रै जिम्मेवारी आफ्नो भागमा लिनुपर्छ जति तिनको आह्वान, संलग्नता र कर्म हो।’
भदौ २३ र २४ गतेका घटनालाई छुट्याएर हेर्नुपर्ने बताउँदै उनले २४ ले २३ तिर तथा २३ ले २४ तिर मात्रै दोष दिएर उम्किन खोज्दा देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी पनि उनले दिएका छन्।
‘कसैले भदौ २४ को आगजनीको कुरा गर्ने २३ गते अबोध युवाहरू मारिएको घटनालाई दोस्रो प्राथमिकता राख्ने, कसैले भदौ २३ को घटना सम्झिने तर २४ गतेको ध्वंसलाई बिर्सने। यो प्रवृत्तिले हामीलाई फेरि द्वन्द्वमा धकेल्न सक् । अत भदौ २३ र २४ दुवै दिनको घटनाको निष्पक्ष
अनुसन्धान र कार्वाहीको बिषयमा हामी सबैथरि स्पष्ट रुपले प्रतिबद्ध रहेर प्रक्रियालाई इमानदार ढंगले सघाउनु पर्दछ,’ उनले प्रतिवेदनमा भनेका छन्।


