मुस्ताङ: मुस्ताङको लोमान्थाङ् गाउँपालिका–४ नेचुङ्गबाट २ करोड, २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट (भेप)बोकेको कन्टेनरसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पुस २८ गते सुनकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ३२ वर्षीय पेमा लामालाई प्रहरीले भेप र सवारीसाधनसहित नियन्त्रणमा लिएको हो।
ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा ३/४ दिन अगाडि चीनबाट अवैध रुपले ल्याई नेपाल चीन सीमानाको कोरोला नाका अगाडि गाडीमा लोड गरी राखेको ८० कार्टुन इलेक्ट्रिक चुरोट बरामद भएको छ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङ्गबाट सशस्त्र प्रहरी नायव निरीक्षक उदय बहादुर कुमाल कमाण्डमा खटिएको सुरक्षा फौजसहित मुस्ताङ भन्सार कार्यालयका कर्मचारी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनीधिहरुको संयुक्त टोलीले इलेक्ट्रिक चुरोट बोकेको कन्टेनरसहित नियन्त्रणमा लिएको हो।
बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ। लामालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको छ।
कन्टेनर बिग्रिएका कारण सो कन्टेनरमा रहेको टिस्यु पेपर र ट्वाइलेट पेपर भने सोही ठाउँमा भन्सार कार्यालयले सिल गरी राखेको छ।
