काठमाडौं। पंहेलो धातु सुनको मूल्य बढेर कीर्तिमानी कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९ हजार २ सय रुपैयाँ बढेर ३ लाख एक हजार ४ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको थियो।
यस्तै शुक्रबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। बिहीबार तोलामा ५ हजार ८७० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ६ हजार १९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि यसको असर नेपाली बजारमा परेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेर प्रतिऔंश चार हजार ९५४ रुपैयाँ कायम भएको छ। ग्रिनल्याण्ड विवाद नै सुनको भाउ बढ्नु मुख्य कारण भएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउछन्। ग्रिनल्याण्ड तनाब बढेपछि लगानीकर्ताले सुनमा लगानी बढाउँदा यसको असर परेको उनको भनाई छ।
सुनको मूल्य दिनदिनै बढ्दै जाँदा बजार प्रभावित भएको छ। भाउ अस्वाभाविक रूपमा बढेपछि गरगहनाको माग खुम्चिएको छ भने बैंकहरूले आयात गरेको सुनको बिक्रीमा परेको छ। माग घटेसँगै व्यवसायीहरूले बैंकबाट सुन खरिद गर्न चासो देखाउन छाडेका छन्।
नेपाल बैंकर्स संघका अनुसार हाल वाणिज्य बैंकहरूसँग १४३ किलो सुन बिक्री हुन नसकी स्टकमा थन्किएको छ। पुसको अन्तिम साता कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले संयुक्त रूपमा १५० किलो सुन आयात गरेका थिए। तर, तीमध्ये अहिलेसम्म ७ किलो मात्र बिक्री भएको संघले जनाएको छ।


