काठमाडौं– गणतन्त्र दिवस अवसर पारेर ३० जेठसम्म सञ्चालन गरिएको ललितकला प्रदर्शनी मंगलबार समापन भएको छ। कला प्रदर्शनी पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि लिएर विभिन्न मुलुकका राजदूतले अभिरुचिपूर्वक अवलोकन गरेको ललितकलाले जनाएको छ।
मंगलबार परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रिय ललितकला प्रदर्शनी अवलोकन गरे। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसर नक्सालमा राखिएको कला, सिर्जना अवलोकन भ्रमणका क्रममा उनले कला भावनाको अभिव्यक्त रुप भएको बताए।
कलाले आपसी सम्बन्ध विस्तारमा सहयोग पु¥याउने उल्लेख गर्दै उनले आफूले पनि विद्यार्थीकालमा कला विषय लिएर अध्ययन गरेको सुनाए। मन्त्री साउदले ललितकला क्षेत्रको विकासका लागि आफ्नो र सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
मंगलबार नै नेकपा (एकीकृत समाजवादी) का नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि कला, सिर्जना अवलोकन भ्रमण गरे। यसअघि प्रदर्शनीको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री केपी ओलीले अवलोकन गरेका थिए। गणतन्त्र दिवस अवसर पारेर १५ जेठदेखि मंगलबारसम्म आयोजना गरिएको प्रदर्शनीमा सोमबार मात्रै अर्थमन्त्री डा. प्रकाशशरण महत र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि अवलोकन गरेका थिए।
यस्तै, प्रदर्शनीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरी, पूर्वमन्त्री हिसिला यमी, पूर्वडिआइजी रमेश खरेल, विभिन्न दलका सांसद, योजना आयोगका सदस्य, विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले पनि प्रदर्शनी अवलोकन गरेका थिए।
कलाकार मोहन निरौला, रवीन्द्रसिंह बानियाँ, निर्मल शर्मा, धीरेन शाक्य, रेजिना उप्रेती, सरोज खनाल, अशेष मल्ल, साहित्यकार अभि सुवेदीले पनि कला प्रदर्शनी अवलोकन भ्रमण गरेका थिए। प्रदर्शनीमा कला, साहित्य, संगीत तथा नाट्य र चलचित्र क्षेत्रका विशिष्ठ व्यक्तिको समेत उल्लेख्य सहभागिता थियो।
यस्तै, नेपालका लागि बंगलादेशी राजदूत सलाउद्दिन नोमन चौधरी, इजरायली राजदूत हनान गोडर, ब्राजिलका राजदूत कार्लाेस अल्ब्रेट्रो मिचेल्सन दिन हार्ताेजी तथा पूर्वनेपाली राजदूतले पनि अवलोकन भ्रमण गरेको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिए।
प्रदर्शनीमा हालसम्म ५० भन्दा बढी विद्यालयका विद्यार्थीले सहभागिता जनाइसकेका छन्। प्रदर्शनी झन्डै ३५ जार बढीले अवलोकन गरेको अनुमान गरिएको प्रतिष्ठानले जनाएको छ। प्रदर्शनीमा ६९५ सिर्जना समावेश गरिएका थिए।


