काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले विकास निर्माणमा निर्माण व्यवसायीहरूको ढिलासुस्तीमाथि प्रश्न उठाएका छन्। कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई संक्षिप्त सम्बोधन गर्दै उनले २ वर्षमा बन्नुपर्ने बाटो २० वर्षमा पनि नबन्ने गरेको भन्दै त्यो डेढ वर्षमा बन्नपर्ने बताए।
‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन डेढ वर्षमा बन्नपर्यो। रुखमा बाँधेर हुन्छ कि खोरमा जाकेर हुन्छ कि बाटोमा सुताएर हुन्छ बाटो बन्न पर्यो। रास्वपाले कांग्रेस एमाले माओवादी हिँड्ने बाटो पनि बनाउँछ। सबै नेपाली हिँड्ने बाटो बनाउँछ,’ उनले भने।
खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा र स्वास्थ्य उपचार पाउनुपर्ने एजेन्डा रास्वपाको भएको उनले बताए।
उनले आफू भोट माग्न नआएको भन्दै सुदूरपश्चिममा काम माग्न आएको बताए।
‘राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न होइन, काम माग्न आएको हो। काम दिनुस्। भोट नदिए पनि हुन्छ, कामको लिस्ट दिनू। रास्वपाले काम गरेर देखाउँछ,’ उनले भने।


