काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयर कारोबार रकम ५ महिनायताकै सर्वाधिक भएको छ। बुधबार ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ बराबरका सेयर किनबेच भएका हुन्। यो रकम पाँच महिना यताकै उच्च हो। २०७९ पुस २८ गते ५ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। त्यसपछिको कारोबारमा ५ अर्ब पुगेको थिएन।
बुधबार २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच भएको छ। खप्तड लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९४५ रुपैयाँ ४० पैसामा कारोबार भएको छ।
राष्ट्रिय बीमा कम्पनीको मूल्य ५.६२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य १५ हजार ८२० रुपैयाँमा झरेको छ। शिवम् सिमेन्टको सर्वाधिक २८ करोड १७ लाख बराबरको सेयर कारोबार भएको छ।
आज ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ। बुधबार नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ बिन्दुमा पुगेको छ।


