काठमाडौँ: जिल्ला प्रशासन कार्यालय, पर्साले अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ। वीरगञ्जको पूर्व बाइपासदेखि पश्चिममा सिर्सिया नदीसम्म र उत्तरमा गण्डक चोकदेखि दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु आदेश जारी भएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी विज्ञप्तिमा सोमबार बिहान ९:४५ देखि अर्को आदेश जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्र भित्र कर्फ्यु जारी भएको हो। चार किल्ला तोकी कर्फ्यु लागेको उक्त क्षेत्रमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेश जारी भएको हो।
कर्फ्यू आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परिक्षार्थी एवं परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधनहरु, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण गरिने भनिएको छ।
पार्किङको विषयलाई लिएर उत्पन्न विवादले दुई समूहबीच द्वन्द्व चर्किएको हो। सोमबार राति श्रीपुरमा सवारी साधन पार्किङको सामान्य वादविवादपछि दुई समुदायबीच झडपको स्थिति आएको थियो।



